Logo
Logo

जिल्ला अधिवेशनमा बालकोटको हस्तक्षेप, इमान्दार कार्यकर्ता निराश



काठमाडौं । कम्युनिष्ट पार्टीमा आन्तरिक जनवादको अभ्यासलाई छोडेर ‘आदेशानुसार’ नेतृत्व निर्माणको अभ्यास गर्दा त्यसले कस्तो परिणाम दिन्छ भन्ने कुरा नेकपा (एमाले) कोे जिल्ला अधिवेशनहरुबाट फेरि एकपटक चित्रित हुँदैछ । एमाले अधिवेशनका जति जति परिणाम आइरहेका छन्, उति उति पार्टीबाट इतिहास, योग्यता र भूमिकाले खारिएका कार्यकर्ताहरु नेतृत्वबाट बाहिरिँदै छन् ।

यसअघि १० औँ महाधिवेशनबाट केन्द्रीय नेतृत्व चयनका क्रममा प्रदर्शित लज्जाजनक अभ्यासले पार्टीमात्रै आलोचित भएन, ओलीको दम्भ र अहंकारले केन्द्रीय तहका थुप्रै नेता त्यहाँबाट तितरबितर भएका छन् । नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्ने लहर शुरु भएको छ । त्यो लहर अहिले जिल्ला अधिवेशनबाट नेतृत्व चयनका लागि केन्द्रबाट दिइएका आदेशका कारण झन्झन् बढ्न थालेको एमालेस्रोतले जनाएको छ ।
जिल्ला नेतृत्व चयनका क्रममा कतिसम्म अत्याचार भएको छ भन्ने बुझ्नका लागि मकवानपुरको ११ औँ जिल्ला अधिवेशनको आखिरी दृश्य काफी छ । १० बुँदे सहमतिअनुसार जिल्ला कमिटी अध्यक्ष बनाइएका बद्री लम्साल अध्यक्षका उम्मेदवार थिए । तर, १० बुँदे सहमति पालना गरी जिल्ला पार्टी कार्यालय कब्जा गरी अध्यक्ष भएका एकलाल श्रेष्ठले जिल्ला अधिवेशनमा उम्मेदवारी घोषणा गरे ।

उनको उम्मेदवारी घोषणापछि आइतबार विहान ८ बजे मतदान शुरु गर्ने कार्यतालिका सार्वजनिक भयो । प्रतिनिधिहरु मतदान गर्नका लागि विहानै अधिवेशनस्थलमा जम्मा भए । तर, त्यहाँ मतदान भएन । ओलीकै शैलीमा जिल्ला इञ्चार्ज रामेश्वर रानाले ‘सर्वसम्मत नामावली’ भन्दै खल्तीबाट एउटा चिर्कटो निकालेर वाचन गरे । त्यसमा एकलाल श्रेष्ठलाई अध्यक्षमा ‘निर्वाचित’ भनिएको थियो । उनले पेश गरेको सूचीमा उम्मेदवारी नै नपरेका व्यक्तिहरु पनि पदाधिकारीमा ‘निर्वाचित’ भए । सदस्यहरु पनि त्यसरी नै घोषणा गरियो । उनको सूची पढिसकेर ताली पिट्ने भन्दा गाली गर्नेहरु धेरै थिए । तर, त्यही घोषणालाई आधिकारिक भन्दै जिल्ला अधिवेशनको सम्पूर्ण प्रक्रिया समाप्त भएको घोषणा गरियो ।
यस्तो अत्याचारका कारण बद्री लम्साल, विष्णुप्रसाद ढकालसहितका १० बुँदे पक्षधर नेतादेखि ओलीका कानुनी सल्लाहकार बाबुराम दाहालका भाइ मदन दाहालसम्म एमालेबाट दिक्दार भएका छन् । जिल्ला सदस्यमा उम्मेदवारी दिएकी पत्रकार रेश्मी कार्की आफ्नो फेसबुक वालमा लेख्छिन्, ‘कार्यकर्ता हुन् दास होइनन् । पहिला दासको पनि अधिकार हुन्थ्यो, तर राजनीतिक दासहरु अधिकारविहिन हुने रै’छन् । देखेको कुरा, सत्यको पक्षमा लेख्न नसक्ने दासहरूले म कार्यकर्ता हु भन्ने फूईं नलगाए हुन्छ ।’

काभ्रेमा ‘बालकोटको आदेश’ भन्दै अध्यक्षमा अशोक व्याँञ्जु र उपसचिवमा रिता ढकाल (धिरना) को नाम घोषणा गरियो । यी दुई बाहेकका पदमा मात्रै मनोनयन पत्र दर्ताका लागि मौका दिइयो । सोमबार मतदान शुरु हुनुअघि नै गोकुल बाँस्कोटाले वितरण गरेको चिटभन्दा बाहिर गएर मतदान गर्नेहरुलाई ‘हेरौँला’ भन्दै तर्साइएको थियो । अध्यक्ष बनाइएका व्याँञ्जु धुलिखेल नगरपालिकाका मेयर हुन् भने उपसचिव बनाइएकी ढकाल पूर्वमाओवादी हुन् । उनी गोकुल बास्कोटको गाउँ मण्डन देउपुरमा ०७४ को निर्वाचनमा मेयरकी उम्मेदवार थिइन् । पार्टी विभाजनपछि जिल्ला एमालेमा छाएको शून्यताका कारण जिल्ला कमिटी सदस्य बनाउने मान्छेहरु नपुगेर २० जना पूर्वमाओवादी र राप्रपाका मान्छेहरुलाई राखिएको छ ।

डडेल्धुरामा १० बुँदे पक्षधर मानिने अमरगढीका मेयर विश्वेश्वरप्रसाद ढकाललाई महाधिवेशनको हलभित्रै छिर्न दिइएन । किनभने, उनले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका थिए । हलबाट प्रकाश साउँदलाई अध्यक्ष निर्वाचित भएको घोषणा गरेपछिमात्रै मेयर ढकाल हलभित्र छिरेका थिए । कतिपय गाउँपालिकाबाट प्रतिनिधिको संख्या शून्य भएपछि जिल्ला कमिटीमा ती क्षेत्रबाट राख्नुपर्ने सदस्यहरु रिक्त राखिएको छ । खुलातर्फ ५ जना सदस्य निर्वाचित गराउनुपर्नेमा एकजनाले पनि उम्मेदवारी नदिएपछि खुला तर्फका ५ सदस्य पनि रिक्त छ ।

ओलीको गृह जिल्ला झापामा अध्यक्ष दिपक कार्कीसहित पदाधिकारीमात्रै घोषणा गरिएको छ । जिल्ला कमिटी सदस्यमा आकांक्षी धेरै भएपछि बालकोटबाट नाम टुंगो लागेपछि घोषणा गर्ने तयारी छ । जिल्ला अधिवेशनका क्रममा १० बुँदे पक्षधर प्रदेश सांसद गोपाल बुढाथोकीले उपाध्यक्षमा उम्मेदवारी दिएका थिए । तर, उनको उम्मेदवारी जबरजस्ती फिर्ता गराएर प्रेम गिरीलाई उपाध्यक्ष बनाइयो । बुढाथोकीको सट्टामा ‘१० बुँदे पक्षधर’ का नाममा चन्द्रा श्रेष्ठलाई उपसचिव बनाइयो । सचिवका थुप्रै आकांक्षी हुँदाहुँदै शिव ढुंगेलको नाम घोषणा गरियो । तर, सदस्यहरुको नाम छान्न नसकेर अधिवेशन नै स्थगित गरिएको छ । जिल्ला कमिटीमा १० बुँदे पक्षधर नेता रविन कोइरालानिकटका व्यक्तिहरुको दावी बढी भएपछि बालकोटलाई जिम्मा लगाइएको स्रोतले जनाएको छ ।

सुनसरीमा बालकोटले तोकेका अध्यक्ष रेवतीरमण भण्डारीलाई इटहरीका मेयर द्वारिकलाल चौधरी र इनरुवाका पूर्वमेयर खेमराज पोखरेलले स्वीकार गरेनन् । तीनैजनाको उम्मेवारी परेपछि त्यहाँ मंगलबार मतदान हुँदैछ । सचिव बनाउनका लागि बालकोटबाट गएको नाम पर्शुराम यादव थियो । तर, १० बुँदेका तर्फबाट सचिवमा शत्रुघन यादव र उपसचिवमा भीम आचार्यका पिए लोकेश निरौलाले पनि उम्मेदवारी दिएका छन् । आचार्य भने जिल्ला अधिवेशनस्थलमा देखा परेनन् ।

मोरङको अधिवेशनमा नेतृत्व चयनका क्रममा आकांक्षीहरुसँग कुनै सल्लाह नै नगरी अध्यक्ष मण्डलका तर्फबाट घोषणा गरिएको नाम पढेर सुनाएपछि अधिवेशन सकिएको भोलिपल्टैबाट पार्टी छाड्ने क्रम शुरु भएको छ । जिल्ला अध्यक्षमा ऋषिकेश पोखरेलको नाम घोषणा गरिएको थियो । पार्टीभित्र सम्पूर्ण रुपमा विधि, पद्धति सिध्याइएपछि बेलबारी नगरपालिका– २ की वडा सदस्य खिनामाया थापा सोमबार पार्टी परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गरेकी छन् ।

प्यूठानमा बालकोटको आदेश लिएर सूर्य थापाद्वारा खडा गरिएका अध्यक्षका उम्मेदवार नेहेरसिंह केसी पराजित भएका छन् । नवौँ अधिवेशनले विजयविराज विष्टलाई अध्यक्षमा निर्वाचित गराएको छ । १० बुँदे पक्षधर उनी वामदेव गौतमका पूर्वस्वकीय सचिव हुन् । उनलाई हराउनका लागि सूर्य थापा एक हप्तादेखि प्यूठानमा अड्डा जमाउन पुगेका थिए । तर, सूर्यका उम्मेदवार नेहेरसिंहले १ सय ७६ मत ल्याउँदा विजयविराजले ३ सय १४ मतका साथ चुनाव जितेका छन् ।

प्यूठानमा जस्तै सिन्धुलीमा पनि ओलीका उम्मेदवारलाई १० बुँदे पक्षधरले हराएका छन् । बालकोटबाट तोकिएका उम्मेदवार तथा प्रदेश सांसद प्रदीप कटुवाललाई १० बुँदे पक्षधर रामकुमार कार्कीले पराजित गराएका हुन् । उनको पक्षमा पूर्वमाओवादी र पूर्वराप्रपाहरु एकजुट भएका थिए ।
रामेछापमा आनन्द श्रेष्ठलाई अध्यक्ष बनाउनका निम्ति झंक कँडेल र प्रेम तामाङले दिएको उम्मेदवारी जबरजस्ती फिर्ता लिन लगाइयो । आनन्द श्रेष्ठ, घनश्याम भुषालका पूर्वस्वकीय सचिव हुन् । काठमाडौंमा अध्यक्षका दुई आकांक्षीलाई पन्छाउँदै दिपक निरौला अध्यक्ष भएका छन् । कृष्णगोपाल श्रेष्ठले बालकोटबाट प्राप्त सूची पढेर निरौलालाई अध्यक्ष बनाएका हुन् ।

अध्यक्षका बलिया प्रतिस्पर्धी रामवीर मानन्धरले जबरजस्ती सूची पढेर पास गराउन खोजिएकोमा प्रतिवाद गरे । तर, प्रतिनिधिहरुलाई तालि बजाउन लगाएर निरौलालाई अध्यक्ष बनाइयो । अर्का आकांक्षी निर्मल देउलाले आपत्ति जनाउन खोज्दा उनीमाथि दुव्र्यवहार भएको थियो । पूर्वअध्यक्ष निर्मल कुइँकेल यसचोटि पनि अध्यक्षका आकांक्षी थिए । तर, बालकोटले उनलाई अध्यक्ष बनाउने कुरा सुनिश्चित गर्न नचाहेपछि उनी जिल्ला अधिवेशनमै सहभागी भएनन् ।

यसरी जिल्ला अधिवेशनमा पनि बालकोटको हस्तक्षेप बढेपछि एमालेका इमान्दार कार्यकर्ताहरु निराश हुन थालेका छन् । स्थानीय निकायको निर्वाचनको मुखमा भएको जिल्ला अधिवेशनले स्थानीय निकाय, प्रदेश र संघको निर्वाचनमा मुख्य भूमिका खेल्छ । तर, जिल्ला अधिवेशनमा समेत बालकोटबाट हस्तक्षेप भएपछि जिल्लामा पनि ठूलै पहिरो जाने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्