इनरुवा । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आउने निर्वाचनमा कांग्रेसको कुनै पनि राजनीतिक दलसँग गठबन्धन नहुने बताएका छन् ।
शनिबार यहाँ सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले अब हुने स्थानीय, प्रदेश र सङ्घीय निर्वाचनमा कुनै पनि राजनीतिक दलसँग कांग्रेसको गठबन्धन नहुने स्पष्ट पारेका हुन् ।

नेता कोइरालाले भने, ‘अब कांग्रेस एक्लै चुनाव लड्छ । कांग्रेसका नेता तथा कार्यकर्ताले अबको निर्वाचनमा आफ्नै पार्टीको चुनाव चिन्ह रुखबाहेक अन्य चिन्हमा मत नहाल्ने आशय व्यक्त गरिसकेको छ । त्यसैले आगामी निर्वाचनमा कांग्रेसले एक्लै चुनाव लडेर पनि बहुमत ल्याउँछ ।’
उनले आउने निर्वाचनमा १५ देखि २० लाख मानिसलाई पार्टीमा आबद्ध गराउन सक्यौँ भने निर्वाचन जित्नेमा कुनै दुविधा नरहेको बताए । पार्टीका सभापति तथा प्रधानमन्त्रीले आफूखुसी गर्नखोजे पार्टीले चुनावमा हारको सामना गर्नुपर्ने अवस्था आउनसक्ने नेता कोइरालाले बताए ।
उनले सभापतिले ‘म सबैको हुँ’ भने पनि विश्वासको वातावरण बनिनसकेको दाबी गरे । उनले भने, ‘सभापतिले म सबैको सभापति हुँ भन्नुभएको छ, त्यो देखाउनु प¥र्यो । देखिने गरी हुनुप¥र्यो, न्यायसङ्गत हुनुप¥र्यो ।’
आम नेपाली जनतामा एमसीसीका बारे फैलिएको त्रास चिर्न संसद्मार्फत छलफल गरेर जे हुन्छ त्यो जानकारी दिनु आवश्यक रहेको बताउँदै उनले व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका अस्तब्यस्त रहेको उल्लेख गरे ।














