Logo
Logo
माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन

आकांक्षी व्यवस्थापनमा सकस, पदाधिकारी संख्या १५ पुर्‍याउने तयारी



काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिमा १५ जना पदाधिकारी हुने भएका छन् । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १५ सदस्यीय पदाधिकारी प्रस्ताव गरेका छन् ।

केन्द्रीय समितिमा पदाधिकारी संख्या १५ जना राख्ने अध्यक्ष प्रचण्डको प्रस्तावमाथि आज बस्ने स्थायी कमिटी बैठकमा छलफल हुने स्थायी कमिटीका एक सदस्यले बताए । पदाधिकारीका आकांक्षी बढेसँगै यस बारेमा थप छलफल गरेर अगाडि बढनुपर्ने अवस्था बनेको ति नेताले बताए ।

‘अध्यक्ष कमरेडबाट केन्द्रमा पदाधिकारीको संख्या १५ राख्ने प्रस्ताव आएको छ । स्थायी समितिको बैठकमा थप छलफल गरेर सोही अनुसार अगाडि बढ्छौं’ ति नेताले भने ।

माओवादी केन्द्रको अन्तरिम विधानअनुसार अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिव सहित २९९ सदस्यीय केन्द्रीय समिति गठन हुनुपर्ने हो । तर, माओवादी केन्द्रले विधान मस्यौदा समिति गठन गरेर प्रस्ताव संकलनका साथै छलफल गरिरहेको छ ।

विधान मस्यौदा समितिका संयोजक देव गुरुङले आएका सुझावहरुको अध्ययन गरेर सम्मेलनमा पेश गर्ने बताए । सम्मेलनमा सहभागी प्रतिनिधि समेतको सुझावका आधारमा पारित विधानअनुसार नेतृत्व चयन हुने गुरुङले जानकारी दिए ।

माओवादी केन्द्रको अहिले १५ सदस्यीय स्थायी समिति रहेको छ । सोही स्थायी समितिका सदस्यहरुलाई पदाधिकारी बनाएर अगाडि बढ्दा थप दबाब नहुने निष्कर्षसहित पदाधिकारीको संख्या १५ सदस्यीय बनाउँने प्रस्तावमा छलफल जारी छ ।

अध्यक्ष, एक वरिष्ठ उपाध्यक्षसहित सात उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव र चार सचिव राख्ने अध्यक्ष प्रचण्डको प्रस्तावमा छलफल जारी छ । अध्यक्ष प्रचण्डले पदाधिकारीको संरचना प्रस्ताव गरे पनि निर्णय गर्न भने बाँकी नै रहेको छ ।

अध्यक्ष प्रचण्डसहित नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ, पम्फा भुसाल, वर्षमान पुन, जनार्दन शर्मा, हरिबोल गजुरेल, गिरिराजमणि पोखरेल, गणेश साह, देवेन्द्र पौडेल, लीलामणी पोखरेल, शक्ति बस्नेत, मात्रिका यादव र चक्रपानी खनाल स्थायी समिति सदस्य छन् ।

स्थायी समिति सदस्य रहेका नेतालाई पदाधिकारी बनाउँने गरी प्रस्ताव आएको हुनसक्ने अनुमान गरिएको छ । माओवादीको अन्तरिम विधानमा केन्द्रीय समितिको कूल सदस्य संख्याको बढीमा एकतिहाई सदस्य रहेको पोलिट्ब्युरो र पोलिट्व्यूरोका कूल सदस्यको बढीमा एकतिहाई सदस्य रहेको स्थायी समिति गठन गर्ने उल्लेख गरिएको छ ।

अहिलेको विधानअनुसार अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिव सहित २९९ सदस्यीय केन्द्रीय समिति गठन हुन्छ । यसमा संशोधन नभएको अवस्थामा विधानअनुसार स्थायी समिति ३३ सदस्यीय, पोलिट्व्युरो ९९ सदस्यीय गठन हुन्छ ।

माओवादी केन्द्रले पुस ११ देखी १३ सम्म काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्दैछ । राष्ट्रिय सम्मेलनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको माओवादीले जानकारी दिएको छ । १६ सय ८ जना प्रतिनिधि सम्मेलनमा सहभागी हुँदैछन् ।

प्रतिक्रिया दिनुहोस्