Logo
Logo

रामचन्द्र संस्थापन इतरबाट ‘आउट’, शेखर वरिष्ठ नेता !



काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक बसेको छ । बुधबार सिंहदरबार अगाडिको बसेरा होटलमा नेता शेखर कोइरालाले आफूनिकट नेतारकार्यकर्तासँग छलफल गरेका हुन् ।

छलफलमा उपसभापति धनराज गुरूङ, उपसभापतिमा पराजित चन्द्र भण्डारी, महामन्त्री गगन थापा, महामन्त्रीमा पराजित मिनेन्द्र रिजाल, सहमहामन्त्रीहरू बद्री पाण्डे र जीवन परियार बैठकमा सहभागी भएका थिए ।

सहमहामन्त्रीका अन्य उम्मेदवार पनि छलफलमा थिए भने केन्द्रीय सदस्य जितेका र शेखर पक्षबाट केन्द्रीय सदस्य बनेका उम्मेदवारहरू छलफलमा सहभागी भएका थिए ।

संस्थापनइतर समूहबाट रामचन्द्र पौडेल औपचारिक रुपमा ‘आउट’ भएका छन् । छलफलले महाधिवेशनमा पौडेलले देउवालाई सघाएको ठहर गरेको थियो । बैठकले महाधिवेशनको समीक्षाका साथै सभापति शेरबहादुर देउवाको एकलौटी विरुद्ध लड्ने रणनीति तय गर्ने बताइएको छ ।

कांग्रेस विधानमा वरिष्ठ नेता भन्ने पद छैन । तर महाधिवेशनमा सभापतिमा पराजित भएका नेतालाई वरिष्ठ नेता भन्ने परम्परा छ ।
१४ औं महाधिवेशनमा सभापति पदमा देउवासँग शेखर पराजित भएका थिए ।

०७२ सालमा भएको १३ औं महाधिवेशनमा सभापति पदमा देउवासँग रामचन्द्र पौडेल पराजित भएका थिए । त्यसबेला पौडेललाई वरिष्ठ नेता भनिएको थियो । तर १४ औं महाधिवेशनपछि दुई पटक केन्द्रीय समिति बैठक बसे पनि वरिष्ठ नेताबारे छलफल भएको छैन ।

प्रतिक्रिया दिनुहोस्