Logo
Logo

पत्रकार महासंघको निर्णयप्रति चार पत्रकार संगठनको आपत्ति



वीरगंज । नेपाल पत्रकार महासंघ पर्सा शाखाको निर्णय सच्याउन विभिन्न चार पत्रकार संगठनले माग गरेका छन् ।

प्रेस युनियन पर्सा, प्रेस सेन्टर पर्सा, समाजवादी प्रेस संगठन पर्सा र राष्ट्रिय दलित पत्रकार संघ पर्साले मंगलबार संयुक्त विज्ञप्ती जारी गर्दै नेपाल पत्रकार महासंघ पर्साको निर्णयप्रति आपत्ति जनाएका हुन् ।

महासंघ पर्साको पछिल्ला गतिबिधिले पर्सेली पत्रकारहरुको मानमर्दन एवं सिंगो महासंघकै गरिमामाथि आँच आउने काम भएको चार पत्रकार संगठनले जनाएको छ ।

श्रमजिवी पत्रकारहरुको हकहित, वृतिविकास तथा सुरक्षाको लागि काम गर्नु पर्नेमा बहुमतको दम्भ देखाउने, अल्पमतको खिल्ली उडाउने काम गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

पत्रकारितामार्फत पर्सेली समाजलाई एउटा नयाँ दिशा प्रदान गर्ने अग्रज पत्रकार स्व.गोपाल गिरीको स्मृतिमा स्थापित गोपाल गिरी पत्रकारिता पुरस्कार वितरणमासमेत महासंघ पर्साले उचित मापदण्ड पालना गरेको आरोप छ ।

प्रेस युनियन पर्साका अध्यक्ष रामनारायण कुर्मी, प्रेस सेन्टर पर्साका अध्यक्ष दिपक गौतम, समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष मनोज पटेल र राष्ट्रिय दलित पत्रकार संघ पर्साका अध्यक्ष श्याम पासवानद्वारा हस्ताक्षरित विज्ञप्तीमा कार्य समिति भित्रबाटै असहमती जनाउँदा जनाउँदै त्यस्ता बिरोधका स्वरहरुलाई वास्तै नगरिनु लोकतन्त्र बिरोधी कार्य भएको जनाएका छन् ।
विभिन्न गोष्ठी, भेला तथा तालिममा पर्साको प्रतिनिधि पठाउँने सवालमा समेत एकल निर्णय गरी एउटै आस्थाका पत्रकारहरुलाई पठाउँनु अनुचित रहेको उल्लेख गरिएको छ ।
विज्ञप्ती मार्फत महासंघ पर्साको पछिल्लो बैठकले गठन गरेका विभिन्न समिति तथा उप–समितिहरुमा सबै आस्थाका पत्रकारहरुलाई समेटनु पर्नेमा त्यसो नगरिएकाले त्यो कदम सच्याउन चार संगठनले जोडदार माग समेत गरेका छन् ।
त्यसै गरी चार संगठनहरुले पुरस्कार वितरणमा पनि मापदण्ड बनाई आवश्यक छलफल तथा छनौट समिति निर्माण गरी पुरानो निर्णयलाई बदर गरी पुनः नयाँ निर्णय गर्न समेत माग गरेका छन् ।

आफूहरुको मागलाई महासंघ पर्साले बेवास्ता गरे कडा प्रतिवादमा उत्रिन बाध्य हुने समेत उनीहरुले चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्