Logo
Logo

गणतन्त्र र धर्मनिरपेक्षतामाथि आक्रमण भइरहेको छ : दुर्गा पौडेल



काठमाडौं । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले अहिले गणतन्त्र र धर्म निरपेक्षतामाथि आक्रमण भइरहेको टिप्पणी गरेका छन् ।

आजदेखि काठमाडौंमा सुरु भएको नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनमा शुभकामना दिँदै उपाध्यक्ष पौडेलले आज प्राप्त उपलब्धिमाथि प्रहार भइरहेको बताएका हुन् ।

जनताको आवाज सुन्ने थलो प्रतिनिधि सभा दुई–दुई पटक विघटन भएको र अहिले पनि अवरुद्ध भएकाले यसलाई परास्त गर्न एक दलले मात्र सम्भव नभएकाले पाँच दलीय गठबन्धन अझै बलियो बनाउनुपर्ने आवश्यकता रहेको धारणा राखे ।

माओवादी केन्द्रको महाधिवेशनले गठबन्धनलाई कायम राख्नेगरी निर्णय गर्नुपर्ने उनको सुझाव रहेको थियो । प्रतिगमन चर्को रुपमा अघि बढेकाले पाँच दलीय गठबन्धन अझै अघि बढाउनुपर्ने आवश्यकता रहेको उनको भनाइ रहेको छ ।

उनले एमसीसी राष्ट्रघाती भन्दै महाधिवेशनबाट त्यसलाई पारित नगर्ने निर्णय गर्नुपर्ने सुझावसमेत दिए । एमसीसी र संघीयताबारे जनमोर्चाले स्पष्ट कुरा राख्दै आएको उनको भनाइ रहेको थियो ।

प्रतिगामी शक्तिहरुलाई यसै छोड्दा इतिहासले माफी नदिने भन्दै उनले अहिले भएको उपलब्धिलाई कायम राख्दै जानुपर्ने बताए । इतिहासले यस्तै प्रकारको दुरदर्शीता माग गरेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्