Logo
Logo
टिप्पणी

आफैले भित्तामा पुर्‍याएको ओलीलाई फकाउन बालकोट जाँदै प्रचण्ड



फाइल फोटो

काठमाडौं । तत्कालीन नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को सम्बन्धमा बरफ जमेको दुई वर्ष भइसक्यो । तर, अझै बफर पग्लिने सम्भावना छैन ।

एमाल–माओवादी एकतापछि बनेको नेकपामा अन्तरसंघर्ष उत्कर्षमा पुगेसँगै सुरु भएको ओली–प्रचण्डबीचको चिसोपन ओलीको असंवैधानिक कदम, नेकपा खारेज हुँदै सत्ताबाट ओलीको अपमानजनक बर्हिगमन र एमाले विभाजसम्म पुग्दा झनै चिसियो । त्यसको असर संसदमा देखिँदै छ ।

ओली–प्रचण्ड संवादहिनताको अवधि लामो भइसक्यो । पछिल्लोपटक नेपाली कांग्रेसको १४औं महाधिवेशन उद्घाटन समारोहमा लोकलाई देखाउन भए पनि ओली–प्रचण्डले ‘मुस्कान संवाद’ चाहिँ गरे । तर, त्यो सामान्य औपचारिकता थियो । ओली–प्रचण्ड खटपटको त्यहाँदेखि यहाँसम्म हेर्दा ठूलो बाध्यात्मक घटनाक्रम नभएसम्म दुई शीर्षबीच संवादहिनता तोडिने सम्भावना कम छ ।

प्रचण्ड–ओलीबीच पछिल्लो समय ‘वाकयुद्ध’ चलिरहेको छ । त्यो पनि व्यक्तिगतस्तरमै एकअर्कालाई गाली गरिरहेका छन् । शुक्रबार मात्रै प्रचण्डले पार्टी एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै ओलीलाई ‘आगोसँग खेल्दा बिगतमा जे भयो आगामी दिनमा पनि त्यस्तै हुनेछ, त्यसैले आगोसँग नखेल्नु’ भन्दै चेतावनी दिए ।

केही दिन अगाडि मात्र ओलीले प्रचण्डलाई तथ्यहीन आरोप लगाए । जनयुद्धको क्रममा प्रचण्ड र तत्कालीन राजा ज्ञानेन्द्रबीच गोप्य सहमति भएको तत्थ्यहीन आरोप लगाउन ओली पछि परेनन् । त्यसो त अलि अगाडि मात्र गणतन्त्र समाप्त पार्न ओलीले ज्ञानेन्द्रसँग गोप्य वार्ता गरेको प्रचण्डले आरोप लगाएका थिए ।

यसरी नै प्रचण्ड र ओलीबीच नानाथरी आरोप प्रत्योरोप चलिरहेको छ । एकतापछि एउटै पार्टीको अध्यक्ष हुँदा बाहेक यी दुई नेताबीच आरोप प्रत्यारोपकै सम्बन्ध छ । पछिल्लो श्रृङ्खला त्यसैको निरन्तरता मान्दा पनि हुन्छ । तर, परिस्थिति त्यतिमा मत्र सीमित हुने अवस्था होइन । किनकी, ओली नेतृत्वको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका कारण लामो समयदेखि सार्वभौम संसद बन्धक बनेको छ । पार्टी विभाजनको रिस एमालेले संसदमा पोखिरहेको छ ।

लामो समयदेखि एमालेले संसद अवरुद्ध गर्दै आएको छ । समस्या समाधान गर्न प्रचण्डको आग्रहमा प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक नै बोलाए । तर, एमालेले बहिस्कार गर्यो । यो भन्दा अगाडि बोलाइएको सर्वदलीय बैठक पनि एमालेले बहिस्कार नै गरेको थियो । एक किसिमले हेर्दा एमाले निरन्तर संसद अवरुद्ध गर्दै ‘ओलीले गरेको विघटन ठीक थियो’ भन्ने सन्देश दिन खोजिरहेको छ । तर, सत्तारुढ दल भने एमालेलाई फकाए र समस्या समाधान गर्न लागिपरेको देखिन्छ ।

एमालेलाई संवादमा ल्याउने सन्दर्भमा माओवादी अध्यक्ष प्रचण्डले विभिन्न उपाय खोजिरहेको देखिन्छ । केही दिन अगाडि सर्वदलीय बैठक बोलाउन प्रधामन्त्रीलाई सुझाव दिए, सर्वदलीय बैठक पनि सम्पन्न भयो । प्रचण्ड अहिले ओलीलाई फकाउन ओली निवास बालकोट जानसम्म तयार भएका छन् ।

पार्टीको राष्ट्रिय सम्मेलनलाई सन्दर्भ बनाएर सम्पादकहरुसँग छलफल गर्ने क्रममा प्रचण्डले ‘केपी ओलीलाई फकाउन उनकै निवास बालकोट जाउ’ भनेर प्रधानमन्त्री देउवासँग प्रस्ताव गरेको सुनाए । वर्तमान राजनीतिक संकट समाधानका लागि आफूहरु ओलीलाई फकाउन निवास जान तयार रहेको प्रचण्ड भनाइको सार थियो ।

प्रचण्डको प्रस्तावमा प्रधानमन्त्री देउवा तयार हुने र ओली निवास बालकोट जाने हो भने संसदमा देखिएको वर्तमान संकट समाधानका लागि केही न केही उपायमा छलफल त होला नै तर सहज निकास निस्कने सम्भावना कम छ । किनकी, ओली आफूले कारवाही गरेका सांसदलाई कारवाही हुनुपर्ने वा सभामुखले राजीनामा दिनुपर्ने अडानबाट पछि हट्ने सम्भावना छैन । तर, ओली, प्रचण्ड र देउवाबीच भेट भयो भने लामो समयको संवादहिनता चाहिँ पक्कै तोडिन्छ । त्यसले सकारात्मक परिस्थिति बन्न सक्छ ।

ओली प्रतिगमन परास्त भएसँगै प्रचण्डले बारम्बार भन्दै आएको एउटा वाक्य धेरैको कानमा गुञ्जिरहन्छ । ‘मैले चाहे भने भित्तामै पुर्याउछु । प्रतिगमनका नाइके केपी ओलीलाई पनि भित्तामै पुर्याए ।’ प्रचण्डले यो वाक्य हरेकजसो भाषणमा बोल्दै आएका छन् । तर, परिस्थिति यस्तो बन्यो– आफैले भित्तामा पुर्याको ओलीलाई फकाउन दुई हात जोड्नै आफै ओली निवास पुग्नु पर्ने भयो !

ओलीलाई फकाउन निवास नै जान तयार हुने प्रचण्डको निर्णयलाई ‘डाइनामिक लिडर’मा हुनुपर्ने गुण मानिएला या परिस्थितिले बाध्य बनाएको भनेर बुझिएला त्यो बेग्लै कुरा हो । तर, यी नेताबीच संवाद हुने हो भने वर्तमान संकट समाधान हुनसक्ने आशा गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्