Logo
Logo

कुनै व्यक्ति वा वंशको तानाशाही आफूहरुलाई स्वीकार्य छैन् : माधव नेपाल



काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कुनै व्यक्ति वा वंशको तानाशाही आफूहरुलाई स्वीकार्य नहुने बताएका छन् ।

आजदेखि काठमाडौंमा सुरु भएको नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनमा शुभकामना दिँदै अध्यक्ष नेपालले इतिहास अघि बढिसकेको बताउँदै अब पछाडि फर्किने कुनै सम्भावना नभएको बताए ।

नयाँ नेपाल निर्माण गर्ने हाम्रो मान्यता र विचार के हुन् भन्नेबारेमा दलहरुबीच छलफल गर्न जरुरी रहेको उनले बताए । नेपालको राजनीतिक इतिहासमा दलहरू एकतावद्ध भएर अघि बढ्दा सफलता मिलेको चर्चा गर्दै उनले अहिले पनि एकतावद्ध भएर अघि बढ्न जरुरी रहेको बताए । राजतन्त्र अन्त्य, गणतन्त्र स्थापना, संघीयता, धर्मनिरपेक्षतालाई जोगाउन दलहरू एकै ठाउँमा उभिनुपर्नेमा उनले जोड दिए ।

देशमा नागरिकको अधिकार ठूलो हुने र पार्टीमा कार्यकर्ताको अधिकार ठूलो हुने उनको भनाइ छ । उनले भने, ‘राष्ट्रियताको सवालमा हामीबीच विमति हुनुपर्ने कारण छैन ।’

नेपाली समाजमा विभेद, असमानता, अन्याय, अत्याचार विद्यमान रहेको उल्लेख गर्दै उनले यसलाई समाप्त पार्ने कुरामा दलहरू केन्द्रित हुनुपर्ने धारणा राखे ।

समाजवादमा जाने लक्ष्य निर्धारण भइसकेका कारण अब नेपाली विशेषताको समाजवाद कस्तो हुनेछ भनेर नेता, पार्टीहरू, वुद्धिजिवीहरुबीच बहस हुन जरुरी रहेको उनले बताए । उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई यस्तो छलफल र बहस आयोजना गर्न सुझाव समेत दिए ।

अध्यक्ष नेपालले माओवादी केन्द्रको महाधिवशेनमा २०५९ सालदेखि किन भएन भन्ने प्रश्न उब्जिरहँदा ठ्याक्कै महाधिवशेन भएकोमा खुशी व्यक्त गरेका छन् । आफूलाई माओवादीको महाधिवेशन किन भएन भन्ने लागिरहेकै बेला महाधिवेशन हुँदा आफ्नो मन र भावनासँग मेला खाएको अध्यक्ष नेपालले बताए ।

उनले भने– ‘प्रत्येक पाँच–पाँच वर्ष महाधिवेशन हुनुपर्नेमा २०५९ सालदेखि किन भएन भन्ने प्रश्न उब्जिएको बेला माओवादी केन्द्रले ठ्याक्कै महाधिवेशन भएकोमा मन र भावनासँग मिल्न पुगेको छ ।’ अध्यक्ष प्रचण्डतिर हेर्दै उनले यसो भनिरहँदा हलमा हाँसो चलेको थियो ।

विधिमा बाँडिए देश विकास हुने पनि उनले बताएका छन् । तर, नेताहरु नियम, विधि र विधान बाँधिन नचाहँदा समस्या सिर्जना हुने पनि उनले औँल्याए ।

प्रतिक्रिया दिनुहोस्