Logo
Logo
राष्ट्रियसभा सदस्यको निर्वाचन

बागमतीमा ६ जनाको उम्मेदवारी दर्ता



हेटौँडा । राष्ट्रियसभा सदस्यको हुने निर्वाचनका लागि बागमती प्रदेशमा रिक्त रहेको २ पदका लागि ६ जनाको उम्मेदवारी दर्ता भएको छ । मंगलबार हेटौँडास्थित प्रदेश निर्वाचन आयोगको कार्यालयमा पुगेर उनीहरूले उम्मेदवारी दर्ता गराएका हुन् ।

राष्ट्रियसभा निर्वाचनका लागि बागमती प्रदेशबाट सत्ता गठबन्धनका तर्फबाट दुई जनाले उम्मेदवारी दर्ता गराएका छन् । नेपाली कांग्रेसको तर्फबाट कृष्णप्रसाद पौडेल र महिलामा नेकपा एकीकृत समाजवादीबाट मकवानपुरकी गोमा तिमल्सिनाले उम्मेदवारी दर्ता गराएका छन् ।

पौडेल कांग्रेस पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिवसमेत हुन् । २०७४ सालमा शेरबहादुर देउवा सरकारले राष्ट्रियसभा सदस्यमा सिफारिस गरेको भए पनि राष्ट्रपतिबाट मनोनयनमा परेका थिएनन् ।

यसैगरी एमालेका तर्फबाट पनि दुई जनाले उम्मेदवारी दर्ता गराएका छन् । बागमती प्रदेशमा रिक्त रहेको दुई पदमा एमालेबाट सिन्धुलीकी निरकुमारी कुँवर र ललितपुरका गोपाल शाक्यले उम्मेदवारी दर्ता गराएका छन् ।

यसैगरी नेपाल मजदुर किसान पार्टीका दुई जनाले पनि उम्मेदवारी दर्ता गराएका छन् । नेमकिपाबाट भक्तपुरका गीता काफ्ले र काभ्रेका कृष्णबहादुर तामाङले उम्मेदवारी दर्ता गराएका छन् ।

बागमती प्रदेशको मतदानका लागि हेटौंडा उपमहानगरपालिका–८ स्थित हेटौंडा औद्योगिक व्यवस्थापन लिमिटेडको सभागृहलाई मतदानस्थल तोकिएको छ ।

राष्ट्रियसभाको निर्वाचन आगामी माघ १२ गते हुदैछ । १२ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्