काठमाडौं । २०८२ भदौ २४ गते देशभर जेन–जी आन्दोलनको राप थियो । काठमाडौंका गल्लीदेखि देशका प्रमुख शहरसम्म जनसागर सडकमा उत्रिएको थियो । तर, आन्दोलनको यही भीडभित्र छिरेका अराजक तत्त्वको निशानामा पर्यो– नेपाली खुद्रा व्यापारको पर्यायवाची बनेको ‘भाटभटेनी सुपरमार्केट’।
देख्दादेख्दै देशका विभिन्न सहरमा रहेका भाटभटेनीका स्टोरहरूबाट धुवाँको मुस्लो उठ्न थाल्यो । एउटा स्टोर खरानी हुँदै थियो, अर्को स्टोरमा तोडफोड भइरहेको थियो । कतै सामान लुटिँदै थियो भने कतै भवनका संरचना नै भत्काइँदै थिए । वर्षौंको अथक मिहिनेत र लगानीबाट खडा गरिएको व्यावसायिक साम्राज्य केही घण्टामै खरानीमा परिणत भयो । त्यो दृश्य कुनै भयानक चलचित्रको दर्दनाक दृश्यभन्दा कम थिएन ।
आन्दोलनका क्रममा भाटभटेनीका १२ वटा स्टोर पूर्ण रूपमा क्षतिग्रस्त बने । टंगाल, महाराजगन्ज, बौद्ध, कोटेश्वर, पोखरा, चितवन, हेटौंडा, बिर्तामोड, दमक, विराटनगर र धरानका भौतिक संरचना ध्वस्त भए भने बालुवाटारस्थित मुख्य गोदाम घर पनि पूर्ण रुपमा जल्यो । अन्य केही स्टोरहरूमा समेत तोडफोड र लुटपाट भयो । वर्षौंदेखिको मिहिनेतबाट जोडिएको ११ अर्ब रुपैयाँभन्दा बढीको भौतिक सम्पत्ति क्षणभरमै स्वाहा भयो ।
मुलुकको अर्थतन्त्रमा ठूलो राजस्व योगदान गर्ने र करिब १० हजार मानिसलाई प्रत्यक्ष रोजगारी दिइरहेको प्रतिष्ठानका लागि यो क्षति केवल आर्थिक आँकडामा मात्र सीमित थिएन । आगजनी र तोडफोडमा परेका शाखाहरूमा मात्रै ५ हजारभन्दा बढी कर्मचारी कार्यरत थिए । आगो भवनका संरचनामा मात्र लागेको थिएन, त्यसको प्रत्यक्ष प्रहार हजारौँ परिवारको चुलो र दैनिक आम्दानीमा परेको थियो ।
भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङका आँखैअगाडि जीवनभरको कमाइ र पसिना जलिरहेको थियो । आँखामा आँसु र मनमा असीम पीडा बोकेर उनी खरानी बनेका स्टोरहरू हेरिरहेका थिए । त्यसबेला धेरैले अड्कल काटेका थिए– ‘अब भाटभटेनी सकियो, मीनबहादुर फेरि उठ्न सक्दैनन् ।’ धेरैको मनमा प्रश्न थियो– अब मीनबहादुर के गर्लान् ? हार मान्लान् कि खरानी पन्छाएर फेरि उठ्लान् ?
तर इतिहास साक्षी छ, लडेर मैदान छाड्नेहरू इतिहासका पानामा बिलाउँछन्, तर लडेर पुनः उठ्नेहरूले नयाँ इतिहास रच्छन् । मीनबहादुरले पनि निराशा र पीडामा रुमल्लिएर बस्ने छुट रोजेनन् । उनले चुनौतीलाई स्वीकार गर्दै फेरि शून्यबाट उठ्ने अदम्य साहस देखाए ।
सामान्यतया यस्ता ठूला दुर्घटनापछि पुनर्निर्माण सुरु गर्न लामो समय लाग्छ । क्षतिको विस्तृत मूल्यांकन गर्नुपर्छ, बीमा र प्राविधिक संरचना जाँच्नुपर्छ, नयाँ डिजाइन र बजेटको खाका बनाउनुपर्छ र त्यसपछि मात्र निर्माण कार्य अघि बढ्छ । तर भाटभटेनीले भने खरानी सेलाउनसम्म पनि पर्खिएन । तातो फलाम र इँटा पन्छाउँदै एक साताभित्रै पुनर्निर्माणको जग हालियो । कम्पनीले चौबीसै घण्टा कामलाई निरन्तरता दियो । एउटा स्टोरको सरसफाइ र निर्माण सकिनासाथ अर्को स्टोरतिर टोली परिचालन गरियो ।
यो लडाइँ निकै चुनौतीपूर्ण थियो । एकातिर जलेका भवनहरूलाई पुनः सुरक्षित रूपमा ठड्याउनु थियो, अर्कोतिर नयाँ उपकरण ल्याउने, बिक्री कक्ष सजाउने र गोदाम व्यवस्थापन गर्ने काम उत्तिकै जटिल थियो । ग्राहकका लागि आवश्यक सम्पूर्ण पूर्वाधार छोटो समयमा तयार पारेर व्यवसायलाई लयमा फर्काउनु परेको थियो । त्यसैले भाटभटेनीको यो पुनर्निर्माण केवल सिमेन्ट, फलाम र इँटाको काम मात्र थिएन, यो त एक अभूतपूर्व दौड थियो ।
यस संकटको घडीमा कम्पनीको सबैभन्दा प्रशंसनीय कदम भनेको कर्मचारीप्रतिको उत्तरदायित्व रह्यो । ठूलो आर्थिक धक्का लाग्दा पनि कम्पनीले आफ्ना कर्मचारीलाई बीच बाटोमा छाडेन । १० हजारभन्दा बढी कर्मचारीको रोजगारी सुरक्षित राखियो । क्षतिपछि पनि कसैलाई कामबाट निकालिएन, बरु परिस्थिति सहज नहुँदासम्म कर्मचारीलाई भरोसा दिइयो । यति मात्र होइन, ठूलो आर्थिक संकटका बाबजुद दसैं बोनससमेत कटौती नगरी उपलब्ध गराइयो ।
कुनै पनि व्यावसायिक संरचना धन र समय खर्चिएर फेरि बनाउन सकिन्छ । तर एकपटक हजारौँ कर्मचारी बेरोजगार भए भने त्यसको सामाजिक र आर्थिक असर घर–परिवार हुँदै सिङ्गो बजारसम्म पुग्छ । भाटभटेनीका लागि पहिलो लडाइँ ध्वस्त भवन ठड्याउनेसँग थियो भने दोस्रो र अझ महत्त्वपूर्ण लडाइँ हजारौँको रोजगारी जोगाउनेसँग थियो, जसमा कम्पनी पूर्ण रूपमा सफल भयो ।
पुनर्निर्माणको गति कत्तिको तीव्र र योजनाबद्ध थियो भन्ने बुझ्न कोटेश्वर स्टोरलाई हेरे पुग्छ । पूर्ण रूपमा जलेर नष्ट भएको कोटेश्वरस्थित स्टोरलाई मात्र पाँच महिनाको छोटो अवधिमा पुनः सञ्चालनमा ल्याइयो । कोटेश्वरपछि पुनर्निर्माणको यात्राले अझ गति लियो । बालुवाटारस्थित मुख्य गोदाम घरलाई द्रुत गतिमा सञ्चालनमा ल्याइयो, जुन भाटभटेनीको सप्लाई चेनको मुख्य मेरुदण्ड थियो । मुख्य गोदाम सञ्चालनमा आएसँगै अन्य शाखाहरूमा सामान पुर्याउन सहज भयो ।
त्यसपछि त एकपछि अर्को गर्दै स्टोरहरू खुल्ने क्रम सुरु भयो । महाराजगन्ज, चितवन, पोखरा, बौद्ध, विराटनगर, बिर्तामोड र धरानका स्टोरहरू पालैपालो नयाँ रूपमा ग्राहकका लागि खुला गरिए । यसरी विनाशकारी घटनाको एक वर्ष पुग्दा नपुग्दै १२ मध्ये १० वटा पूर्ण रूपमा क्षतिग्रस्त स्टोरहरू पुनः पूर्ण क्षमतामा सञ्चालनमा आइसकेका छन् । यसै क्रममा, असोज ५ गते भाटभटेनीको मुटु मानिने टंगालस्थित मुख्य शाखा पनि औपचारिक रूपमा पुनः सञ्चालनमा आयो ।
खरानी भएको एक वर्षपछि पुनर्जन्म पाएको टंगाल स्टोरको दृश्य साच्चै हेर्नलायक थियो । त्यहाँ सर्वसाधारण ग्राहकको ठूलो घुँइचो त थियो नै, मुलुकका उच्चपदस्थ व्यक्तित्व, प्रतिष्ठित उद्योगी र बैङ्किङ क्षेत्रका दिग्गजहरूको बाक्लो उपस्थिति थियो । स्ट्यान्डर्ड चार्टर्ड बैङ्कका सीईओ गोरख शमेश राणा, वरिष्ठ चिकित्सक डा. भोला रिजाल, प्रतिष्ठित उद्योगी मोती दुगडलगायतका हस्तीहरू मीनबहादुर गुरुङलाई बधाई र हौसला दिन टंगाल पुगेका थिए । भाटभटेनी पुनः सञ्चालनमा आउँदा अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङको मुहारमा खुसी र सन्तुष्टि छचल्किएको देखिन्थ्यो । विगतका केही महिना शारीरिक रूपमा अस्वस्थ रहेका गुरुङ यत्रो ठूलो विपत्तिमा पनि उत्तिकै संयमित र सकारात्मक सुनिन्थे ।
पुनः सञ्चालनमा आएको टंगाल स्टोर पहिलेभन्दा अझ फराकिलो, आधुनिक र स्तरीय बनेको छ । केवल पुरानो संरचना जस्ताको तस्तै फर्काउने प्रयास मात्र गरिएको छैन, बरु ग्राहकलाई नयाँ अनुभव दिने गरी आधुनिक सुविधाहरू थपिएका छन् ।
टंगाल स्टोरमा चर्चित सामाजिक सञ्जाल ब्रान्ड ‘रुटिन अफ नेपाल बन्द’ले आफ्नो आधिकारिक स्टोर सञ्चालनमा ल्याएको छ, जहाँबाट आइफोन बिक्री वितरण भइरहेको छ । ग्राहकको सुविधाका लागि चाँडै नै किस्ताबन्दीमा आइफोन उपलब्ध गराउने तयारी छ । यसका साथै, विश्वप्रसिद्ध चिनियाँ बहुराष्ट्रिय प्रविधि कम्पनी साओमीको आधिकारिक स्टोर पनि यहाँ थपिएको छ, जसले उच्च गुणस्तरका स्मार्टफोन तथा आधुनिक घरेलु इलेक्ट्रोनिक्स सामानहरू बिक्री गरिरहेको छ ।
ग्राहकको मनोरञ्जन र खानपानलाई ध्यानमा राख्दै चौथो तलामा बालबालिकाका लागि आधुनिक ‘किड्स जोन’ निर्माण गरिएको छ । पहिले पेपे पिज्जा मात्र सञ्चालनमा रहेकोमा अहिले केएफसी, कोरियन फुड रेस्टुरेन्टसहित बहुराष्ट्रिय र स्थानीय फुड कोर्टहरू सञ्चालनमा आएका छन् ।
टंगाल भाटभटेनीका लागि एउटा सामान्य शाखा मात्र होइन, यो त समग्र भाटभटेनी साम्राज्यको उद्गमस्थल हो । यहीँबाट गुरुङले आफ्नो व्यावसायिक यात्राको जग बसालेका थिए । त्यसैले गत वर्षको आगजनीपछि टंगालको पुनरागमन कम्पनीका लागि व्यावसायिक मात्र नभई गहिरो भावनात्मक र प्रतीकात्मक विजय पनि थियो । अब बाँकी रहेका दमक र हेटौंडाका दुई स्टोरहरू पनि पुनर्निर्माणको अन्तिम चरणमा पुगेका छन् । कम्पनीका अनुसार यी दुवै स्टोरहरू क्रमशः आगामी मंसिर र पुसभित्र पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।
भाटभटेनीको यो एक वर्षको कथा केवल खुद्रा व्यापारका भवनहरू पुनः ठड्याउनुमा मात्र सीमित छैन । दृश्यमा बाहिर स्टोरहरू पालैपालो सञ्चालनमा आएको देखिए पनि, नेपथ्यमा मीनबहादुर गुरुङले आफ्नो व्यावसायिक साम्राज्यलाई अझ फराकिलो, विविधतापूर्ण र आक्रामक बनाउँदै लगेका छन् । आगजनीबाट भएको अर्बौँको क्षति व्यवस्थापन गरिरहेकै कठिन समयमा गुरुङ र उनको समूहले जलविद्युत्, सेयर बजार, रियल इस्टेट, सौर्य ऊर्जा, कृषि, हस्पिटालिटी र स्वास्थ्य क्षेत्रमा अर्बौँ रुपैयाँको नयाँ लगानी विस्तार गरेको छ ।
एक वर्षअघि भदौ २४ को विनाशपछि चौतर्फी एउटै प्रश्न थियो– ‘के भाटभटेनी फेरि उठ्न सक्ला?’ आज समयले त्यसको स्पष्ट उत्तर दिइसकेको छ । विनाशको खरानी पन्छाएर १२ मध्ये १० स्टोरहरू नयाँ शानका साथ सञ्चालनमा आइसकेका छन् भने बाँकी दुई वटा पनि चाँडै खुल्दैछन् ।
तर, भाटभटेनीको यो पुनरुत्थानले समग्र नेपाली अर्थतन्त्र र निजी क्षेत्रका सामु केही गम्भीर प्रश्नहरू पनि छाडेको छ । यस्ता सोच्नै नसकिने ठूला संकट र सामाजिक अराजकताका बेला निजी क्षेत्रले आफ्नो जोखिम व्यवस्थापन कसरी गर्ने ? भविष्यमा आउन सक्ने सम्भावित संकटबाट व्यवसाय, कार्यरत हजारौँ कर्मचारी र आपूर्ति प्रणालीलाई कसरी सुरक्षित राख्ने ?
यी प्रश्नहरूको उत्तर भाटभटेनीले मात्र होइन, मुलुकको समग्र निजी क्षेत्र र नीति निर्माताहरूले खोज्नुपर्ने देखिन्छ । किनकि संकट आउँदा भौतिक भवन जोगाउनु मात्र पर्याप्त हुँदैन; व्यवसायको निरन्तरता, रोजगारीको सुरक्षा, बजारको आपूर्ति शृङ्खला, ग्राहकको विश्वास र वित्तीय स्थायित्वलाई एकसाथ जोगाउनु असल व्यवस्थापनको असली परीक्षा हो । भाटभटेनीले पछिल्लो एक वर्षमा यिनै सबै पक्षलाई एकैपटक कुशलतापूर्वक सम्हालेर देखाएको छ । भाटभटेनीले दिएको सबैभन्दा ठूलो सन्देश यही हो– भाटभटेनी आगजनीमा जलेर सकिएन, बरु आफ्नै खरानी टकटकाउँदै अझ बलियो भएर फेरि उठ्यो । अब भाटभटेनीको अगाडिको मुख्य चुनौती भनेको केवल उठ्नु मात्र होइन, यसरी अप्ठ्यारो परिस्थितिबाट ब्युँतिएको विशाल व्यवसायलाई अझ बढी दिगो, सुरक्षित र भरपर्दो बनाएर लैजानु हो ।
आजको अङ्कमा हामीले विनाशकारी आगजनीपछि खरानीबाट पुनः ब्युँझिएको भाटभटेनीको अभूतपूर्व पुनरुत्थान, मीनबहादुर गुरुङको संकट व्यवस्थापन रणनीति र यसले समग्र नेपाली निजी क्षेत्रलाई दिएको सन्देशबारे विशेष विस्तृत चर्चा ग¥यौँ । हस् त, आजका लागि ‘अर्थ दृष्टि’ यति नै । अर्को मङ्गलबार फेरि नयाँ विषय र यस्तै गहन विश्लेषणका साथ उपस्थित हुनेछौँ । अर्थतन्त्रका विविध पाटा र बहसका लागि ‘अर्थ दृष्टि’ हेर्दै गर्नुहोला । नमस्कार !













