खोटाङ । बुधबार बिहानदेखि लगातार परेको वर्षासँगै लेकाली भेगमा भारी हिमपात हुँदा जिल्लामा अत्याधिक चिसो बढेको छ । लगातारको वर्षा र लेकाली भेगमा हिमपात भएका कारण चिसो बढेपछि जिल्लाका जनजीवन प्रभावित भएको छ ।
हिमपातका कारण टेम्के, चखेवाभञ्ज्याङ, मैयुङ, लौरे, मेरुङ, बहानेपोखरी, रावाधाप, रुपाकोट, वाप्लुखाको मुलडाँडालगायत लेकाली भेगमा पर्ने ठाउँ सेताम्मे भएका छन् । हिउँ पर्दा लेकाली भेगका किसानलाई भने राहत मिलेको जनाइएको छ ।
जिल्लाका पर्यटकीयस्थलमा हिउँ परेपछि कतिपय स्थानीय भने रमाइलो गर्न डाँडामा पुगेका छन् । लगातारको वर्षा र हिमपातका कारण जिल्लाका ग्रामीण सडकमा सञ्चालन हुने साना तथा ठूला सबै सवारीसाधन ठप्प भएका छन् ।
कच्ची अवस्थामा सञ्चालन हुँदै आएको जिल्लाका ग्रामीण सडकमा जमेको पानी र हिलोका कारण यातायात ठप्प बनेको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले जानकारी दिए । ‘लगातारको वर्षापछि मध्यपहाडी लोकमार्गबाहेक सबै ग्रामीण सडक अवरुद्ध छ’, उनले भने, ‘कतिपय ठाउँमा मर्मत गरेपछि मात्र यातायात सञ्चालन हुने अवस्था रहेकाले यताको यतै र उताको उतै भएका छन् ।’
वर्षा र हिमपातपछि बढेको चिसोका कारण जन्तेढुङ्गा गाउँपालिकाले हप्ता दिनका लागि विद्यालय बन्द गरेको छ । वर्षासँगै उच्च लेकाली क्षेत्रमा चिसो बढेपछि गाउँपालिकाले १५ गतेदेखि २३ पुससम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
चिसोले विद्यार्थी काम्दै विद्यालयमा बस्नुपर्ने भएकाले विद्यालय बन्द गरिएको गाउँपालिका प्रमुख शङ्खरबहादुर राईले बताए । गाउँपालिका प्रमुख राईका अनुसार हिउँदे बिदाबाट कटौती गर्ने गरी विद्यालय बन्द गरिएको हो । जन्तेढुङ्गा गाउँपालिकामा ३६ वटा सामुदायिक सञ्चालित विद्यालय छन् ।














