Logo
Logo
राष्ट्रियसभा सदस्यको निर्वाचन

सुदूरपश्चिममा सत्तारुढ गठबन्धन दोब्बरभन्दा धेरै मतले बिजयी हुँदै



काठमाडौं । माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनमा सुदुरपश्चिम प्रदेशमा तीन सिटका लागि ६ जना प्रतिस्पर्धा गर्दै छन् । महिला, दलित र अन्य गरी तीन समूहबाट एक–एक जना प्रतिस्पर्धामा रहेका हुन् ।

तीन वटै समूहमा सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी एमालेका उम्मेदवारबीच प्रतिपस्र्धा हुने देखिन्छ । मतभारको आधारमा हेर्ने हो भने सुदूरपश्चिममा पनि सत्तारुढ गठबन्धनका उम्मेदवार नै बिजयी हुने निश्चित छ ।

निर्वाचनमा सत्तारुढ पाँच दलीय गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले सुदुरपश्चिम प्रदेश साझा उम्मेदवारी दर्ता गराएका छन् ।

एमालेको पराजय निश्चित रहेको भए पनि उसले तीनै समूहमा उम्मेदवारी दर्ता गराएको छ । सुदुरपश्चिम प्रदेशमा प्रमुख प्रतिपक्षी दल एमाले र लोकतान्त्रिक समाजवादी पार्टी मिल्दासमेत जित सम्भव छैन ।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता भएर उम्मेदवारहरु मतदातासँग मत माग्न व्यस्त छन् । निर्वाचन आयोगका अनुसार सात वटै प्रदेशबाट १९ पदका लागि आयोगको कार्यालयमा ४३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ गठबन्धनमा रहेका पाँच दल एकजुट भएपछि प्रमुख प्रतिपक्षी दल एमालेलाई चुनौती थपिएको छ ।

सुदूरपश्चिम प्रदेशमा तीन सिटका लागि ६ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । महिलातर्फ एक सिटका लागि सत्तारुढ गठबन्धनबाट एकीकृत समाजवादीका मदनकुमारी शाह (गरिमा) र प्रतिपक्षी दल एमालेका सन्तोषीकुमारी शर्मा (थापा) प्रतिस्पर्धी हुन् ।

दलिततर्फ एक सिटका लागि दुई जना प्रतिस्पर्धामा छन् । सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रका जगतबहादुर पार्की र प्रतिपक्षी दल एमालेबाट नरेशकुमार विश्वकर्मा प्रतिस्पर्धी हुन् ।

यस्तै अन्य समूहतर्फ एक सिटका लागि दुई जना प्रतिपस्पर्धामा रहेका छन् । सत्तारुढ गठबन्धनबाट कांग्रेसका नारायणदत मिश्र र प्रतिपक्षी एमालेबाट डिल्लाराज भट्ट प्रतिस्पर्धामा रहेको निर्वाचन आयोगले जानकारी दिएको छ ।

कसको मतभार कति ?
सुदूरपश्चिम प्रदेशमा सांसदको संख्या ५२ र प्रमुख, उपप्रमुखको संख्या १ सय ७५ हो । एक सांसदको मतभार ४८, प्रमुख र उपप्रमुखको मतभार १८–१८ हो । सुदुरपश्चिम प्रदेशका ५२ सांसद र १ सय ५७ प्रमुख, उपप्रमुखको जम्मा मतभार ५६ सय ४६ हुन्छ ।

सुदूरपश्चिम प्रदेशमा सत्तारुढ कांग्रेसको सांसद संख्या १२ र प्रमुख, उपप्रमुखको संख्या ७४ छ । यस आधारमा कांग्रेसको जम्मा मतभार १९ सय ८ हुन्छ ।

यस्तै माओवादी केन्द्रको सांसद संख्या १३ र प्रमुख, उपप्रमुखको संख्या १७ छ । माओवादी केन्द्रको सांसद र प्रमुख, उपप्रमुखको मतभार जम्मा ९ सय ३० हुन्छ ।

एकीकृत समाजवादीको सांसद संख्या १४ र प्रमुख, उपप्रमुखको संख्या १३ छ । सुदुरपश्चिममा एकीकृत समाजवादीको मतभार जम्मा ९ सय ६ हुन्छ ।

यस्तै सत्तारुढ गठबन्धनमा रहेको जसपाको सांसद संख्या १ हो । प्रमुख, उपप्रमुखको संख्या शुन्य छ । यस आधारमा जसपाको मतभार ४८ हुन्छ । सुदुरपश्चिम प्रदेशमा सत्तारुढ गठबन्धनभित्र रहको राष्ट्रिय जनमोर्चाको सांसद र प्रमुख, उपप्रमुख शुन्य छ ।

सुदुरपश्चिम प्रदेशमा प्रमुख प्रतिपक्षी दल एमालेको सांसद संख्या ११ छ भने प्रमुख, उपप्रमुखको संख्या ७१ छ । यस आधारमा एमालेको भतभार जम्मा १८ सय ६ हुन्छ । सुदुरपश्चिम प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को सांसद संख्या १ छ । प्रमुख उपप्रमुखको संख्या शुन्य छ । यस आधारमा लोसपाको मतभार ४८ मात्रै हुन्छ ।

सुदुरपश्चिम प्रदेशमा सत्तारुढ गठबन्धनको मतभार ३८ सय ४० छ । यहाँ एमाले र लोसपा मिल्दा उनीहरुको मतभार १८ सय ५४ हुन्छ । यस आधारमा सत्तारुढ गठबन्धनका उम्मेदवार १९ सय ८६ मतभार ल्याएर बिजयी हुने देखिन्छ ।

सुदुरपश्चिम प्रदेश

राष्ट्रियसभा निर्वाचन सुदूरपश्चिम प्रदेशको मतभार
कांग्रेस१९ सय ८
एमाले१८ सय ६
माओवादी९ सय ३०
एकीकृत समाजवादी९ सय ६
जसपा४८
लोसपा४८
जम्मा मतभार५६ सय ४६
सत्तारुढ गठबन्धन३८ सय ४०
गठबन्धन इतर१८ सय ५४

प्रतिक्रिया दिनुहोस्