Logo
Logo

१६ वर्षमा पनि किन सकिएन मूलपानी क्रिकेट मैदान ?


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १२ जेठ । निर्माण शुरु भएको १६ वर्षसम्म पनि मूलपानीको अन्तर्राष्ट्रिय क्रिकेट मैदान सम्पन्न हुनसकेको छैन । विसं २०६० पुसदेखि मैदान निर्माण शुरु भएको थियो ।
निर्माण शुरु भएको १६ वर्षसम्म मैदानको बीचमा पर्ने जग्गाको समस्या समेत समाधान हुनसकेको छैन । क्रिकेट मैदानभित्र पर्ने जग्गा निर्माण शुरु भएको नौ वर्षपछि पनि किनबेच भयो । विसं २०६९ मा किनेको जग्गामा बनेको घर अहिले हटाउन भनिएको फूलमाया लामाले बताइन् ।
कित्ता नं ४०१ र ४०४ को तीन आना जग्गा मैदानमा पर्ने भएपछि घर न घाटको हुने दिन आएकामा उनले चिन्ता प्रकट गरिन् । मैदानको बीचमा ११ परिवारको ५२ आना जग्गा रहेको राष्ट्रिय खेलकूद परिषद्का तर्फबाट मूलपानीको संयोजन गरिरहेका राधाकृष्ण विष्टले बताए । मूलपानीको २९६ रोपनी जग्गामा हाल दुई वटा मैदान अन्तिम चरणमा पुगेको उनले बताए । माथिल्लो मैदानमा गतवर्ष असारमा क्रिकेट प्रतियोगिता भएको थियो । तल्लो मैदानमा आज पहिलोपटक प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता शुरु भएको छ ।
प्रतियोगितामा सात प्रदेश, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको गरी १० समूह सहभागी भएको खेलकूद परिषद्सँगको सहआयोजना समूहमा रहेको नेपालय इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत आशिष प्रसाईंले बताए ।
प्रतियोगिताको उद्घाटन कार्यक्रममा प्रदेशसभा सदस्य मणिराम फुयाँलले खेलकूदमा व्यावसायिक विकास हुनुपर्ने बताए । मैदानको जग्गा शोधभर्नालगायत समस्या पनि समाधान हुनुपर्ने उनको भनाइ थियो ।
कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाले नगरपालिकालाई खेलकूदको ‘हब’का रूपमा विकास गर्न लागिएको बताए । नगर क्षेत्रमा क्रिकेट मैदान, गल्फ कोर्सलगायतका महत्वपूर्ण खेलका अन्तर्राष्ट्रिय प्रतियोगिता पनि हुने गरेको उनले सुनाए ।
नेपाली कांग्रेसका २ नं क्षेत्रीय सभापति उपेन्द्र कार्कीले २०६० पुस ९ गते साविकको मूलपानी गाविसका सबै राजनीतिक दलको सहमतिमा एशियन क्रिकेट एकेडेमी बनाउन स्थानीयवासीले सार्वजनिक जग्गा दिएको बताए । मैदानलाई अन्तर्राष्ट्रिय खेलकूद प्रतियोगिता हुनेगरी विकास गर्नुपर्नेमा उनले जोड दिएका थिए ।
पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र युवा तथा खेलकूद मन्त्री जगतबहादुर विश्वकर्माले मैदानको उद्घाटन गर्ने भनी निमन्त्रणा कार्ड बाँडिए पनि नआउनुभएकामा स्थानीयवासी नवराज आचार्यले दुःख व्यक्त गरे ।
मैदानको बाहिरी पर्खालमा तारजाली हालिएको छैन । मैदान र प्यारापिटबाहिरको खाली भागमा झाडी देखिन्छ । मैदानसँगै स्थानीय कविता तिमल्सिनाको घर छ । यहाँबाट सार्ने भनी सार्वजनिक जग्गा दिने निर्णय गरिए पनि त्यो ठाउँमा यसअघि यहीँबाट मुआब्जास्वरुप रु दुई लाख लिएर हिँडेका सुकुम्वासीले कब्जा जमाएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्