Logo
Logo
प्रचण्डको राजनीतिक प्रतिवेदन

प्राविधिक रुपमा समस्याको समाधान खोज्नु गल्ती भयो



काठमाडौं । नेकपा माओवादी केन्द्रले विगतको समीक्षा गर्दै समस्याको समाधान सैद्धान्तिक, बैचारिक रुपमा समाधान नखोज्नु नै कमजोरी भएको जनाएको छ ।

माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन पेश गर्दै समस्याको प्राविधिक रुपमा मात्र समाधान गर्ने प्रयास गर्नु कमजोरी भएको बताएका छन् ।

माओवादी केन्द्रका एक नेताका अनुसार मौखिक रुपमा राजनीतिक प्रतिवेदन पेस गरेका अध्यक्ष प्रचण्डले उपलब्धि गुम्ने खतरालगायत विषय प्रस्तुत गरेका थिए । अध्यक्ष प्रचण्डले निर्वाचन र शान्तिपूर्ण रुपमा समाजवादमा पुग्ने बाटो तय गर्ने, त्यसको माध्यम भनेको कम्युनिष्ट पार्टी नै भएको र त्यसको नेतृत्व माओवादीले लिनुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

‘अबको बाटो चुनावी प्रतिस्पर्धा र शान्तिपूर्ण बाटोबाट जाने हो । समाजवादको लागि बाटो बनाउने र विचार मिल्नेहरुसँग एकताका लागि आब्हान गर्दै अघि वढ्ने हो’ अध्यक्ष प्रचण्डले आफ्नो प्रतिवेदनमा उल्लेख गरेका छन् ।

विगतको समीक्षा गर्दै उनले समाजवादमा पुग्नेगरी कार्ययोजना बनाएर अघि बढ्ने जनाएका छन् । शुक्रबार बिहान बसेको स्थायी समिति बैठक दिउँसो केही बेरसम्मका लागि स्थगित गरि तीन बजेबाट पुन बैठक सुरु भएको माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले बताए । बैठकमा अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि विस्तृत छलफल गरी पारित गर्ने र राष्ट्रिय सम्मेलनमा पेश गरिनेछ ।

माओवादी केन्द्रले पुस ११ देखि १३ सम्म काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्दैछ । राष्ट्रिय सम्मेलनका लागि आवश्यक सम्पुर्ण तयारी पुरा भएको प्रवक्ता महराले बताए ।

प्रतिक्रिया दिनुहोस्