Logo
Logo

अमेरिकामा राजेशपायललाई प्रहरीद्वारा सुरक्षा



काठमाडौं । नेपाली सांगीतिक क्षेत्रका चर्चित गायक राजेशपायल राईलाई अमेरिकी सरकारले सेक्यूरिटी दिएको छ ।

अंग्रेजी नयाँ वर्षको अवसरमा सांगीतिक कार्यक्रम प्रस्तुती गर्न अमेरिकामा पुगेका राजेशपायललाई न्यूयोर्कको ‘डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्यूरिटी पुलिस’ले सुरक्षा दिएको हो । जुन अमेरिकाको विशेष सेक्युरिटी फोर्स मानिन्छ ।

‘राई इज किङ’का रुपमा समेत चर्चित राजेशपायल न्यूयोर्कबाट अर्को सहर रोचेस्टरको एयरपोर्टमा ओर्लँदा ‘डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्यूरिटी’ फोर्सका दुई जना पुलिस उनको सुरक्षामा खटिए ।

यसरी अमेरिकी सरकारबाटै सेक्यूरिटी पाउने राजेशपायल राई पहिलो नेपाली कलाकार हुन् । यसअघि नेपाली कलाकारलाई अमेरिकी सरकारले सुरक्षा दिएको रेकर्ड छैन ।

आफू नेपाली कलाकार भएर पनि अमेरिकी सरकारले सुरक्षा दिएकामा राजेशपायलले खुसी व्यक्त गरे । उनले भने, ‘यो मेरो लागिमात्र नभएर नेपाल र सम्पूर्ण नेपालीका लागि खुसीको कुरा हो ।’

सुरक्षाको आवश्यकता नभएपनि सरकारले आफ्नो लागि सुरक्षाकर्मी खटाएर अमेरिकाले कलाकारको सम्मान गरेको राजेशपायलले बताए । उनले भने, ‘म अमेरिकी नागरिक होइन, तर उहाँहरुले म नेपाली भएर पनि माया गरिदिनुभयो । सम्मान गर्नुभयो । धेरै खुसी छु । अमेरिकी सरकारलाई धेरै धेरै धन्यवाद ।’

राजेशपायल राई ८ जनवरीमा हुने लाइभ कन्सर्टमा सहभागी हुन रोचेस्टर पुगेका हुन् । न्यूयोर्कबाट जहाजमा झण्डै दुई घण्टाको दूरीमा रहेको रोचेस्टर सहरमा उनी ‘राजेशपायल राई लाइभ इन कन्सर्ट’मा जनवरी ८ को साँझ प्रस्तुत हुँदैछन् । उक्त कार्यक्रमको संयोजत्व निमा, विजय र आकाश क्षेत्रीले गरेका हुन् ।

अमेरिकाको विभिन्न सहरमा कार्यक्रम प्रस्तुत गरेर उनी यही १७ जनवरीमा नेपाल फर्कँदैछन् । नेपालको धरान, मिक्लाजुङलगायतका स्थानमा आफ्नो कन्सर्ट भएकाले अमेरिका कतिपय प्रोगाम छाडेर आउन लागेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्