Logo
Logo

कैलालीको तेघरीमा फस्टाउँदै ड्रागन खेती



धनगढी । सुदूरपश्चिममा ड्रागन खेतीप्रति पछिल्लो समय आकर्षण बढ्दो छ । विदेशबाट आयातित ड्रागन फ्रुटको नेपाली बजार विस्तार हुनेक्रम बढेसँगै यसको खेतीप्रति आकर्षण बढ्दै गएको हो ।

सुदूरपश्चिममा पहिलोपटक खेती गरिएको कैलालीको गोदावरी नगरपालिका–२ तेघरीमा अहिले ड्रागनका बिरुवा हुर्किरहेका छन् ।
कन्चनपुरको महेन्द्रनगरमा बस्ने गोकर्णबहादुर ओलीले डेढ बिगा जग्गा भाडामा लिएर एक वर्ष अगाडि तेघरीमा ड्रागनका बिरुवा रोपेका थिए । अहिले विरुवा अपेक्षाकृत रुपमा हुर्किएपछि उनी उत्साहित बनेका छन् ।

‘अहिले आफुले अपेक्षा गरेअनुसार नै बिरुवाको वृद्धि भइरहेको छ’ ओलीले भने, ‘अहिलेसम्म ३३ लाख लगानी पुगिसकेको छ । लगानीअनुसार प्रतिफल आउने आशा छ ।’ उनले खेती विस्तार गर्ने समयमा कृषि विकास निर्देशनालय डोटीबाट ४ लाख ८८ हजार अनुदान पनि पाएको बताए ।

यसको राम्रो उत्पादन लिन २०७९ को असार महिनासम्म कुर्नुपर्ने ओलीले बताए । ‘यसले लगाएको १८ महिनापछि उत्पादन दिन सुरु गर्दछ’ उनले भने, ‘राम्रो उत्पादनका लागि ३ वर्ष कुर्नुपर्ने हुन्छ ।’

उनले उत्पादन गरेपछि बजारको कुनै समस्या नहुनेमा आफू विश्वस्त रहेको बताए । यसको बजारको एकदमै राम्रो सम्भावना भएको उनको भनाइ छ । ‘अहिले नेपालमा २/३ ठाँउबाट उत्पादन भएको ड्रागन फ्रुट बजारमा जान सुरु गरेको छ । उनीहरुले अहिले बजारको समस्या भोग्नु नपरेको बताएका छन’ उनले भने ।

ओलीले अहिले सुदूरपश्चिमको बजारमा ड्रागन फ्रुट नपाइने भएपनि काठमाडौं, पोखरामा यसको राम्रो बजार भएको बताए ।
नेपाली किसानले ड्रागन फ्रुुट ६ सयदेखि ८ सयसम्म प्रतिकेजीका दरले बिक्री गरिरहेको ओलीले बताए । उनले भने, ‘यसको खेती विस्तार हुँदै जाँदा मुल्यमा कमि आउँदै गर्छ होला । अनि सबैले किनेर खान सक्नेछन् । जसले यसको बजार भने विस्तार हुँदै जानेछ ।’

उनले सुदूरपश्चिमका बजारमा ड्रागन फ्रुुट नपाइने भएपनि अन्य जिल्लामा यसको खेती विस्तार भइरहेको देखेर यसको खेतीतर्फ आकर्षित भएको बताए ।

‘नेपालका दाङ, सिन्धुपाल्चोक, भारतको राजिस्तान, युपीमा हेरे, यसबाट राम्रो फाईदा देखेर मैले यहाँ खेती गरेको हुँ’ उनले भने, ‘अहिले सुदूरपश्चिममा यस खेतीको विस्तार हुने क्रम बढ्दो छ, अहिले १५ हजार भन्दा बढी बोट रोपिएको छ ।’

ओलीले अहिले डेढ विगा जग्गामा ३ हजार ५ सय विरुवा रोपेका छन । सुरुका दिनमा केहीी विरुवामा रोग लागेको भएपनि पछिल्लो समय निर्मुल भएको उनले बताए । ड्रागन खेतीभित्र अन्तर बाली लगाएका ओलीले जग्गा भाडा तिर्ने पैसा अन्तरबालीबाट नै आउने गरेको बताए ।
‘अन्तरवालीका रुपमा भिण्डी लगाएका थियाँै’ उनले भने, ‘८० हजार जतीको भिण्डि बेचिका थियौ, अहिले अन्तरबालीका रुपमा लसुन लगाएका छौ ।’ उनले डेढ विगा जग्गाको ५० हजार वार्षिक भाडा तिर्दै आएका छन् ।

ओलीले सुदूरपश्चिममा जति यसको खेती विस्तार गर्न सकियो त्यति नै बजार बढ्दै जाने बताए । उनले यसको खेती विस्तारसँगै विरुवा उत्पादनमा लाग्ने सोच बनाएका छन् । ‘आफूले खेती गर्दा दाङ र सिन्धुलीबाट विरुवा ल्याएको थिएँ’ उनले भने, ‘अब हामीले यसै क्षेत्रमा विरुवा उत्पादन गर्ने छौँ ।’ उनले अहिले बजारमा २ सय ५० देखि साढे ४ सयसम्ममा ड्रागनको विरुवा पाइने बताए ।

प्रतिक्रिया दिनुहोस्