माघ १५ सम्म विद्यालय बन्द गर्ने सीसीएमसीसीको निर्णय « Drishti News – Nepalese News Portal
Logo

माघ १५ सम्म विद्यालय बन्द गर्ने सीसीएमसीसीको निर्णय


दृष्टि संवाददाता


कोरोना संक्रमणको लहर देखिन थालेपछि कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले आगामी माघ १५ गतेसम्म सबै विद्यालय बन्द गर्न सिफारिस गरेको छ ।

कोरोनाको नयाँ प्रजाति आमिक्रोनको संक्रमण विस्तार भएको तथा देशव्यापी रुपमा संमितको संख्या बढोत्तरी भएपछि सीसीएमसीका तर्फबाट त्यस्तो सिफारिस भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज मात्रै देशभर एक हजार १७६ जनामा कोरोना संक्रमण भएको छ । संक्रमणको मात्रामा पछिल्ला दिनमा व्यापक वृद्धि भएको छ । कम्तीमा पनि १५ दिन विद्यालयलगायत बढी भीडभाड हुने सार्वजनिक स्थानलाई बन्द गर्न सिफारिस गरिएको छ ।

कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रका सहसचिव एवं प्रवक्ता सुनिता नेपालका अनुसार कोरानाको बढ्दो जोखिमलाई ख्याल गर्दै तत्कालका लागि आगामी माघ १५ सम्म विद्यालय बन्द गर्न सिफारिस गरिएको छ ।

सीसीएमसीले गरेको सिफारिसलाई कार्यान्वयनका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सिफारिस गरेको छ । केही विद्यालयले हिउँदे बिदा गरेका छन् । केही विद्यालय तथा कलेजमा परीक्षा जारी छ । परीक्षा जारी रहेका कलेजलाई स्वास्थ्य मापदण्ड अपनाउन भनिएको छ । हिउँदे बिदा गरेका विद्यालयलाई भने आगामी माघ १५ सम्म लैजान भनिएको छ ।

आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठको उपस्थिति थियो । बैठकले बढी भीडभाड हुने सिनेमा घर, पार्क, सार्वजनिक स्थानमा जाँदा अनिवार्यरूपमा खोप लगाएको प्रमाणपत्र देखाउनुपर्ने व्यवस्था लागू गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको छ ।

राजनीतिक दललाई भीडभाड हुने कुनै पनि भेला तथा समारोहको आयोजना नगर्न र महोत्सवलगायत कार्यक्रम नगर्न बैठकले आह्वान गरेको छ । समितिले २५ जनाभन्दा बढी सहभागी हुने गरी कुनै पनि कार्यक्रमको आयोजना नगर्न आग्रह गरेको छ । बैठकले जिल्लाको अवस्था हेरे थप कदम चाल्ने जिम्मा प्रमुख जिल्ला अधिकारीलाई दिएको छ ।

प्रतिक्रिया दिनुहोस्