Logo
Logo
३८ क्विन्टल सुन तस्करी प्रकरण

गोरेका भाइ रमेश उप्रेती धरौटीमा रिहा



काठमाडौं । ३८ क्विन्टल सुन तस्करी प्रकरणका मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’का भाइ रमेश उप्रेती धरौटीमा रिहा भएका छन् । रमेश मोरङ जिल्ला अदालतबाट बिहीबार दुई लाख रुपैया धरौटीमा रिहा भएका हुन् ।

थुनछेक बहसपछि लम्सालको इजलासले दुई लाख धरौटीमा छाड्ने आदेश दिएको मोरङ अदालतका सूचना अधिकारी हेम बहादुर बुढाथोकीले जानकारी दिए ।

सुनतस्करी मुद्दाका फरार आरोपी रमेश दुबईमा लुकेर बस्दै आएका थिए । अदालतले दाजु गोरेबाहेक अन्य सबैलाई सफाई दिएपछि रमेश मङ्गलबार नेपाल आउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । प्रहरीले बुधबार अदालतमा उपस्थित गराएको थियो ।

अदालतले सुन तस्करी प्रकरणसँगै जोडिएका सनम शाक्य हत्याको मुद्दामा आठ जनालाई भने दोषी ठहर गरेको थियो । मोरङ उर्लाबारीका गोरे भनिने चूडामणि उप्रेती सहित टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, कृष्ण भनिने नरेन्द्र कार्की र भोजे मामा भनिने भोजराज भण्डारीलाई ज्यान मुद्दामा जन्मकैदको सजाय सुनाएको थियो । भारतीय नागरिक राजन कुमारलाई तीन वर्ष र माधव भनिने मदनप्रसाद घिमिरेलाई ६ महिना कैद सजायको फैसला भएको थियो ।

संगठित सुनतस्करी आरोपका ९ जना प्रहरीहरु पुर्व डिआईजी गोबिन्दप्रसाद निरौला, एसएसपी श्यामबहादुर खत्री, तात्कालिन एसएसपी दिवेश लोहनी, एसपी विकास राज खनाल, डिएसपी सज्यबहादुर राउत, प्रजित केसी, सई बालकृष्ण सञ्जेल तथा प्रहरी हवल्दारहरु बिष्णुबहादुर खडका र अम्बरबहादुर थापा सबैले आरोपबाट सफाई पाएका थिए।

प्रतिक्रिया दिनुहोस्