Logo
Logo
माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन

प्रचण्डको राजनीतिक प्रतिवेदनमा एमसीसी, राष्ट्रिय सम्मेलनमा बहस हुने



काठमाडौं । नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनमा अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे बहस हुने भएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदनमा एमसीसीबारे उल्लेख गरेपछि सम्मेलनमा सहभागी हुने प्रतिनिधिका बीचमा एमसीसीबारे बहस हुने भएको हो ।

यथास्थितिमा एमसीसी पारित गर्न नसकिने अडान लिँदै माओवादी केन्द्रले सम्झौताका सर्तहरु संशोधन गरेर स्वीकार गर्ने पक्षमा उभिँदै आएको छ । एमसीसी सम्झौता संसदबाट पारित गर्ने की नगर्ने भन्ने बारेमा राजनीतिक दलबीच मतभिन्ता छ ।

माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले माओवादीको शुक्रवार बसेको स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्डले संक्षिप्त रुपमा एमसीसीबारे चर्चा गरे पनि दस्तावेजमा त्यो कसरी आउँछ भन्ने प्रष्ट नभएको बताए ।

‘यथास्थितिमा यसलाई पारित गर्नु हुँदैन भन्ने हाम्रो कुरा हो । यो आमजनतासँगको चासोको विषय बनिसक्यो । कतिपय प्रावधानहरूबारे प्रश्न उठिरहेका छन् । त्यसबारे छलफल गर्नुपर्छ । अध्यक्ष कमरेडले पनि पार्टीको पुरानै धारणा राख्नुभएको छ र यसमा राष्ट्रिय सहमति चाहिन्छ भन्नुभएको छ’ गजुरेलले भने ।

उनले दस्तावेजमा यो विषय कसरी समेटिन्छ र प्रतिनिधिहरूबाट कस्तो प्रतिक्रिया आउँछ अहिले भन्न नसकिने बताए । सम्मेलनमा यस बारेमा थप छलफल तथा बहस हुने उनले बताए ।

लामो समयदेखी एमसीसी सम्झौताको बारेमा बहस जारी रहेको र राजनीतिक दलका नेताहरु एकमत नहुँदा सो सम्झौता संसदबाट पारित हुन सकेको छैन् । सत्तारुढ नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी नेकपा एमालेले सम्झौता पारित गर्ने पक्षमा उभिँदै आएका छन् ।

तर सत्तारुढ माओवादी केन्द्रका साथै नेकपा एकीकृत समाजवादी, जसपा, राष्ट्रिय जनमोर्चा सहितका दलहरु एमसीसी सम्झौता यथास्थितिमै पारित गर्न नहुने अडानमा रहेका छन् ।

एमसीसीबारे सहमति जुटाउने उद्देश्यले गत साता सत्तारुढ दलहरुले एक कार्यदल गठन गरेको थियो । सो कार्यदलमा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र नेपाली कांग्रेसका नेता एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस्