बारम्वार किन जन्मन्छन् केपीहरू ? « Drishti News – Nepalese News Portal
Logo

बारम्वार किन जन्मन्छन् केपीहरू ?


दामोदर अर्याल


नेपाली कम्युनिष्ट आन्दोलनको पछिल्लो चरणमा हामी केपी ‘बा’को चर्चा निकै गर्छौं । यो चर्चा उनले राम्रो काम गरेका कारण गरिएको होइन । नेपाली कम्युनिष्ट आन्दोलन र यसले विकास गरेका सिद्धान्त, नीति, विचार र शैलीलाई धुलिसात पारेका कारण उनी चर्चाको शिखरमा उक्लिएका हुन् । तर यहाँ चर्चा गर्न खोजिएको विषय ‘नेपालको कम्युनिष्ट आन्दोलनमा केपीहरु किन जन्मन्छन् ?’ भन्ने हो ।

हाम्रो आन्दोलनले केशरजंगहरु पनि व्यहोरेकै हो । उनी पुष्पलाललाई नेतृत्वमा रोकेर पार्टीको महासचिव बने । उनको महासचिव पद वैधानिक नै थियो । बकाइदा कम्युनिष्ट पार्टीको महाधिवेशनबाट छानिएका पार्टीका महासचिवले आन्दोलनलाई राजाको पाऊमा चढाउँछन् भन्ने कसले सोचेको थियो र ? तर भयो त्यस्तै । उनले २०१७ सालको राजाको कदमलाई स्वागत मात्र गरेनन्, कम्यनिष्ट कार्यकर्तालाई दिपावली गर्न समेत लगाए । यो सब कुकर्म गरिरहँदा उनको हातमा हसियाँ हथौडाको झण्डा नै थियो, जसरी अहिले केपीले जबज, सूर्य चिन्ह र हसियाँ हथौडा बोकेका छन् ।

पुष्पलालले मानेनन्, विद्रोह गरे । फलस्वरुप नेपालमा कम्युनिष्ट आन्दोलन जोगियो । त्यतिखेर केशरजंगको पार्टी ठूलो थियो । अन्तर्राष्ट्रिय मान्यता पनि पाएको थियो । तर पुष्पलालसँग केही थिएन, न पार्टी न अन्तर्राष्ट्रिय सर्मथन । तरपनि उनले हरेस खाएनन् । निरन्तर काम गरे, विस्तारै आन्दोलनलाई पुनःगठन गरे ।

कालखण्डका केपीहरु जन्मन्छन, हुर्कन्छन र फैलिन्छन् । हिज केशरजंगहरु जन्मे आज केपी जन्मेका छन् । यो समस्या र प्रवृत्तिबाट आन्दोलन र समाजलाई जोगाउने हो भने केपीलाई गाली गरेर पुग्दैन, हुँदैन पनि । समाज विभिन्न कालखण्डको अवशेषको जगमा बाँचेको छ, त्यसलाई मूलधारमा ल्याउनै पर्दछ ।

अन्त्यमा पुष्पलाल सफल भइछाडे । आज नेपालमा क्रियाशील सबै कम्युनिष्ट पार्टीहरुले पुष्पलाललाई शिरमा बोकेका छन् । तर, केशरजंगहरु इतिहासको रछ्यानमा घृणापूर्वक मिल्काइए ।यसबाट के बुझिन्छ भने आन्दोलनका क्रममा धुन्दुकारीहरु निरन्तर जन्मिरहन्छन् । हिजो पनि जन्मिए, आज पनि जन्मिए, भोलि पनि जन्मन्छन् । नाम फरक हुनसक्छ, हिजो केशरजंगको रुपमा देखियो, आज केपीको रुपमा ब्यहोर्दैछौँ, भोलि अर्को अनुहार देखिएला । तर आन्दोलन जोगाउने नायकहरु पनि सँगसँगै आउँछन् जसरी हिजो पुष्पलाल अगाडि सर्नुभयो, आज माधवकुमार नेपाल ।

तर सन्दर्भ किन जन्मिन्छन् ? भन्ने नै हो । केपीहरुको प्रार्दुभावको मुख्य कारण हाम्रो समाजको चरित्र र चेतनामा अन्तर्निहित छ । चरित्र र चेतनाको निर्धारण उत्पादन सम्बन्धले तय गर्छ । कम्युनिष्ट आन्दोलनका केही मान्छे हाम्रो समाज पूँजीवादी चरणमा प्रवेश गरिसकेको व्याख्या गर्छन् । तर यो अर्धसत्य तथ्य हो । हाम्रो समाजको सिंगो संरचना पूँजीवादी चरणमा अझै प्रवेश गरिसकेको छैन । बरु मानव जातिले विश्वव्यापीरुपमा व्यहोरेका विभिन्न कालखण्ड र चरित्रहरु हामीकँहा अझै विद्यमान छन् ।

जंगली युगको अवशेषको रुपमा राउटेहरु अझै छन् । दासयुगको अवशेष खोज्न टाढा जानै पर्दैन, शहर बजारका सम्भ्रान्तहरुको भान्सा र बैठकहरुमा काम गर्ने गरिब, निमुखा बालबालिकाहरूलाई हेरे पुग्छ । बुबा आमालाई पैसा दिएर ती नाबालकहरुलाई घरेलु कामदारका रुपमा काम लगाइएको पाउँछौँ । के यो दासयुगको अवशेष होइन ? जातपात, छुवाछूत, निर्वाहमुखी कृषिमा आधारित अर्थतन्त्र, धार्मिक अन्धविश्वास र जड्याहा राजाको खोजी निसन्देह सामन्ती व्यवस्थाका अवशेषहरु हुन् । हो, इन्कार गर्न सकिन्नँ, पूँजीवादी चरणका प्रारम्भिक चरित्रहरुबाट पनि हाम्रो समाजको एउटा हिस्सा गुज्रेकै छ । तसर्थ यी सबै कालखण्डका अवशेषबाट प्रभावित हाम्रो समाज र यसको चेतनाबाट हाम्रो राजनीति कहाँ मुक्त भएको छ र ? त्यसैले केपीहरु जन्मन्छन् र अझै जन्मने खतरामा हामी बाँचिरहेका छौँ ।

जसरी खेतीपाती, पशुपालन र अन्य व्यवसायबाट उन्नत जीवन बाँच्न सकिन्छ भन्ने तथ्य राउटेहरुले थाहा नपाएझैँ केपीले राष्ट्रका निम्ति र कम्युनिष्ट आन्दोलनका लागि कति बदमासी गरे भन्ने कुरा पत्तै नपाउने र चासै नराख्ने ठूलो जनसंख्याको बीचमा हामी छौँ । त्यति मात्र होइन, मोटरसाइकलमा टन्न तेल हाल्न लगाएर साँझको नास्ता पानीको व्यवस्थामा ढुक्क भइसकेपछि ‘केपी बा आइ लभ यु’ भन्ने अल्लारे युवा र सबै कुरा थाहा पाएर, बुझेर पनि लाभको पदको आशा गरेर चुपचाप बस्ने ‘दश भाइ’ एउटै कोटीका होइनन् र ? यो प्रवृत्ति त सोह्रै आना दासयुुगको चरित्र हो । त्यसबाहेक ‘हाम्रो जात, हाम्रो संस्कार, अरु साना, हामी ठूला’ भन्ने जस्ता प्रवृत्तिहरु सामन्तवादी चरणमा हुर्किएका प्रवृत्तिहरु हुन् ।

यही प्रवृत्ति र मनोविज्ञानको सबैभन्दा बेसी फाइदा केपीले उठाएका छन् । केपी त ठिक होइनन्, पार्टीले राम्रो काम पनि गरेन । तर पनि सधै सूर्यलाई भोट हालियो, अब पनि त्यतै हाल्ने कि ? अथवा, पार्टीले राम्रो काम नगरे पनि ‘पहिला हामी एमाले थियौँ, अब कता जाने हो र ?’ भनेर दोधार र अलमलमा पर्ने अन्धभक्त जमात कम छ भन्न सकिन्न । यही प्रवृत्ति र मनोेविज्ञानको फाइदा उठाउन केपी गौडा कुरेर बसेको कसलाई थाहा छैन र ?

हाम्रो समाजको एउटा हिस्सामा विस्तारै पूँजीवादी चरणको प्रारम्भिक लक्षणहरु देखापरेको छ । त्यसको दुईवटा पक्ष छन्– पहिलो, राष्ट्रिय पूँजीपतिहरु । दोस्रो, दलाल पूँजीपतिहरु । मुलतः राष्ट्रिय पूँजीपतिहरु केपी प्रवृत्तिको विरुद्धमा छन् । तर दलाल पूँजीपतिहरु केपीको पार्टीभित्रै प्रवेश गरेका छन् । संसारभर दलाल पूँजीपतिहरु कम्युनिष्टहरुको घोरविरोधी हुन्छन् । यो उनीहरुको घोषित नीति हो । तर नेपालमा उनीहरुको पार्टी नै एमाले बनेको छ । पार्टी कार्यालय पनि दलाल पूँजीपतिकै घरमा छ । किन यस्तो भयो ? हरेक कम्युनिष्ट कार्यकर्ताले सोच्नुपर्ने कुरा हो । त्यतिमात्र होइन, यतिखेर यती र ओम्नीहरुको खुला वित्तीय सर्मथनको जगमा एमाले उभिएको छ ।

यसरी मानवजातिले समाज विकासका क्रममा भोगेका विभिन्न कालखण्डका थोरै वा धेरै विद्यमान अवशेषहरुको जगमा केपीहरु जन्मन्छन, हुर्कन्छन र फैलिन्छन् । यो समस्या र प्रवृत्तिबाट आन्दोलन र समाजलाई जोगाउने हो भने केपीलाई गाली गरेर पुग्दैन, हुँदैन पनि । त्यो पिछडिएको समाज जुन विभिन्न कालखण्डको अवशेषको जगमा बाँचेको छ, त्यसलाई मूलधारमा ल्याउनै पर्दछ ।

त्यसबाहेक दलाल पूँजीलाई निषेध गर्ने वा कमजोर पार्ने कार्यक्रम पनि जरुरीे हुन्छ । अनिमात्र केशरजंग वा केपीहरुबाट मुलुकलाई मुक्त पार्न सकिन्छ । नेपालको लोकतान्त्रिक आन्दोलन र कम्युनिष्ट आन्दोलनलाई जोगाउनका लागि यो अनिवार्य शर्त हो ।

(केन्द्रीय सदस्य, नेकपा (एकीकृत समाजवादी)

प्रतिक्रिया दिनुहोस्