Logo
Logo

नापी विभागमा निकम्मा महानिर्देशक



काठमाडौं । नापी कार्यालय र मालपोत कार्यालय जनसम्पर्क हुने कार्यालय हुन् । जग्गा प्रशासनसँग सम्बन्धित कार्य गर्ने नापी र मालपोत कार्यालयका प्रमुखहरुको जिम्मेवारी बढी संवेदनशील हुने गर्दछ । सार्वजनिक जग्गा अतिक्रमण रोक्ने, नापनक्सामा त्रुटि भए नभएको हेर्ने, सेवाग्रहीको मर्का बुझ्ने जस्ता काम कार्यालय प्रमुखकै हो । तर, नापी विभाग अन्तर्गत काठमाडौं उपत्यकाका कार्यालय प्रमुखहरुले कुनै पनि कामको जवाफदेहिता नलिने गरेका गुनासा कर्मचारीहरुले गर्दैआएका छन् । नापी बिभागका महानिर्देशक प्रकाश जोशीले कर्मचारीहरुको गुनासो सुनुवाई गरी कार्यालय प्रमुखलाई जिम्मेवार बनाउनेतर्फ चासो नै दिएका छैनन् ।

विभागका महानिर्देशकले काठमाडौं उपत्यकाका नापी कार्यालयको अनुगमन समेत गर्ने गरेका छैनन् । काठमाडौं उपत्यकामा जग्गाको मूल्य आकाशिएको छ । सार्वजनिक जग्गा अतिक्रमण बढ्दो छ । जग्गाधनीलाई थाहै नदिई जग्गा बिक्री हुने गरेका घटना पनि आइरहेका छन् । यस्ता बेथितिपूर्ण काम हुनुका पछाडि कार्यालय प्रमुखले कुनै पनि फाइलमा सही नगर्ने, नहेर्ने र जिम्मेवारीबाट भाग्नाले भएको महानिर्देशक जोशीलाई थाहा छ ।

विभागका महानिर्देशक प्रकाश जोशी, ललितपुर नापीका प्रमुख दामोदर वाग्ले र भक्तपुर नापीका प्रमुख मगनु दत्त

तर पनि उपत्यकाका नापी कार्यालयका प्रम्ुखलाई जिम्मेवार बनाउने दायित्व विभागले पूरा गर्न सकेको छैन । कार्यालय प्रमुख गैरजिम्मेवार बन्दा भ्रष्टाचार मौलाएको छ । काठमाडौं उपत्यकाका नापी कार्यालयका प्रमुखहरु जिम्मेवार नभएको गुनासो पटक पटक समाचारमा आइरहेको भए पनि महानिर्देशक कानमा तेल हालेर बसेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पनि मौन छ ।

काठमाडौं उपत्यकाका नापी कार्यालयहरु चावहिल, डिल्लीबजार, कलंकी, ललितपुर, भक्तपुर, साँखु, मनमैजु, टोखाका कार्यालय प्रमुखहरु अधिकांंश दिनभर कार्यालयमै बस्दैनन् । कार्यालय प्रमुखले सेवाग्राहीका कित्ताकाट, मिसिलमा दस्तखत नै नगरी मातहतका नापी अधिकृत वा सर्भेक्षकलाई लगाउने गरेका छन् । कार्यालय प्रमुखहरु दिनभर घुम्ने, साँझ घुसको हिसाबकिताव मातहतका कर्मचारीसँग फाइल गनेर माग्ने गर्दछन् ।

कार्यालय प्रमुखको यो बेथितिले गर्दा ललितपुर नापी कार्यालयबाट सरुवा भएका र अवकाश पाएकाहरु पनि त्यहीँ काम गरिरहेका छन् । ललितपुर नापी कार्यालयबाट विभागमा सरुवा भएका सर्भेक्षक सन्तोष झा, २ बर्षअघि ललितपुर नापीबाटै अवकाश भइसकेका सर्भेक्षक नवल राय बिहान १० बजे मोटरसाइकलमा आउने र हेल्मेट कार्यालयको दराजमाथि राखी दिनभर लेखापढी ब्यवसायीको दलाल भएर काम गर्ने गरेको आरोप छ । ललितपुर नापी कार्यालय प्रमुख दामोदर वाग्ले दिनभर कार्यालयमा नबस्ने भएकाले त्यहाँ उनीहरुलाई जे गर्न पनि छुट छ । वाग्ले दिनभर कार्यालयमा नबस्ने, बसिहाले कुनै फाइलमा कलम नचोप्ने र हरेक बेल्ुका गोटा गन्ती गर्दै घुस लिने गर्दछन् । उनले सरुवा भएका र अवकाश पाएका कर्मचारीलाई कार्यालयका सबै कुरा हेर्न र काम गर्नका लागि छुट दिने गरेका छन् । सन्तोष झा विभागमा हाजिर गर्ने र ललितपुरमा जाने, लेखापढी ब्यवसायीको अफिसमा बसी कित्ताकाट गर्ने, सरकारी जग्गा दर्ताको सेटिङ गर्ने काम गर्दछन् ।

भक्तपुर नापीका प्रमुख मग्नु दत्तले कमाउधन्दा संचालन गर्ने २ कर्मचारीलाई सरुवा भएर गए पनि त्यहीँ राखी निरन्तर सेटिङमा परिचालन गरेका छन् । मग्नु दत्त पनि प्रायः कार्यालय नबस्ने, बाहिरै घुम्ने र बेलुका गएर फाइल गन्दै दिनमा २ लाख घुस कर्मचारीसँग माग्ने, नदिए हप्कीदप्कीमै उत्रने गरेका छन् । भारतको सिक्किमको खुल्ला विश्वविद्यालयबाट किनेर ल्याएको प्रमाणपत्रका आधारमा प्रमुख नापी अधिकृत बढुवा भएका मग्नु दत्तले यसअघि डिल्लीबजार नापीमा हुँदा थुप्रै सरकारी जग्गा गैरकानुनी रुपमा दर्ता गरेकोबारेमा खोजीनीति भइरहेको छ । उनी सधैं काठमाडौका नापी कार्यालय चाहर्दै चितवनको प्रमुख भए । २ बर्षदेखि पुनः भक्तपुरको प्रमुख भएका उनी जग्गा हेराफेरी गरी करोडौंपति हुन सफल मानिन्छन् ।

काठमाडौं उपत्यकाका नापी कार्यालयहरु चावहिल, डिल्लीबजार, कलंकी, ललितपुर, भक्तपुर, साँखु, मनमैजु, टोखाका कार्यालय प्रमुखहरु अधिकांंश दिनभर कार्यालयमै बस्दैनन् । कार्यालय प्रमुखले सेवाग्राहीका कित्ताकाट, मिसिलमा दस्तखत नै नगरी मातहतका नापी अधिकृत वा सर्भेक्षकलाई लगाउने गरेका छन् । कार्यालय प्रमुखहरु दिनभर घुम्ने, साँझ घुसको हिसाबकिताव मातहतका कर्मचारीसँग फाइल गनेर माग्ने गर्दछन् ।

डिल्लीबजारका नापी प्रमुख शिव लम्सालले सही नै नगरी दिनभर गफ चुटेर बस्ने, कुनै संवेदनशील केस आए दिनभर कार्यालयबाट भाग्ने, मातहतका कर्मचारीले सेवाग्राहीको आक्रोश ब्यहोनुपर्ने अवस्था छ । हाजिरकपीमा हस्ताक्षर गर्ने बाहेक उनले कुनै पनि कागजातमा दस्तखत नगर्ने गरेको डिल्लीबजार नापी कार्यालयकै एक कर्मचारीलेब बताए । उनले पनि दैनिक दररेट नै तोकेर बेलुका फाइल गनेर भ्रष्टाचार गर्ने गरेका छन् । मागेको दररेट नबुझाए कर्मचारीसँग रिसाउने उनको दर पनि भक्तपुरका दत्तकै जति रहेको छ ।

यसअघि ललितपुर र कलंकी नापी कार्यालयको प्रमुख भएका सुरेश जोशीले कुनै पनि फाइलमा पनि सही नगरी गोटा गनी घुस जम्मा गरी कराडौंको सम्पत्ति आर्जन गरेको आरोप छ । जग्गाको बिषयमा बिवाद हुँदा अख्तियारले कारबाही गर्ने भएपछि कार्यालय प्रमुखले फाइलमा सही नगर्ने प्रवृत्ति बढेको जोशीकै पालादेखि हो । घुस खाने कार्यालय ताक्ने तर जिम्मेवारी नलिने प्रवृत्ति नापीमा बढी देखिएको छ ।

मनमैजु नापी कार्यालयका प्रमुख सुग्रिव यादव सबैभन्दा विवादित अधिकृत हुन् । उनीमाथि नवरलपरासी नापी कार्यालयको प्रमुख हुँदा कावासोतीस्थित राष्ट्रिय आवास कम्पनीको २० बिगाहा जग्गा कीर्ते गरी बिक्री गर्ने कार्य गरेको आरोप छ ।

राष्ट्रिय आवास कम्पनी योजना कार्यालय नलपरासी माकरका निमित्त योजना प्रमुख महेन्द्र थापासँग मिलेर उनले सरकारी जग्गा कीर्ते गरी संजय क्षेत्रीलाई बिक्री गरी १५ करोड भ्रष्टाचार गरेको आरोप छ । नवलपरासीमा उनले अरु सरकारी जग्गा पनि धेरै कीर्ते गरी ब्यक्तिका नाममा दर्ता गरेको भए पनि त्यस्ता विवादित कर्मचारीलाई महानिर्देशक प्रकाश जोशीले काठमाडौंको मनमैजु नापीको हाकिममा ल्याएका छन् । अख्तियारले कावासोतीको राष्ट्रिय आवासको जग्गामा सुग्रिव यादवमाथि पनि छानबिन गरिरहेको छ । नापीमा यादवलाई डनका रुपमा चिन्दछन् । नवलपरासीको नापी प्रमुख हुँदा पनि कुनै फाइलमा सही नगरी भ्रष्टाचार गर्ने यादव मनमैजुमा पनि त्यही हर्कतमा उत्रिएपछि त्यहाँ कर्मचारीबीचमै विवाद भएको छ ।

साँखु नापीका गोविन्द कुईकेल, टोखा नापीका सुवास कडरिया पनि कार्यालयमा फाइल गन्ती गरी भ्रष्टाचार गर्ने तर कहीँ पनि कलम भने नचोप्ने हाकिमका रुपमै चिनिन्छन् । साँखुका धेरै सरकारी जग्गा अतिक्रमणमा कुईकेल संलग्न रहेका भए पनि भोलि अख्तियारबाट छानबिन भए फस्ने भएकाले आफूले कहीँ पनि सही भने गरेका छैनन् ।

कार्यालय प्रमुख हुन साम दाम सबै प्रयोग गर्ने तर फाइल सदर गर्न हिच्किचाउने हाकिमतर्फ संकेत गर्दै डिल्लीबजार नापी कार्यालयमा कार्यरत कर्मचारीले प्रश्न गरे–‘जब कार्यालय प्रमुखले सही नगर्ने, जिम्मेवारी नलिने भएपछि प्रमुख नापी अधिकृत (उपसचिव) को दरबन्दी किन राख्नुप¥यो ?’

काठमाडौं उपत्यकाका नापी कार्यालयका प्रमुखहरुको गैरजिम्मेवारीबारे विभागका महानिर्देशक प्रकाश जोशीसँग प्रतिक्रियाका लागि पटक–पटक प्रयास गर्दा उनी सम्पर्कमा आउन चाहेनन् ।

प्रतिक्रिया दिनुहोस्