Logo
Logo
प्रधानमन्त्री देउवाको भारत भ्रमण

प्रधानमन्त्रीले चुच्चे नक्साबारे कुरा उठाउने हिम्मत गर्लान् ?



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आगामी आइतबार चार दिने भारत भ्रमणमा जाँदै छन् । प्रधानमन्त्री देउवा ‘भाइब्रेन्ट गुजरात’ सम्मेलनमा भाग लिन भारत जान लागेका हुन् ।

प्रधानमन्त्री कार्यालय तथा परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्रीको भारत भ्रमणको तयारी भइरहेको छ । प्रधानमन्त्रीको भ्रमण दलमा ३० सदस्य हुने बताइएको छ । भ्रमणका क्रममा कुन–कुन एजेण्डामा छलफल हुने भन्ने विषयमा पनि नेपाल पक्षले तयारी गरिरहेको छ । तर, अहिलेसम्म ठोस निर्णय भने भइसकेको छैन ।

फाइल फाेटाे

भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले पुस २६ गते गुजरातको अहमदाबादमा आयोजना हुने ‘भाइब्रेन्ट गुजरात’ सम्मेलनलाई सम्बोधन गर्नेछन् । उक्त सम्मेलनमा सहभागी हुनकै लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले देउवालाई निम्तो दिएका हुन् । प्रधानमन्त्री देउवाका सबै भेटवार्ता गुजरातमै हुने तय भएको छ ।

भारतले नेपाल–भारत सीमा विवादका विषयमा ठोस छलफल अघि बढाउन आलटाल गरिरहेको बेला प्रधानमन्त्री देउवाको भारत भ्रमणलाई निकै चासोको साथ हेरिएको छ । र, देउवाले ‘चुच्चे नक्सा’बारे कुरा उठाउँछन् भन्ने अपेक्षा रहेको छ । यो भ्रमणलाई सीमा विवाद समाधानका लागि संवाद गर्ने महत्वपूर्ण अवसर पनि मानिएको छ ।

सन् २०१९ को नोभेम्बर पहिलो साता भारतले नेपाली भू–भाग कालापानी, लिपुलेक र लिम्पियाधुरा समावेश गरेर नयाँ नक्सा जारी गरेपछि दुई देशबीच विवाद हुँदै आएको छ । भारतले राजनीतिक नक्सा जारी गरेलगत्तै नेपालले वार्ताको प्रस्ताव गर्दै तीनवटा कुटनीतिक नोट पठाएको थियो । तर, भारतले नेपालको उक्त प्रस्ताव बेवास्ता गर्दै लिपुलेक हुँदै मानसरोवर जाने बाटो बनाउन थाल्यो ।

त्यसपछि नेपाल र भारतबीच झनै विवाद चर्कियो । प्रतिरक्षा गर्दै नेपालले पनि कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका भू–भागसहितको नयाँ नक्सा (चुच्चे नक्सा) जारी गरेर सर्वदलीय सहमतिको आधारमा संविधान संशोधन गर्यो । यसले झनै सीमा विवाद सतहमा आयो । भारतीय पक्षले नेपालको एकल निर्णय भन्दै यसको विरोध गरेपनि वार्तामा बस्ने हिम्मत गरेन ।

नेपाल र भारतबीच एक वर्ष कुनै संवाद भएन । नेपालले वार्ताको लागि कुटनीतिक नोट पठाएपनि कोरोना महामारीको कारण देखाउँदै भारतले टर्यो । २०७७ कात्तिक १९ गते भारतीय सेनापति मनोज मुकुन्द नरवणे तीन दिने नेपाल भ्रमणमा आएपछि संवादको ढोका खुल्यो । तर, अहिलेसम्म पनि उक्त विवादबारे छलफल हुन सकेको छैन ।

त्यसैले भ्रमणमा प्रधानमन्त्री देउवसामू थप जिम्मेवारी आइलागेको छ । हिजो विपक्षीमा हुँदा भारतले गरेको सीमा अतिक्रमणबारे अरूभन्दा एककदम अगाडि देखिएको कांग्रेस अहिले सत्तामा छ । र, सभापति कदेउवा प्रधानमन्त्री छन् । यही मैकामा प्रधानमन्त्री देउवाले मोदीसँग यो मुद्दाबारे कुरा उठाउने हिम्मत जुटाउनु सक्नुपर्ने नेपाल–भारतबारे जानकार बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्