Logo
Logo

सबैले स्वीरकार गर्नेगरी संविधान संशोधन गरौं : उपेन्द्र यादव



काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले माओवादीको नेतृत्वमा जनयुद्ध र मधेस विद्रोह नभएको भए नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना सम्भव नरहेको स्मरण गरेका छन् ।

आजदेखि काठमाडौंमा सुरु भएको नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनमा शुभकामना दिँदै अध्यक्ष यादवले विगतका कमिकमजोरी सच्याएर अगाडि बढ्नुपर्ने र सबैलाई मान्य हुनेगरी संविधान संशोधन गर्नुपर्ने बताए ।

‘माओवादी जनयुद्ध र मधेस विद्रोह नभएको भए यो मुलुक संघीय लोकतान्त्रिक गणतन्त्र हुने थिएन’ यादवले भने, ‘संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रमा नै रुमल्लिएर अहिले मुलुक बस्ने थियो ।’

संविधानलाई बत्ती बालेर दिपावली गर्नेको मात्रै नभइ ‘ब्ल्याक आउट’ गर्नेहरुको पनि बनाउनका लागि रुपान्तरण गर्नुपर्ने यादवले बताए । उनले संविधान संशोधन र परिमार्जन अति आवश्यक काम भएको भन्दै सहमति कायम गरेर अघि बढाउनुपर्ने बताए ।

‘हुत त अहिले संसद् अवरुद्ध छ । अवरुद्ध गर्ने कमरेड पनि यहीँ हुनुहुन्छ’ उनले भने, ‘अब संसद् अवरुद्ध गरेर केही हुनेवाला छैन् । माधवजी पनि यहीँ हुनुहुन्छ ।’

उनले सबैले हठ त्यागेर मुलुकलाई गति दिने हिसाबले अघि बढ्नुपर्ने बताए । संघीय लोकतान्त्रिक गणतन्त्रको अन्य कुनै विकल्प हुन नसक्ने भन्दै उनले मुलुक निर्माणतर्फ केन्द्रित हुनुपर्ने धारणा राखे ।

अध्यक्ष यादवले शसस्त्र द्वन्द्वमा वेपत्ता पारिएका परिवारले न्याय पाउनुपर्ने समेत बताए । कुनै समय आफू पनि माओवादी युद्धमा संलग्न भएको कुरा स्मरण गर्दै उनले वेपत्ता पारिएका व्यक्तिका परिवारले अहिले पनि न्याय नपाएको गुनासो गरेका छन् ।

सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानविन आयोगले काम गर्न नसकेकोप्रति लक्षित गर्दै यादवले न्याय दिने कुरा अहिले पनि अलमलमै रहेको टिप्पणी गरेका छन् ।

सत्य निरुपण तथा मेलमिलाप आयोग अलपत्र रहेको बताउँदै उनले जनयुद्धताका वेपत्ता पारिएका परिवारले न्याय अहिलेसम्म नपाएकाले उनीहरु न्याय पाउँनुपर्ने अध्यक्ष यादवको धारणा रहेको छ । अध्यक्ष यादवले प्रचण्डको कुशल कमान्डसिपमा माओवादी केन्द्र अघि बढोस् र नयाँ गति लेओस् भन्दै शुभकामना दिए ।

प्रतिक्रिया दिनुहोस्