Logo
Logo

सडक मिचेर बनेका संरचना हटाइँदै



खलङ्गा । सडक मिचेर बनेका भौतिक संरचना हटाउन थालिएको छ ।

सडक डिभिजन कार्यालय जुम्लाले एक महिनादेखि थालेको सडक सुरक्षा अभियान अन्तरर्गत सडक डिभिजन, प्रहरी प्रशासन, चन्दननाथ नगरपालिका र नागरिक समाज एकजुट भएर सडक अतिक्रमण हटाउन थालिएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख राजीव श्रेष्ठले बताए ।

सडक अतिक्रमण हटाउने काम राम्रो भएको नागरिक समाज जुम्ला अध्यक्ष राजबहादुर महतले बताए । पहिलेदेखि नागरिक समाजको अगुवाइमा सडक अतिक्रमण हटाउन बहस हुने गरेको थियो । सडकमा निर्माण भएका घर टहरादेखि अन्य भौतिक संरचना हटाउने काम जनमुखी भएको नागरिक समाजका अध्यक्ष महतले बताए ।

सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख राजीव श्रेष्ठका अनुसार सडकमा जथाभावी रुपमा राखिएका निर्माण सामग्री हटाइएको छ । अतिक्रमण क्षेत्रमा चिन्ह लगाउने काम भएको छ । पहिलो चरणमा बसपार्क क्षेत्रको निर्माण सामग्री हटाइको छ । नापी गरी सकेपछि मात्रै सडक अतिक्रमण गरी बनाएका संचरना भत्काउने तयारी रहेको कार्यालय प्रमुख श्रेष्ठले बताए ।

नगरपालिकाको मापदण्ड अनुसार सडक १५ मिटर चौडा हुनुपर्ने छ । त्यसमा एक मिटर फुटपाथका लागि छुट्याइएको थियो । पछिल्लो समय फुटपाथसमेत अतिक्रमण गरेर घर टहरा, होटल बनेका छन् ।

त्यसैले सडक क्षेत्र पूरै खाली गर्न नापी गरेर आफै व्यवस्थापन गर्न सुचित गरिने र अटेरी गरे एकहप्ताभित्रै डोजर प्रयोग गरेर संरचना भत्काइने सडक डिभिजन जुम्लाका प्रमुख श्रेष्ठले बताए।

सदरमुकाम खलङ्गा बजार मात्रै नभइ तातोपानी, लिताकोट, कुडारी, त्रिवेणी, रारालिहिमा पनि सडक अतिक्रमण बढेकाले हटाउने अभियान रहेको सडक डिभिजनले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसार्ईंले पहुँचवालालाई छोड्ने र सामान्य नागरिकको संरचना भत्काउने नभइ अतिक्रमण भएको सबै क्षेत्र सहमति वा बल प्रयोग गरेर भए पनि हटाइने बताए । सडक सबै नागरिकको साझा सम्पत्ति भएकोले सडक सुरक्षा सबैको दायित्व भएको उनको भनाइ छ ।

अतिक्रमण हटाउन प्रहरी प्रशासन, सडक डिभिजनले मात्र सम्भव नभएकोले आम नागरिकको सहयोग आवश्यक रहेको प्रजिअ प्रसाईंले बताए । मङ्गलबार डोजर प्रयोग गरेर भत्काइने घरको आँगन, पर्खाल तथा निर्माण सामग्री हटाइएकोमा केही स्थानीयवासीले विरोधसमेत गरेका थिए । अतिक्रमण भएको जग्गा छोड्न तयार भएको तर नापी नक्शा गरेर मात्रै छोड्ने स्थानीयवासीको माग रहेको छ ।

सडक डिभिजनले अतिक्रमण भएको क्षेत्रमा चिन्ह लगाएको छ । केही दिनमा खाली नगरे सिधैँ डोजर प्रयोग गरेर भत्काइनेसमेत चेतावनी दिइएको छ । सडक डिभिजन जुम्लाले पटक–पटक सार्वजानिक सूचनामार्फत कर्णाली राजमार्ग अन्तर्गत विभिन्न खण्डमा घर टहरा, घुम्ती पार्किंङ र निर्माण सामग्री हटाउन वा सडक अतिक्रमण नगर्न अनुरोध गरेपनि स्थानीयवासीले अटेरी गदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्