Logo
Logo

मधेसमा किसान आन्दोलन उग्र बन्दै, कृषी मन्त्री मौन



कलैया । जनमत पार्टीले सुरु गरेको किसान आन्दोलन अनिश्चितकालका लागि जारी राख्ने घोषणा गरेको छ । आफूहरुको माग सम्बोधन गर्न सरकारले चासो नदिएको आरोप लगाउँदै जनमत पार्टीले अन्दोलनलाई थप कडा बनाउँदै गइरहेको छ ।

महेन्द्रराजमार्ग अवरुद्ध भएको छ । बजार बन्द गर्दै जनमत पार्टीका कार्यकर्ताले ठाउँ–ठाउँमा तोडफोड तथा आगजनी गर्न थालेका छन् । सिरहामा प्रहरीको भ्यानमा तोडफोड तथा आगजनी गरेका उनीहरु टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

तराई मधेसका जिल्लामा अनिश्चितकालका लागि भनिएको आन्दोलन पुर्वी क्षेत्रमा उग्र बन्दै गएको देखिन्छ । प्रहरी र आन्दोलनकारीबीच झडप समेत भइरहेको छ । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले किसानको माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन् ।

तर मधेसबाटै प्रतिनिधित्व गर्दै कृषी मन्त्री भएका महेन्द्रराय यादव मौन बसेका छन् । मन्त्री यादवले आन्दोलनकारीको माग सम्बोधन गर्नका लागि कुनै पहल गरेको देखिँदैन् ।

किसानहरु आन्दोलनमा उत्रिसकेको र आन्दोलन उग्रबन्दै गइरहेका बेला कृषी मन्त्री यादव सभासम्मेलनमा सहभागी हुने, सम्मान ग्रहण गर्ने कार्यक्रममा मात्रै व्यस्त भएको आरोप उनीहरुले लगाएका छन् ।

किसानको हकहितका लागि बिभिन्न माग गर्दै जनमत पार्टीले विगतदेखी नै सरकारलाई सचेत गराउँदै आएको छ । तर सरकारले किसानहरुको मागको सम्बोधनका लागि कुनै पहल नगरेको आन्दोलनकारी ललित मलिकले बताए ।

जनमत पार्टीले मधेसमा संघीय मन्त्रीहरु उपस्थित हुने कार्यक्रममा अवरोध सिर्जना गर्ने र बिरोध प्रदर्शन गर्ने निर्णय गरिसकेको छ ।

पार्टीले किसानहरु मलखाद्द तथा बिउ नपाएर आन्दोलनरत रहेको बेला देशका कृषिमन्त्री यादव कार्यकर्ता भेट्नमै व्यस्त भई किसानको पिरमर्का नबुझेको भन्दै उनलाई ‘हिटलिष्ट’ मा राखेका छन् ।

अध्यक्ष डा.राउतले एक टेलिभिजनमा अन्तवार्ता दिदैँ किसानको समस्या नबुझ्ने कृषिमन्त्री यादवलाई मधेशका किसान जनकारवाही गर्न खोजिरहेको समेत बताए ।

कृषिमन्त्री यादवका कारण किसानहरुले उँखुको मुल्य नतोकिकनै चिनि मलिमा सस्तोमा उँखु बेच्न बाध्य भईरहेको भन्दै त्यसको जवाब यादवले दिनुपर्ने उनले बताए ।

किसानहरुलाई समयमै मलखाद्द तथा बिउ उपलब्ध गराउनुपर्ने देखी मधेसमा जनसंख्याको आधारमा स्थानिय तहहरुको निर्माणसम्मको माग जनमतले राखेको छ । एक सातादेखी जारीे किसान आन्दोलनलाई थप संघर्षपुर्ण बनाउँदै जनमतले आन्दोलनलाई अनिश्चितकालसम्म अगाडी बढाउँने जनाएको छ ।

डा.राउतले प्रधानमन्त्रीले आन्दोलनरत किसानहरुको ज्ञापनपत्र बुझ्न नमानेको, आन्दोलनमा ब्यापक बल प्रयोग गरी आन्दोलनकारीहरुलाई घाईते बनाएको र किसानमाथी ज्यादती गरी झुठा मुद्दा लगाएको भन्दै आन्दोलनलाई अनिश्चितकालका लागी लम्ब्याएको बताए ।

प्रतिक्रिया दिनुहोस्