Logo
Logo

समाजवादको नयाँ मोडल दिने अभियानमा अगाडि बढ्न अध्यक्ष दाहालको अपिल


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १५ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले समाजवादको आधार तयार पार्नु प्रमुख जिम्मेवारी भएको बताएका छन् ।
१२औँ गणतन्त्र दिवसका अवसरमा बुधबार शुभकामना दिँदै उनले नेपाली जनताले समाजवादको आधार तयार पार्ने ऐतिहासिक दायित्व कम्युनिष्ट क्रान्तिकारीको काँधमा सुम्पिएकाले बामपन्थी सरकार र नेपाल कम्युनिष्ट पार्टीमार्फत् समृद्धि र समानतासहित समाजवादको आधार तयार पार्नु जिम्मेवारी हुन आएको बताए । उनले इतिहासले सुम्पिएको यस महत्वपूर्ण जिम्मेवारीलाई बहन गर्नु अवसर र चुनौती दुवै रहेको उल्लेख गरे ।
उनले २१औँ शताब्दीमा विश्व मानव जातिलाई समाजवादको नयाँ मोडल दिने अभियानमा दृढतापूर्वक अगाडि बढ्न सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारी र प्रगतिशील शक्तिलाई अपिलसमेत गरे । ‘राजनीतिक परिवर्तनलाई जनताको जीवन बदल्ने शासन पद्धतिका रुपमा स्थापित गर्दै समाजवादको आधार निर्माण गर्ने अभियानमा हातेमालो गर्न सम्पूर्ण नेपालीमा अपिल गर्दछु’, उनले शुभकामना सन्देशमा भनेका छन् ।
अध्यक्ष दाहालले मुलुकमा विद्यमान सामन्ती, निरंकुश तथा एकात्मक सत्ताको अन्त्य र स्रघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना नेपालको राजनीतिक इतिहासमा युगान्तकारी परिवर्तन भएको उल्लेख गर्दै जनताको वीरतापूर्ण संघर्षकै बलमा मुलुकमा प्रगतिशील, गतिशील एवं समाजवादउन्मूख संविधान निर्माण भएको बताए ।
संविधानमा व्यवस्था गरिएको मौलिक हकसम्बन्धी व्यवस्था, संघीय शासन प्रणाली, समावेशी–समानुपातिक प्रणाली, सामाजिक न्यायजस्ता प्रावधानले समाजवादको तयारीमा लाग्न मार्गप्रशस्त गरेको उनले शुभकामना सन्देशमा उल्लेख गरेका छन् । शुभकामना सन्देशमा उनले गणतन्त्र प्राप्तिको आन्दोलनमा आफ्नो जीवन उत्सर्ग गर्नुहुने शहीदप्रति श्रद्धाञ्जलि, बेपत्ताप्रति उच्च सम्मान र सम्पूर्ण घाइतेको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्