Logo
Logo

कामको ज्याला नपाएपछि प्रशासनमा उजुरी


- दृष्टि न्युज/संवाददाता


बाजुरा । काम गरेको ज्याला नपाएपछि न्यायका लागि जिल्लीका स्थानीयवासी जिल्ला प्रशासन कार्यालय पुगेका छन् । बस्ती संरक्षण कार्यक्रमअन्तर्गत पहिरो प्रभावित क्षेत्रमा जाली भर्ने काममा लगाएको पनि ज्याला नदिएर ठेकेदार फरार रहेको कामदारको गुनासो छ ।

जिल्लीको त्रिवेणी नगरपालिका छतारा बस्ने हर्कबहादुर शाह आधा काम गराएर सम्पर्क बाहिर रहेका छन् । काम गरेको दुई वर्ष बितिसक्दा पनि ज्याला नदिएको स्थानीय डबल विकले जानकारी दिनुभयो । स्थानीय ५० जना बढी कामदारले ज्याला नपाएको भन्दै जिल्ला प्रशासन कार्यालय मार्तडीमा उजुरी दिएका छन् ।

प्रतिजाली रु तीन हजारका दरले सहमतिका आधारमा २५३ जाली भर्न लगाएको कामदारले बताउने गरेका छन् । रु एक करोडको लागतमा बस्ती संरक्षणका लागि जाली भर्ने जिम्मा लिए पनि काम पूरा हुन सकेको छैन । ठेकेदार हर्कबहादुरले पुरानै कामको ज्याला नदिएर बीचमै छोडेर सम्पर्कविहीन बनेका छन् ।

विसं २०७३ मा सम्झौता गरी २०७५ सालमा निर्माण सक्नुपर्ने सम्झौता गरिएको थियो । एक हजार २०० जाली भर्ने गरी सम्झौता गरिएको भए पनि हालसम्म २० प्रतिशत पनि काम नगरेको बडीमालिका नगरपालिका–७ का वडाध्यक्ष धर्मराज पाध्यायले बताउनुभयो । तर ठेकेदारले अरुले हालेको जालीलाई समेत प्राविधिक स्टमेटमा देखाएर आधा बढी भुक्तानी लिइसकेको स्रोतको दाबी छ ।

ज्याला पाउनुपर्ने मागसहित स्थानीय ३१ जनाले जिल्ला प्रशासन कार्यालय बाजुरामा संयुक्तरुपमा उजुरी दिएका छन् । वडा कार्यालयले पनि वर्षात्मा जिल्लीको गाउँ नै जोखिममा रहेकाले, पहिरो रोकथामका लागि पनि जाली भर्न काम तत्काल गराउन प्रशासनको ध्यानाकर्षण गराएको छ ।

कामदारको ज्याला भर्तीसँगै बस्ती संरक्षणका लागि पनि ठेकेदारलाई तत्काल काम लगाउनुपर्ने माग वडा कार्यालयको रहेको छ तर प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपानेले भने आवश्यक प्रक्रिया बुझेर जानकारी गराउने बताउनुभएको छ ।

सङ्घीय सरकार र प्रदेश सरकारमध्ये कस्ले निर्माणको जिम्मा लिने भन्नेमा अन्योल हुँदा पनि ढिलाइ भएको बुझिएको छ ।

करोड बढी बजेटमा ठेकेदारले ठगी गरेको र जनतालाई खुलेआम ठगेको भन्दै माग सुनुवाइ नभए प्रशासन कार्यालयमा धर्ना बस्ने जिल्लीवासीको भनाइ छ । ठेकेदारकै लापर्वाहीले विकास निर्माणमा ढिलाइ भइरहेकाले कमजोरी गर्नेलाई कारवाही गर्नु पर्ने वडाध्यक्ष धर्मराज पाध्यायको भनाइ रहेको छ । समयमै बस्ती संरक्षण नगरिँदा जिल्लीका ८५ परिवार पहिरोको उच्च जोखिममा छन् । (रासस)

प्रतिक्रिया दिनुहोस्