Logo
Logo

रघुवीरलाई इन्चार्जबाट बर्खास्त गर्ने ओलीको चेतावनी



काठमाडौं । नेकपा एमाले प्रदेश २ मा कमिटी विस्तारलाई लिएर विवाद चर्किएको छ । एमाले सचिव एवं प्रदेश २ इन्चार्ज रघुवीर महासेठले आफूखुशी सदस्य मनोनित गर्न थालेपछि विवाद चर्किएको हो ।

प्रदेश २ कमिटीका साथै सो प्रदेशका आठ जिल्ला कमिटीमा महासेठले मनोमानी रुपमा सदस्य मनोनित गर्न थालेपछि चर्किएको विवाद केन्द्रसम्म पुगेको एमाले स्रोतले जनाएको छ ।

प्रदेश २ को विवाद समाधानका लागि एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेललगायतका शीर्ष नेताले छलफल सुरु गरेका छन् ।

मंगलबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृती प्रतिष्ठानमा भएको एमाले शीर्ष नेताहरुको बैठकमा उक्त विवाद समाधान गर्न छलफल भइरहेको छ । बैठकमा अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष पोखरेल, उपाध्यक्ष पौडेल, महासचिव पोखरेलसहित सचिव महासेठ लगायतको सहभागी भएका छन् ।

यस्तै प्रदेश २ का सहइन्चार्ज एवं स्थायी कमिटीका सदस्य प्रभु साह, सहइन्चार्ज एवं पोलिटव्यूरो सदस्यहरु पुरुसोत्तम पौडेल, ज्वाला साह, अच्यूत मैनाली, सुमन प्याकुरेलसहित सो प्रदेशका केन्द्रीय सदस्यहरु, प्रदेश २ का पदाधिकारी लगायतका नेताहरु सहभागी भएका छन् ।

असन्तुष्ट नेताहरुका अनुसार सचिव महासेठकले प्रदेश २ कमिटीमा मनोमानी तरिकाले सदस्य मनोनित गर्दै पाँच सय भन्दा बढी बनाइसकेका छन् । यस्तै प्रदेश २ का आठ वटा जिल्ला कमिटीहरुमा समेत मनोमानी तरिकाले सदस्य मनोनित गर्दै कमिटीलाई भद्धा बनाइसकेका छन् ।

महासेठले कागजमै ५० हजार भन्दा बढी सदस्य एमालेको संगठित सदस्यता वितरण समेत गरेको असन्तुष्ट नेताहरुको आरोप छ ।

‘प्रदेश २ कमिटीका साथै जिल्ला कमिटीहरुमा समेत मनोमानी रुपमा सदस्य मनोनित गर्दै महासेठ कमरेडले कमिटीहरुलाई विधान विपरित चलाउँन खोजेका छन्’ एक असन्तुष्ट नेताले भने, ‘उनी इन्चार्ज भएपछि प्रदेश २ मा पार्टीको अवस्था झनझन विग्रदै गएको छ । उनले यतिसम्म गर्न भ्याए की कागजमै ५० हजार भन्दा बढी संगठित सदस्य समेत बनाइसकेका छन् । पार्टीलाई विधान विपरित चलाउँन खोजे पछि विरोध गर्न बाध्य भएका छौं ।’

एमाले पोलिटव्यूरो सदस्य एवं प्रदेश २ का सहइन्चार्ज सुमन प्याकुरेलले प्रदेश २ मा ‘अलिअलि’ विवाद भएको स्वीकार गर्छन् । तर ती विवाद शिर्ष नेताहरुसंग छलफल गरेर समाधान गर्न खोजिएकाले यसलाई ठुलो रुपमा नलिन आग्रह गरेका छन् ।

‘ठुलो पार्टीमा अलिअलि विवाद त भइहाल्छ नि । यसलाई त्यति ठूलो रुपमा नलिनुहोला । प्रदेश कमिटी र जिल्ला कमिटीहरुमा विवाद रहेको साँचो हो । तर, हामी छलफलमै छौँ । शीर्ष नेताहरुसँग छलफल गरेर समाधान गर्छाँै’ प्याकुरेलले भने ।

एमालेमा विभिन्न पार्टीबाट आएका नेताहरुको सम्मानजनक जिम्मेवारी बाँडफाँड हुनुपर्ने उनले बताए । त्यसका लागि केही नेताले मनोमानी गर्न खोजेपनि पार्टी विधान विपरित कसैले पनि चल्न नपाउनको उनले बताए ।

एमाले स्रोतका अनुसार सचिव महासेठले मनोमानी तरिकाले कमिटी विस्तार, सदस्य थप तथा संगठित सदस्यता बढाउन थालेपछि उनी एक्लिदै गएका छन् । महासेठको विरोधमा प्रभु साह, पुरुषोत्तम पौडेल, ज्वावा साह, अच्यूत मैनाली सुमन प्याकुरेल लगायतका नेताहरु उभिएपछि पार्टी शीर्ष नेताले समेत असन्तुष्ट नेतालाई साथ दिँदै च्यासलमा महासेठलाई ठिक ढंगले पार्टीको काम नगरे ईन्चार्जको जिम्मेवारीबाट हटाउने चेतावनी समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्