Logo
Logo
माओवादीको आठौं महाधिवेशन

केन्द्रीय समितिको आकार बढ्न सक्ने



काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनमा आजदेखि सुरु हुँदैछ । महाधिवेशनमा सहभागी हुनका लागि देशैभरीका प्रतिनिधिहरु काठमाडौं आइसकेका छन् । महाधिवेशनबाट केन्द्रीय समितिको सदस्यहरु निर्वाचित हुनेछन् ।

माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले महाधिवेशनबाट निर्वाचित हुने केन्द्रीय समितिका पदाधिकारी र सदस्यको आकार बढन सक्ने बताएका छन् । आजै बसेको केन्द्रीय समितिको बैठकले विधान संशोधन गर्दै १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति हुने व्यवस्था गरेको छ ।

‘केन्द्रीय समितिको बैठकले १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति हुने भन्ने व्यवस्था विधान संशोधन गर्दै निर्णय पारित गरेको छ’ प्रवक्ता महराले भने, ‘यो केन्द्रीय समितिले निर्णय गरेको हो । यसमा परिमार्जन पनि हुनसक्छ । हामी महाधिवेशनमा छलफल र बहस गर्छौ । महाधिवेशन प्रतिनिधिले दिने सुझावका आधारमा केन्द्रीय सदस्यको आकार बढ्न सक्छ ।’

केन्द्रीय समितिबाट पारित विधानअनुसार एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक जना कोषाध्यक्ष रहनेछ । २९९ सदस्यीय केन्द्रीय समिति महाधिवेशनबाट निर्वाचित हुने भएका छन् । निर्वाचित केन्द्रीय सदस्यबाट १५ जना पदाधिकारी निर्वाचित हुने व्यवस्था माओवादी केन्द्रको छ ।

सर्वसम्मत पदाधिकारी चयनका लागि प्रयास गरिने तर सर्वसम्मत नभएको अवस्थामा पदाधिकारीको निर्वाचन हुन्छ । तर, निर्वाचन हुँदा त्यसको मतदाता महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरु मात्रै हुनेछन् ।

माओवादी केन्द्रको अन्तरिम विधानमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवसहित २९९ सदस्यीय केन्द्रीय समिति महाधिवेशनबाट गठन हुने उल्लेख गरिएको थियो ।

महाधिवेशनमा देशैभरीका १६ सय ८ जना प्रतिनिधि सहभागि हुँदैछन् । महाधिवेशनमा सहभागी हुन देशभरबाट माओवादी प्रतिनिधिहरु काठमाडौं आइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्