Logo
Logo
राष्ट्रियसभा सदस्यको निर्वाचन

गण्डकीको सबैभन्दा ठूलो दल एमाले ‘क्लिन स्वीप’ हुँदै



काठमाडौं । आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि गण्डकी प्रदेशमा ३ सिटका लागि ६ जनाबीच प्रतिस्पर्धा हुँदैछ ।

सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल एमालेका उम्मेदवार प्रतिस्पर्धामा छन् । तर मतभारको आधारमा सत्तारुढ गठबन्धनको जीत सुनिश्चित देखिन्छ ।

निर्वाचनमा सत्तारुढ पाँच दलीय गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाबाट साझा उम्मेदवार प्रतिस्पर्धामा छन् ।

एमालेले छुटै उम्मेदवारी दर्ता गराएको छ । तर, गठबन्धन इतरका सबै दल मिल्दा पनि एमाले पराजित हुने देखिन्छ ।

गण्डकी प्रदेशमा महिला, दलित र अन्य समूह गरी ३ सिटका लागि ६ जना प्रतिस्पर्धामा छन् । तीनवटै समूहबाट एक–एक जना निर्वाचित हुनेछन् । तीनवटै समूहमा दुई–दुई जनाको उम्मेदवारी परेको छ ।

महिलातर्फको एक सिटका लागि सत्तारुढ गठबन्धनबाट कांग्रेसका कमला पन्त र पमुख प्रतिपक्षी एमालेका लीला पोखरेल थनेतले उम्मेदवारी दर्ता गराएका छन् ।

दलिततर्फको एक सिटका लागि सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रका भुवनबहादुर सुनार र एमालेका अर्जुनकुमार सुनामले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै अन्य समूहतर्फको एक सिटका लागि सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रका सुरेश आले मगर र एमालेका पुण्यप्रसाद पौड्यालले उम्मेदवारी दर्ता गराएका छन् ।

कसको मतभार कति ?
गण्डकी प्रदेशमा ५९ जना प्रदेशसभा सदस्य छन् । यस्तै स्थानीय तहका प्रमुख, उपप्रमुख १ सय ७० जना हुन् । यिनीहरुले नै राष्ट्रियसभा सदस्यका उम्मेदवारलाई मतदान गर्ने कानुनी व्यवस्था रहेको छ ।

प्रदेशसभा सदस्यको मतभार ४८ र स्थायीतहका प्रमुख, उपप्रमुखको मतभार १८ हो । गण्डकी प्रदेशमा जम्मा मतभार ५८ सय ९२ रहेको छ । प्रदेशसभाका सदस्यहरुको २८ सय ३२ र स्थानीय तहका प्रमुख, उपप्रमुखहरुको मतभार ३ हजार ६० रहेको छ ।

सत्तारुढ गठबन्धनमा रहेको कांग्रेसको गण्डकी प्रदेशमा सांसद संख्या १५ र स्थायी तहको प्रमुख, उपप्रमुखको संख्या ८३ हो । जसको मतभार २२ सय १४ हुन्छ ।

माओवादी केन्द्रको सांसद संख्या १२ र स्थानीय तहको प्रमुख, उपप्रमुखको संख्या १२ रहेको छ । जसको मतभार ७ सय ९२ हुन्छ ।

जसपाको सांसद संख्या २ मात्रै रहेको छ । गण्डकी प्रदेशमा जसपाका स्थानीय तहको प्रमुख र उपप्रमुख छैनन् । दुई प्रदेशसभा सदस्यको मतभार ९६ हो ।

सत्तारुढ गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चाको गण्डकी प्रदेशमा सांसद संख्या २ र प्रमुख, उपप्रमुखको संख्या ३ रहेको छ । जनमोर्चाको मतभार १ सय ५० हुन्छ ।

गण्डकीमा एकीकृत समाजवादीको प्रदेशमा सांसद र प्रमुख, उपप्रमुखको संख्या शून्य रहेको छ ।

प्रमुख प्रतिपक्षी दल एमालेको गण्डकी प्रदेशमा सांसदको संख्या २७ र स्थानीय तहको प्रमुख, उपप्रमुखको संख्या ७० रहेको छ । यसआधारमा एमालेको मतभार २५ सय ५६ हुन्छ ।

यस्तै राप्रपाको सांसद संख्या शून्य रहेको गण्डकी प्रदेशमा प्रमुख र उपप्रमुखको संख्या २ रहेको छ । राप्रपाको मतभार ३७ हुन्छ । गण्डकीमा एक स्वतन्त्र सांसद छन् । जसको मतभार ४८ हुन्छ ।

गण्डकी प्रदेशमा सत्तारुढ गठबन्धनको मतभार ३२ सय ४९ हुन्छ । सत्तारुढ दलबाहेकका दलहरुले समेत गठबन्धन गर्दा उनीहरुको मतभार २६ सय ४३ मात्रै हुन्छ । गण्डकी प्रदेशमा अरु दलभन्दा बलियो रहेको एमालेले सत्तारुढ गठबन्धनसँग एक्लै प्रतिपस्पर्धा गर्न सक्ने अवस्था छैन् ।

राप्रपा र स्वतन्त्र सांसद समेतले एमालेलाई समर्थन गर्दा पनि सत्तारुढ गठबन्धनका उम्मेदवारहरु सहजै विजयी हासिल गर्न सक्छन् । अरु प्रदेश जस्तै गण्डकी प्रदेशमा समेत सत्तारुढ गठबन्धनका उम्मेदवारहरु विजयी हुने निश्चित रहेको मतभारले देखाउँछ ।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएर उम्मेदवार मत माग्नमा व्यस्त छन् । निर्वाचन आयोगका अनुसार सातै प्रदेशमा विभिन्न समूह तर्फको १९ पदका लागि आयोगको कार्यालयमा ४३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनमा रहेका पाँच दल एक भएपछि प्रमुख प्रतिपक्षी दल एमालेलाई चुनौती थपिएको छ ।

प्रतिक्रिया दिनुहोस्