Logo

एमालेमा सबैभन्दा अन्याय मैमाथि भयो


कृष्णभक्त पोखरेल, सांसद नेकपा (एमाले)


लोकप्रिय मतका साथ नेकपा (एमाले)को चितवन जिल्ला कमिटी अध्यक्ष र प्रतिनिधि सभा सदस्य जितेका कृष्णभक्त पोखरेलले नेकपा अध्यक्ष केपी शर्मा ओलीको चाहनाबमोजिम कार्यकाल पूरा नगर्दै राष्ट्रिय सभा सदस्य पार्वती रावललाई चितवन जिल्ला अध्यक्ष छाडिदिए । जिल्ला अध्यक्ष छाड्ने बेला पोखरेललाई केन्द्रीय सदस्य बनाउने आश्वासन दिइएको थियो । लगातार २८ वर्ष जिल्ला कमिटीमा रहेर काम गरेका पोखरेल केन्द्रीय सदस्यका स्वभाविक हकदार पनि थिए । तर, ओलीले सहमतिको नाममा जारी गरेको केन्द्रीय सदस्यको सूचीमा उनी अटाएनन् ।

प्रबल दाबेदार पोखरेलले केन्द्रीय सदस्यको फारम भरे । तर, मनोनित सूचीमा पर्ने आशाले उम्मेदवारी दर्ता गर्ने आट गरेनन् । दुर्गा प्रसाईजस्ता एमालेमा कुनै भूमिका नभएका विवादित व्यक्ति मनोनित हुने तर, पार्टीकै लागि रगत, पसिना बगाएका पोखरेलजस्ता नेता छुट्ने अवस्था बन्यो । माधवकुमार नेपालनिकट भनेर चिनिने पोखरेल सर्वोच्च अदालतले एमाले र माओवादीलाई अलग गराउने फैसला गरेपनि ओलीतिर लागेका थिए । ओलीले संसद विघटनविरुद्धमा सर्वोच्चमा बहस गरेको बदला पोखरेलसँग लिएको बताइन्छ । पोखरेलसँग दृष्टि प्रतिनिधिले गरेको कुराकानीको सम्पादित अंश :

गृह जिल्ला चितवनमा भएको नेकपा (एमाले)को महाधिवेशन व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । तर पनि, अध्यक्ष केपी शर्मा ओलीको नजरमा तपाईं पर्नुभएन किन ?

मैले मात्र होइन, देशभरका कार्यकर्ताले केन्द्रीय कमिटीको सूची हेर्दा अचम्म मानेका छन् । महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले सहमतिमा नेतृत्व चयन गर्ने भन्दै जुन नाम प्रस्ताव गर्नुभयो, त्यसमा मेरो नाम नअट्नुपर्ने कुनै कारण नै थिएन । मैले २८ वर्षसम्म लगातार जिल्ला कमिटीमा काम गरेँ । दुई कार्यकाल जिल्ला कमिटीको उपाध्यक्ष, एक कार्यकाल अध्यक्ष भएर काम गरेँ । प्रतिकुल अवस्थामा समेत पार्टीलाई जिताएँ । दुई पटक सांसद जितेँ । अहिले १७ हजार ३६६ मतान्तरले सांसद जितेको हुँ ।

संसदीय समितिको सभापति छु । १६६ भन्दा बढी विधेयक मेरो समितिबाट पारित भएको छ । मेरो समितिमा कुनै पनि विधेयक एक महिनाभन्दा बढी समय बसेको छैन । संसदमा पनि मेहनतपूर्वक काम गरेको छु । पार्टीभित्र पनि राम्रो काम गरेको व्यक्तिलाई केन्द्रीय कमिटीमा ल्याउन किन उपयुक्त ठान्नु भएन भन्ने कुरो नेतृत्वले नै जान्ने विषय भयो । पार्टीभित्र कहिलेकाही अन्याय हुन्छ, मेरो सवालमा पनि त्यही भयो ।

महाधिवेशन व्यवस्थापनमा अध्यक्षलाई चित्त नबुझेर हो कि ?
एमालेको महाधिवेशनलाई चितवनका जनताले आफ्नै चाडपर्व जसरी मनाए । हामीले सौराहामा आवास व्यवस्थापन गर्यौं । त्यहाँ कम्युनिष्ट पार्टीका समर्थक व्यवसायी मात्र नभइ अरु पार्टीनिकट व्यवसायी पनि उत्साहित भए । हामीले लाखौँ खर्च गरेर गर्नुपर्ने प्रचार एमाले महाधिवेशनको बेलामा हुने भयो भनेर होटल सजाउने, कपडा नयाँ फेर्ने, सरसफाइ गर्नेदेखिका काम गरेर चितवनका व्यवसायीले एमाले प्रतिनिधिलाई स्वागत गरे ।

पेशा, व्यवसायी र चितवनका जनताले पार्टीलाई ठूलो सहयोग गरे । बाटो अवरुद्ध हुने स्थिति बन्दासमेत चितवनबासीले चार्डपर्वको रुपमा महाधिवेशनलाई लिए । हामीले आवास व्यवस्थापनमा कुनै गुनासो गर्ने ठाउँ नै राखेनौँ । महाधिवेशनमा आउने प्रतिनिधिहरूले कमजोरी महससु नै नगर्ने गरी हामीले व्यवस्थापन मिलायौँ ।

पदाधिकारी वा केन्द्रीय सदस्यको सूची बनाउँदा कुनै मापदण्ड देखिएन । केन्द्रीय कमिटीमा राख्न ओलीसामु तपाईको याचना नपुगेर हो ?

महाधिवेशनको बेला एक महिनासम्म एकदिन पनि फुर्सद भएन । दिनरात, घामपानी नभनि काम गर्यौं । बिहान झिसमिसे उज्यालो हुँदै पार्टी कार्यालय पुग्ने अनि रात छिप्पिएपछि मात्रै घर पुग्ने अवस्था बन्यो । कुनै नेतालाई मैले पद चाहियो भनेर एक कल पनि फोन गरिनँ । पूरै ध्यान महाधिवेशनलाई कसरी व्यवस्थित रुपमा सम्पन्न गर्ने भन्नेमै रह्यो ।

मेहनतपूर्वक काम भएको देखिएको छ । हरेक हिसावले केन्द्रीय कमिटीमा जान योग्य भइएको छ । म अनेरास्ववियुको ४८–५० को केन्द्रीय कमिटीको सचिव हुँ । म केन्द्रीय सचिव हुँदा अनेरास्ववियुको प्रारम्भिक कमिटीमा भएका साथीहरू पार्टी केन्द्रीय कमिटीमा हुनुहुन्छ भने म पर्छु कि पर्दिन भनेर नेतालाई भन्नुपर्छ जस्तो नै लागेन । स्वभाविक रुपमा न्याय गर्नुहुन्छ भन्नेमा म ढुक्क थिएँ । तर, अवस्था त्यस्तो भएन ।

ओलीको चाहनाअनुसार नै तपाईंले जिल्ला कमिटी अध्यक्ष छाडिदिनुभयो । जसलाई जिल्ला अध्यक्ष छाडिदिनुभयो, ऊ चाहिँ केन्द्रीय कमिटीमा पर्ने तर तपाईं नपर्ने अवस्था कसरी आयो ?

मैले दुइतिहाई मतका साथ जिल्ला अध्यक्ष जितेको हुँ । मेरो कार्यकालमा सात वटा स्थानीय तहमध्ये ६ वटामा नेकपा (एमाले)लाई निर्वाचित गराएको हुँ । तर, नेतृत्वबाट जिल्ला अध्यक्ष छाडिदिनु, एउटा महिला अध्यक्ष हुनुहुन्छ भन्ने हिसावले कुरा आयो । दुई कार्यकाल उपाध्यक्ष, एक कार्यकाल अध्यक्ष भइसकेको हुनाले मैले सहजै छाडिदिएँ । नेकपा कार्यकालमा पनि त्यत्रो शक्तिशाली नेकपा (एमाले) र कमजोर अवस्थामा माओवादी हुँदा पनि मैले सचिव पद सहजै स्वीकारेको हुँ ।

पद केही होइन, भूमिका महत्वपूर्ण हुन्छ भन्ने सोचेर एकताको क्रममा अध्यक्ष सहजै छाडिदिएर सचिव पद स्वीकारे । एउटा सीमासम्म सहेरै आएको छु । नेपालमै सहने मान्छे को भन्यो भने सायद मेरो नाम आउँछ होला । लगातार अन्याय कोमाथि भइरहेको छ भन्दा मेरै नाम आउँछ होला । कृष्णभक्त पोखरेलमाथि अन्याय भएको सबैलाई अनुभूति छ । त्यो अनुभूतिलाई नेतृत्वले कहिले प्रकट गर्नुहुन्छ भन्ने हेर्न बाँकी छ । न्याय नगरी एउटा कार्यकर्ताको राजनीतिक भविश्य समाप्त पार्दा पार्टीलाई फाइदा हुन्छ भने भइराखोस । मलाई अन्याय गर्दा पार्टीलाई भलो हुन्छ भने भइरहोस । म पार्टीको भलोबाहेक अर्को केही चाहन्न । खास सीमामा पुगेपछि त नेतृत्वले सोच्ला र उपयुक्त जिम्मेवारी देला भन्ने लाग्छ ।

केन्द्रीय कमिटीको मनोनित सूचीमा समेत तपाईं पर्नुभएन । जवकि दुर्गा प्रसाईहरू केन्द्रीय कमिटीमा समेटिए । तपाईंलाई किनारै लगाउन खोजिएको त होइन ?

मैले यस बीचमा पार्टी नेतृत्वसँग धेरै कुरा गरेँ । केन्द्रीय कमिटीमा रहनुभएका कमरेडहरू र मेरो तुलना गर्दा म नपर्नुपर्ने कारण छैन । त्यो सूचीमा कृष्णभक्त नपर्नुपर्ने कारण नेतृत्वले स्पष्ट पारिदिए स्वीकार्य हुन्थ्यो । भनाई र व्यवहारमा मेल खाएन । जहाँसम्म किनारै लगाउन खोजिएको भन्ने सवाल छ, मलाई त्यस्तो पनि लाग्दैन । स्वयं अध्यक्ष ओलीले उपयुक्त व्यवस्थापन गर्छौं भन्नुभएको छ । आशावादी भएर पार्टी जीवनलाई अगाडि बढाउनुभन्दा के विकल्प रह्यो र ?

उपयुक्त भनेको के हुन सक्छ ? प्रदेश नेतृत्वको विषय पनि टुंगिसक्यो ?

केन्द्रीय कमिटीमा मनोनित गर्ने सिट अझै बाँकी छ । पार्टीले आगामी बैठकबाट केन्द्रीय कमिटीमा मनोनित गर्छ भन्ने विश्वासमा छु ।

केन्द्रीय कमिटी बैठकमा आलोचना हुँदाहुँदै विवादित दुर्गा प्रसाईहरु पर्ने, तपाईहरू नपर्ने अवस्था बन्यो । फेरि पनि त अर्को दुर्गा प्रसाईहरू निस्केलान नि ?

आम रुपमा यो प्रश्न उठिरहेको छ । नेता–कार्यकर्ता र पत्रकारले प्रश्न गरिरहनुभएको छ । यो प्रश्नको उत्तर नेतृत्वले दिनुपर्छ । लोकतन्त्रका सबैले जवाफ दिनुपर्छ । जनता र कार्यकर्ताले प्रश्न गर्छन, जवाफ सही भएन भने त्यसको हिसावकिताव पनि हुन्छ । त्यसकारण मलाई लाग्छ आगामी बैठकमा यो विषयमा गम्भीरतापूर्वक छलफल हुन्छ । सकारात्मक निर्णय होला भन्नेमा अहिले म आशावादी छु ।

तपाईंको गृह जिल्लाबाट दर्जनको संख्यामा केन्द्रीय कमिटीमा प्रतिनिधित्व छ । तपाईंलाई अहिले केन्द्रीय कमिटीमा नल्याउने मात्र होइन, आगामी निर्वाचनमा टिकट नदिने अवस्था पनि बन्छ कि ?

मलाई त्यस्तो लाग्दैन । नेताहरूलाई पनि भोलि प्रधानमन्त्री, मन्त्री हुन पार्टीले चुनाव जित्नुपर्छ । पार्टीको केन्द्रीय सदस्य त जनतासँग घुलमित नभएको, चुनाव नजित्ने मान्छेलाई पनि दिन मिल्यो । सांसदको टिकट दिँदा त जित्ने आधार पनि हेर्ने होला नि । हिजो म पार्टी तेस्रो स्थानमा भएको बेला निर्वाचित भएको हुँ । आठ हजार एमालेको र १७ हजार माओवादीको मत भएको ठाउँमा मैले चुनाव जितेँ । मैले टिकट लिँदा कमरेड देवी ज्ञवाली तेस्रो स्थानमा हुनुहुन्थ्यो । तेस्रोबाट पहिलो शक्तिको रुपमा मैले एमालेलाई उभ्याएँ । अघिल्लो पटक २५ सय मतान्तरले र अहिले १७ हजार ३६६ मतान्तरले सांसद जितेको हुँ ।

योग्यता, क्षमताभन्दा कसले बढी चाकडी गर्छ भन्ने हिसावले छनोट गर्दा तपाईंले भनेको जस्तो होला र ?

मैले वकालत गर्दा, महिला, बालबालिकाको क्षेत्रमा काम गर्दा होस वा सांसदको रुपमा काम गर्दा नै किन नहोस । मेरो क्षेत्रका जनता मसँग खुसी हुनुहुन्छ । जनतासँगको प्रत्यक्ष सम्पर्कमा छु । यस्तो स्थितिमा टिकट नपाउने त म कल्पनै गर्दिन । टिकट जित्नेलाई दिने होला, हार्नलाई दिनुभयो भने त रामराम भन्नुबाहेक के नै बाँकी रहन्छ र ?

विगतमा माधवकुमार नेपालसँग निकट भएका कारण अहिले प्रतिशोध साँधिएको त होइन ?

विगतमा फरक आस्थामा भएको कारणले अहिले जिम्मेवारी नदिएको हो कि भनेर जनताले सोध्ने गरेका छन् । मैले नेतृत्वसँग प्रत्यक्ष भेट्दा तपाईं त समयमा आउनुभएको, पार्टी बचाउने अभियानमा साथ दिनुभएको, तपाईं छुट्नु हुँदैन, कँही विभेद गरिन्न भनियो । महाधिवेशनमा मलाई आवास व्यवस्थापनको प्रमुख नै बनाएर जिम्मेवारी दिइयो । पदाधिकारी र केन्द्रीय कमिटीबाहेक मलाई र पार्वती रावललाई मात्रै मूल व्यवस्थापन समितिमा मनोनित गरियो । अहिले पनि म पार्टीको तर्फबाट संसदमा कार्यव्यवस्था परामर्श समितिमा छु । त्यसहिसावले त म त्यस्तो निष्कर्षमा पुगेको छैन ।

१४औँ महाधिवेशनपछि त तपाईं पार्टीको साधारण सदस्य मात्रै रहनुभयो हैन ?
संघीय सांसद पनि छु । पार्टीको जिम्मेवारी भने सदस्यको मात्रै हो । पार्टी सदस्यता नै ठूलो कुरो भयो । केही दिएनन् भने सदस्य मात्रै भएर बस्नुपर्ला ।

पार्टीले न्याय गर्छ भन्नुभयो, के भयो भने तपार्इंलाई न्याय मिल्छ ?

कृष्णभक्तमाथि अन्याय भयो भन्ने देशभरका कार्यकर्तालाई महसुस भएको छ । केन्द्रीय कमिटीमा अरु तमाम मानिस अट्दा कृष्णभक्त नअट्ने भन्ने हुँदैन । त्यसमा अटाउने व्यवस्था पार्टीले गर्नुपर्छ, गर्नुहोला भन्ने विश्वास छ ।

तपाई कानुन पनि बुझेको मान्छे, आफ्ना कुरा निर्धक्क राख्नुहुन्छ । त्यही कारणले केन्द्रीय कमिटीमा नपारेको हो कि ?

(हाँस्दै) किन परिन भन्ने कुरा नै ठम्याउन सकिएन । यसकारण म परिन भन्ने जवाफै भएन । मैले तुलना गरेर पनि हेरेँ । पहिलो पटक सांसद जितेको, पार्टीको जिल्लास्तरको पदाधिकारीमै काम नगरेका थुप्रै मान्छे पर्दा म जिल्ला कमिटीको दुई कार्यकाल उपाध्यक्ष, एक कार्यकाल अध्यक्ष, दुई–दुई पटक सांसद जितेको, पार्टीभित्र पनि लोकप्रिय, जनताको मतमा पनि लोकप्रिय मान्छे केन्द्रीय कमिटीमा नपर्ने कुनै कारण देख्दिनँ । पार्टी नेताहरूले यस कारणले सकिएन पनि भन्नुभएको छैन । छुटेको हो, हामी व्यवस्थापन गर्छौं भनिरहेको हुँदा मैले अहिले अन्यथा भनिरहेको छैन ।

छुटेको मान्ने हो भने त मनोनित सूचीमा पर्नुपर्ने नि ?

त्यो त हो । अब हेरौँ ।

नेताहरू के भन्छन ? तपाईंकै गृहजिल्लाको नेता सुरेन्द्र पाण्डे पनि उपाध्यक्ष हुनुहुन्छ ?

उहाँले त केन्द्रीय कमिटी बैठकमा पनि कुरा राख्नुभयो । उहाँलाई ल्याउनुपर्छ भनेर धेरै साथीहरूले भन्नुभयो । नेतृत्वले के कारणले केन्द्रीय कमिटीमा ल्याउन चाहेन ? अहिले चितवनबाट धेरै परेका छन्, पछि गरौला भन्ने पनि होला कि ? अन्यथा, होइन उसलाई पार्टीमा पुग्यो भन्ने हिसावबाट हो भने पनि स्पष्ट भनिदिनुपरो । एमालेमा कृष्णभक्तको आवश्यकता छैन भन्ने नेतृत्वलाई लागेको हो भने त हामीले के नै गर्न सकिन्छ र !

पार्टीमा पनि जिम्मा नदिने, संसदको टिकट पनि नदिने अवस्थामा त विकल्प सोच्नुपर्ला नि ?

अहिले विकल्प खोज्ने सोचेको छैन । जनताले दुई कार्यकाल एमालेबाट सांसद बनाए । पहिला पनि पार्टी फुट्दा मालेतिर लागेँ । कृष्णभक्त आफ्नो अनुकुलतामा पार्टी फुटाउँछ भन्ने भयो । अहिले पनि थुपै्र फरक मत हुँदाहुँदै पनि पार्टी फुटाउनेतिर नलागेको हो । फुटको पक्षमा लाग्दिनँ भनेर म एमालेमै रहेँ । त्यो नै अपराध भएको हो भने त भन्नु केही छैन ।

म आत्तिएको छैन । धैर्यताको साथ अगाडि बढ्नुपर्छ । न्याय नगरेर त सुखै छैन नि । पार्टीका नेता तथा कार्यकर्ताको मनमा कृष्णभक्त कसरी केन्द्रीय कमिटीमा छुट्न सक्छ भन्ने प्रश्न उठेको छ । जो साथीहरू कमिटीमा पर्नुभएको छ, म छुट्दा उहाँहरुको मन पनि प्रफुल्लित छैन । त्यो कुरा नेतृत्वमा पनि पुगिसकेको छ । नेतृत्वले यस बीचमा कुरा पनि गरेको छ । उचित व्यवस्थापन गर्छौ भनेको छ । म त्यसको प्रतीक्षामा छु ।

भनेपछि पर्ख र हेरको अवस्थामा हुनुहुन्छ ?

नेतृत्वले न्याय गरेँ भनेर मात्र हुँदैन । सबैलाई अनुभुत हुने गरी, प्रष्ट देखिने गरी व्यवहारमा न्याय गर्नुपर्छ । म त्यसको प्रतीक्षामा छु ।

प्रतिक्रिया दिनुहोस्