Logo
Logo

सबैको चासो मोदीको नेपाल नीतिमा


रमेश घिमिरे (स्वतन्त्र पत्रकार)

0
Shares

रमेश घिमिरे (स्वतन्त्र पत्रकार)

विश्वकै सबभन्दा ठूलो लोकतन्त्र, गणतन्त्र भारतमा भएको १७ औँ लोकसभाको आम चुनावमा सत्तारुढ भारतीय जनता पार्टी (बीजेपी) पुनः दोस्रो पटक प्रचण्ड बहुमतका साथ विजयी भएको छ । लोकसभाको जम्मा ५४४ स्थानमध्ये ५४२ स्थानको लागि निर्वाचन भएको थियो । जसमा विजेपी एक्लैले ३०५ स्थान प्राप्त ग¥यो । जुन दुईतिहाइ बहुमतका लागि ५ सिटमात्र कम हो । बहुमतका लागि २७२ स्थान ल्याए पुग्छ । त्यस्तै विजेपीको नेतृत्वमा बनेको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) समेतको स्थान जोड्दा जम्मा ३५० स्थान हुन्छ । भारतीय लोकतन्त्रको इतिहासमा यति धेरै स्थान विरलै प्राप्त भएको छ । यो भन्दा पहिले भारतीय राष्ट्रिय कांग्रेसले भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरु, इन्दिरा गान्धी र राजीव गान्धीको नेतृत्वमा यस्तो बहुमत प्राप्त गरेको थियो ।

बीजेपीले यो चुनाव प्रधानमन्त्री नरेन्द्र मोदीको नाममा लडेको थियो । चुनाव अभियानताका यस्तो लाग्दथ्यो यो चुनाव, संसदीय चुनाव नभएर राष्ट्रपतीय चुनाव हो । मोदीले सम्पूर्ण भारतको चुनाव अभियानको नेतृत्व गरे जुन आफैँमा एक कीर्तिमान हो ।

असी प्रतिशतभन्दा बढी हिन्दू धर्मावलम्बी भएको भारतको मूल संस्कृति, हिन्दू संस्कृतिको धरातलमा उभिएर उनी चुनाव अभियानमा होमिएका थिए । भारतका जनताले उनको त्यो अडानलाई रुचाएर पुनः दोस्रो कार्यकालका लागि प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्रीको कुर्सीमा विराजमान गराइदिएका छन् ।

अब यहाँनेर के प्रश्न उठ्छ भने पहिलेभन्दा शक्तिशाली रुपमा प्रधानमन्त्री मोदीको पुनरागमनले नेपालमा कस्तो असर पर्ला त ? प्रधानमन्त्री मोदीले हिन्दूत्व र राष्ट्रवादको एजेन्डाले गर्दा विजय प्राप्त गरेका हुन् । सन्देश स्पष्ट छ प्रधानमन्त्री मोदीको कार्यदिशा यिनै एजेन्डाले निर्देशित गर्नेछन् ।

यता प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि नेपाली जनताले राष्ट्रिय हितका लागि कुनै सम्झौता नगरी दह्रोसँग उभिएको हुनाले नै प्रधानमन्त्री बनाएका हुन् । तर हालका दिनहरुमा नेपाली धर्म संस्कृतिविरुद्ध विदेशीहरुको जुन नांगो हस्तक्षेप चलिरहेको छ, यसमा नेपाल सरकार मूकदर्शक बनेर बसेकोमा नेपाली जनतामा भित्रभित्रै आक्रोश बढिरहेको छ । प्रधानमन्त्री ओलीले यस कुराको सम्बोधन गरेमा अवश्य पनि नेपाली जनता र प्रधानमन्त्री मोदीको विश्वास जित्न सफल हुनेछन् ।

नेपाली धर्म संस्कृतिमा पश्चिमा आक्रमण न त उत्तरी छिमेकी चीनले रुचाएको छ न त दक्षिणी छिमेकी भारतले नै । दुवै छिमेकीहरु यसलाई आफ्नो राष्ट्रिय सुरक्षामा खतरा मान्दछन् । आफ्नो पहिलो कार्यकालमा प्रधानमन्त्री मोदीले चार पटक नेपाल भ्रमण गरे । यो भारतीय प्रधानमन्त्रीको १७ वर्षपछि नेपाल भ्रमणको शुरुआत थियो । यसबाट के स्पष्ट हुन्छ भने नेपाल, प्रधानमन्त्री मोदीको उच्च प्राथमिकतामा छ र उनको पहिलो कार्यकालमा केही राम्रा कामहरु भएका छन् । जस्तै थन्केर बसेको नेपाल–भारत प्रबुद्ध समूह (इपिजी)को गठन, विद्युत् व्यापार सम्झौता, पेट्रोलियम पाइपलाइन आदि ।

प्रधानमन्त्री मोदीले नेपाललाई राम्रोसँग बुझ्ने नेता हुन् र उनले नेपाल–भारत सम्बन्धलाई कर्मचारीतन्त्रको घेराबाट राजनीतिक तहमा लैजान खोजेका छन् । नेपालले यसको सदुपयोग गरी स्पष्टसँग आफ्नो कुरा राख्नुपर्दछ । त्यसो त इपिजीले तयार पारेको प्रतिवेदन दुवै देशका प्रधानमन्त्रीले स्वीकार गरी सो अनुसार गरेमा नेपाल–भारत सम्बन्ध नयाँ उचाइमा पुग्नेछ । यसमा नेपालतर्फबाट अत्यधिक सक्रियता आवश्यक छ । प्रधानमन्त्री मोदीले इपिजीको प्रतिवेदनलाई कसरी लिन्छन् त्यसैमा आगामी दिनमा नेपाल–भारत सम्बन्ध कसरी बढ्दछ भन्ने कुराको छनक पाइनेछ ।

[email protected]

प्रतिक्रिया दिनुहोस्