Logo
Logo

राष्ट्रिय नाचघरमा सिलोक जुहारी भीडन्त


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १५ जेठ । नेपाल प्रज्ञा–प्रतिष्ठान, बालसाहित्य तथा लोकवार्ता विभाग, सांस्कृतिक संस्थान र लोकवार्ता परिषद् नेपालद्वारा जमलस्थित सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)मा सिलोक जुहारी (सिलोकमा ठोकान) कार्यक्रमको आयोजना गरेको छ ।


नाचघरको मिनी प्रेक्षालयमा मंगलबार आयोजित कार्यक्रममा लोपोन्मुख अवस्थामा रहेको सिलोक जुहारी र खाँडो जगाउने कार्यक्रम प्रस्तुत गरिएको थियो । लोपोन्मुख अवस्थामा रहेको नेपाली लोककविताको खोजी, संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रम संभवतः नेपालकै इतिहासमा औपचारिक रूपमा प्रथम पटक आयोजना गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व उपकुलपति प्रा.डा. वासुदेव त्रिपाठीले तीन संस्थाको आयोजनामा भएको सिलोक जुहारी कार्यक्रमले दूरगामी प्रभाव छाड्ने बताए । ‘यस कार्यक्रमबाट लोप हुन लागेको संस्कृतिले पुनर्जीवन पाउनेमा आशा गर्न सकिन्छ’ उनले भने, ‘उखान–बखान हाम्रा साहित्यका स्रोत हुन्, आजको कार्यक्रम चिरकालसम्म अंकित हुनेमा मेरो विश्वास छ ।’
प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले सरकारको प्रतिनिधि संस्था प्रज्ञा–प्रतिष्ठान र सांस्कृतिक संस्थानले लोपोन्मुख संस्कृतिको संरक्षण र संवद्र्धन गर्नेतर्फ प्रभावकारी ढंगबाट काम गरिरहेको बताए । ‘हामीले गर्ने यस प्रकारका कार्यहरूले लोककला तथा लोकसंस्कृतिका क्षेत्रमा सरकारको नीति तथा कार्यक्रमलाई साकार बनाउन सहयोग पु¥याउँछन्’ उनले भने ।


प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले लोकसंस्कृतिको पुनः जागरण हुन थालेको बताउनुभयो । उहाँले नेपालभित्र लोककविता र लोकसंस्कृतिको अथाह स्रोत रहेको भन्दै त्यसको खोज, अनुुसन्धान र संरक्षण आजको आवश्यकता भएको धारण प्रकट गरे ।
प्रज्ञा–प्रतिष्ठान, बालसाहित्य तथा लोकवार्ता विभागका प्रमुख प्राज्ञ डा. देवी नेपालले देशभित्र लोककविता, लोकसाहित्य र लोकसंस्कृतिको खानी रहेको तर पुरानो र मौलिक सिलोक जुहारी समयक्रममा लोपोन्मुख अवस्थामा रहेको हुँदा यसको संरक्षण र प्रवद्र्धनका निम्ति यस कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले दर्शकलाई वास्तविकता महसुस होस् भन्ने उद्देश्यले कार्यक्रमलाई केही नाटकीय रूप दिएको पनि सुनाए ।
सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाले देशका पूर्व र पश्चिमका चुनिएका सिलोके कवि–कलाकारलाई एकै ठाउँमा जम्मा गराई सिलोक जुहारी कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभयो । उहाँले यस प्रकारको कार्यक्रम क्रमशः गर्दै जाने बताए ।
लोकवार्ता परिषद्का अध्यक्ष प्रा.डा. प्रेम खत्रीले नेपालमा लोकसंस्कृतिको खानी रहेको तर आधुनिताले परम्परागत र मौलिक लोकसंस्कृति हराउँदै गएकाले तिनको अनुसन्धान, संरक्षण र सम्बद्र्धनतर्फ सम्बन्धित सबैको ध्यान जानु पर्ने बताए । कार्यक्रममा डा. ध्रव भट्टराईले ‘नेपाली लोककविताको स्वरूप, परम्परा र प्रस्तुति’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा वास्तविकताको झल्को दिने गरी प्रेक्षालयको मञ्चमा विवाहमण्डप तयार पारिएको थियो । ध्वजापताकासहित जग्गे पनि बनाइएको थियो । पञ्जेबाजाको धुनमा बजाउँदै दुलही लिन जन्ती आएको, दुलही पक्षले जन्ती पर्सिएको, दुलही र दुलाहा पक्षबीच सिलोक जुहारी खेलिएको थियो । कार्यक्रममा खाँडो जगाउने कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो ।
समूहगत रुपमा भएको सिलोक जुहारीमा ताप्लेजुङका तुल्सीप्रसाद गिरी, झापाका टंकप्रसाद भट्टराई र थरेन्द्र बराल, तेह्रथुमका पदमप्रसाद निरौला, ओखलढुंगाका माधवप्रसाद दाहाल र डिल्लीप्रसाद दाहाल, भोजपुरका चण्डीप्रसाद नेपाल र सिन्धुपाल्चोकका राममणि आचार्यले सहभागी थिए । यसैगरी कूटपद्यमा पाल्पाका लक्ष्मीचन्द्र पंगेनी र लक्ष्मीमाया तिवारी तथा स्याङ्जाका रुक्मांगत पाठक र नारायण पाठक सहभागी थिए । लोकअन्ताक्षरीमा नवलपरासीका ८६ वर्षीय नुमनाथ अधिकारी, सिन्धुपाल्चोकका विष्णुप्रसाद पौडेल र पाल्पाका पंगेनी र तिवारी सामेल थिए ।
खाँडो जगाउने पूर्वको शैलीमा झापाका टंकप्रसाद र पश्चिमतिरको शैलीमा नुवाकोटका बलबहादुर थापाले प्रस्तुति दिनुभएको थियो । ताप्लेजुङका सविता बराल, राधिका मिश्र र ज्योति निरौला, काठमाडौँका उषा भट्ट र ललिता पन्तले कार्यक्रममा संगिनी गीतिनृत्य प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्