Logo
Logo

मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीलाई उत्कृष्ट अवार्ड



काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडकी सिइओ अनुपमा खुञ्जेली उत्कृष्ट महिला अवार्ड २०२१ बाट सम्मानित भएकी छन् । काठमाडौंमा विशेष समारोहका बीच आयोजित प्रथम ‘एचआरएम नेपाल अवार्ड फर कर्पाेरेट एक्सिलेन्स २०२१’ मा सिइओ खुञ्जेलीलाई ‘बेस्ट फिमेल अवार्ड २०२१’ प्रदान गरिएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बैंकिङ क्षेत्रमा उत्कृष्ट कार्य गरेवापत सिइओ खुञ्जेलीलाई यो अवार्ड प्रदान गरिएको हो ।

अवार्ड प्राप्त गरेपछि खुसी व्यक्त गर्दै उनले आयोजकहरुलाई धन्यवाद दिइन् । अवार्डबाट आफूले थप जिम्मेवारीबोध गरेको बताउँदै सिइओ खुञ्जेलीले यसको श्रेय मेगा बैंकका संस्थापक, सर्वसाधारण शेयरधनी, ग्राहकवर्ग, कर्मचारी एवं समस्त सरोकारवालामा जाने बताइन् ।

सिइओ खुञ्जेली नेपालको ‘क’ वर्गको बाणिज्य बैंकको प्रथम महिला सिइओ हुन् । उनकै नेतृत्वमा मेगा बैंकले प्रतिष्ठित ‘बैंक अफ दि एयर अवार्ड २०१९’ समेत प्राप्त गर्न सफल भएको थियो । उनी स्थापनाकालदेखि नै मेगा बैंकमा कार्यरत छिन् । स्थापनाको एक दशकमै मेगा बैंक अहिले नेपालकै एक अग्रणी बैंकका रुपमा स्थापित छ । सन् १९९१ मा तत्कालीन ग्रिनलेज बैंक अर्थात् अहिलेको स्ट्याण्डर्ड चार्टर्ड बैंकबाट करिअर गरेकी खुञ्जेलीसँग ३० वर्षको बैंकिङ क्षेत्रको अनुभव छ ।

प्रतिक्रिया दिनुहोस्