काठमाडौं । नेपाल राष्ट्र बैैंकको नियमन कमजोर हुँदा बजारमा डलरको अवैध कारोबार बढेको छ । राष्ट्र बैंकले अनुमति दिएका मनि चेन्जर काउन्टरबाटै डलरको तस्करी भइरहेको छ ।
मुस्ताङको कोरला नाका हुँदै नेपालबाट चीनमा संगठित ढंगले अमेरिकी डलर तस्करी हुँदै आएको घटनाले यसलाई प्रष्ट पारेको छ । पोखरामा पक्राउ परेका एक युवकमाथि अनुसन्धान हुँदा नेपालबाट ठूलो मात्रामा चीनतर्फ डलर तस्करी भइरहेको पत्ता लागेको हो ।

गत ११ मंसिरमा प्रहरीले पोखराबाट मुस्ताङको लो–घेकर दामोदर कुण्ड गाँउपालिका– १ स्थायी घर भएका ४२ वर्षीय छिरिङ डुन्डु गुरुङलाई पक्राउ गरेको थियो । उनको साथबाट एक लाख ९४ हजार दुई सय डलर बरामद भएको थियो । सो डलर मुस्ताङ हुँदै चीन तस्करी गर्न पोखरा लगिएको राजस्व अनुसन्धान विभागको अनुसन्धानमा खुलेको छ । पक्राउ परेका गुरुङले त्यसअघि पनि पटक–पटक त्यसरी डलर तस्करी गरेका थिए । यसमा ठूलो चिनियाँ गिरोहको संलग्नता देखिएपछि गिरोहसम्म अनुसन्धान पुगन सकेको छैन ।
‘हाम्रो अनुसन्धानमा मुस्ताङ हुँदै अवैध डलर चीन जाने गरेको देखिन्छ,’ राजस्व अनुसन्धान विभागका उपन्यायाधिवक्ता अर्जुन कोइरालाले भने, ‘निकै चलाखीसाथ तस्करी हुने भएकाले हामीले गिरोहका थप व्यक्ति पक्राउ गर्न सकेनौँ ।’ कोइरालाका अनुसार पक्राउ परेका गुरुङले सो डलर आफूलाई बौद्धस्थित अकुपेमा होटेलमा दिइएको थियो । विभागले होटेलमा पुगेर अनुसन्धान गर्दा होटेलको सिसिक्यामेराको भिडियो डिलिट भइसकेको थियो । ‘उनले भनेको भन्दा अर्कै व्यक्ति होटेलको सञ्चालक भएको देखियो,’ कोइराला भन्छन्, ‘सिसिक्यामेराको फुटेज पनि नभएकाले उनलाई डलर दिने व्यक्ति पत्ता लगाउन सकेनौँ ।’
आफूलाई ५० हजार रुपैयाँ दिने सर्तमा सो डलर पोखरा लगेको उनको भनाइ छ । त्यसरी तस्करी गर्दा मोबाइलको समेत प्रयोग नभएकाले गिरोह पत्ता लगाउन समस्या भएको कोइराला बताउँछन् । पोखरामा एक व्यक्ति लिन आउने र उनलाई दिन भनिएको पक्राउ परेका अभियुक्तले बयान दिएका छन् । विभागले गुरुङलाई मात्र प्रतिवादी बनाई उच्च अदालत पाटनमा मुद्दा दायर गरिसकेको छ । अदालतले उनलाई दुई करोड धरौटी माग भएकामा धरौटी बुझाउन नसक्दा उनी जेल चलान भएका छन् । गुरुङ तस्करीका भरिया मात्र हुन् । यसमा पनि भरियालाई जेल हालेर तस्करलाई उन्मुक्ति दिने खेल भएको छ ।
प्रहरी र राजस्व अनुसन्धान विभागको अनुसन्धानले गुरुङले धेरैपटक कोरला नाका हुँदै डलर तस्करी गरेको देखाउँछ । मुस्ताङको व्यक्ति भएकाले उनलाई नै भरियाका रूपमा प्रयोग गर्दा सहज हुने भएकाले चिनियाँ समूहले उनलाई ओसारपसारमा प्रत्यक्ष रूपमा प्रयोग गरी डलर तस्करी गरेको हो । त्यति धेरै डलर उनीहरूले काठमाडौंमा कसरी संकलन गरे भन्ने पत्ता लाग्न सकेको छैन । एक प्रहरी अधिकारीका अनुसार चलेको रेटभन्दा महँगो तिरेर उनीहरूले डलर साट्ने गरेका छन् । यसमा विगतमा ठमेल, वसन्तपुर क्षेत्रमा मनी एक्सचेन्ज काउन्टरको समेत संलग्नता देखिएको थियो । त्यस्ता मनी एक्सचेन्जमाथि नेपाल राष्ट्र बैंकबाट अनुगमन हुन नसक्दा विदेशी मुद्राको तस्करी भइरहेको हो । अवैध कारोबार भएको पत्ता लाग्दा पनि राष्ट्र बैंककले सामान्य जरिवाना गरेर उन्मुक्ति दिने गरेको छ ।
सुन तस्करी तथा हुन्डी कारोबारको हिसाब मिलाउन यसरी नेपालबाट चीनमा ठूलो मात्रामा डलर तस्करी भइरहेको सूचना प्राप्त भएको एक प्रहरी अधिकारी बताउँछन् । विगतमा पनि चिनियाँ नागरिकहरू डलरसहित पटकपटक पक्राउ परेका छन् । यसअघि रसुवा तथा तातोपानी नाका हुँदै तस्करी गर्ने क्रममा डलर बरामद भएको थियो । ती नाकामा चेकिङमा कडाइ भएपछि कोरला नाकाबाट तस्करी हुन थालेको पछिल्लो घटनाले देखाएको छ । विदेशी मुद्रा जम्मा गरेर आफ्नो अर्थतन्त्र बलियो बनाउने चिनियाँ नीतिअनुसार नेपालबाट चीनमा डलर तस्करी भइरहेको हो ।












