काठमाडौं । प्रभु बैंकको १२.६३ प्रतिशत लाभांश पारित भएको छ । बैंकको २०औँ वार्षिक साधारणसभाले प्रस्तावित लाभांश पारित गरेको हो ।
यससँगै सेयरधनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको १२ प्रतिशत बोनस शेयर तथा ०.६३ प्रतिशत नगद लाभांश पाउने भएका छन् । १२.६३ प्रतिशत बोनस सेयर वितरणपश्चात कम्पनीको चुक्ता पूँजी वृद्धि भई १२ अर्ब ७० करोड ८७ लाख ४ हजार १७५ रुपैयाँ पुगेको छ ।

साधारणसभाले अन्य बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने÷गाभिने, प्राप्ति तथा खरिदसम्बन्धी प्रक्रिया बढाउन, बैंकको चलअचल सम्पत्ति र दायित्व तथा कारोबारको मूल्यांकन गर्न मान्यताप्राप्त मूल्यांकनकर्ता नियुक्ति गर्ने र सोसम्बन्धी समझदारीपत्र तर्जुमा गरी प्रक्रिया अगाडि बढाउने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने निर्णय पारित गरेको छ ।
देशका विभिन्न स्थानमा शाखारहित बैंकिङ सेवा, ६१ वटा एक्स्टेन्सन काउण्टर कार्यालय, १८९ वटा एटिएम तथा २१५ वटा शाखा कार्यालयसहित देशभर फैलिएको बैंकिङ सञ्जालको माध्यमबाट १६ लाखभन्दा बढी ग्राहकलाई प्रत्यक्ष अत्याधुनिक प्रविधिसहितको गुणस्तरीय बैंकिङ सेवा प्रवाह गरिरहेको छ ।











