Logo
Logo

प्रहरीमा कसैलाई फुली, कसैलाई पासो



काठमाडौं । पैसा कमाउन र बुझाउन नसक्नेहरु नेपाल प्रहरीमा टिक्नै नसक्ने अवस्था सिर्जना भएको छ । गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयका पछिल्लो निर्णयले त्यही संकेत गरेको छ ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीका ब्याचीहरु यतिबेला एसएसपीबाटै धमाधम अवकाश पाइरहेका छन् । अर्काेतर्फ जुनियर टोलीका डिआइजीलाई एआइजी बनाउन दरबन्दी थप्ने चलखेल भइरहेको छ ।

जागिरकै फ्रष्टेशनले दुई साताअघि एसएसपी सुशील कुमार यादबले कार्यालयको क्वार्टरभित्रै आत्महत्या गरे । उनकै सहकर्मी पूजा सिंहलाई भने प्राविधिकतर्फको पद प्रशासनमा सारेर बढुवा गरिएको छ । चलखेलकै आधारमा यसरी प्राविधिक पद प्रशासनतर्फ ल्याएर भ्रष्टाचारमा मुछिएकी अधिकृतलाई बढुवा गरिए पछि प्रहरीमा निराशा छाएको छ । जबकि, त्यही ब्याचका अन्य इमान्दार अधिकृतले भने अवकाश पाइसकेका छन् । चलखेल गर्न नसक्दा सो ब्याचका हरिराज वाग्ले, नरबहादुर केसी, बिक्रमबहादुर चन्द, सुदपिराज भण्डारीले अवकाश पाएका छन् । ३० वर्षपनि जागिर खान नपाई उनीहरुले अवकाश पाएका हुन् । गत वर्ष मात्र एसएसपी दिलिप चौधरीले बिदाईको बेला आफुलाई अन्यायपूर्वक अवकाश दिइएको भन्दै आँशु झारेका थिए ।

अहिले सिनियर ब्याचका अधिकृत एसएसपीमै हुने र जुनियरहरु एआइजी हुने अवस्था बनेको छ । त्यसका लागि एआइजीका तीन दरबन्दी थप्न लागिएको छ । जसमा धीरजप्रताप सिंह, उत्तमराम सुवेदी, रबिन्द्र धानकु, बसन्त लामा, अरुण बिसी, बसन्त पन्त लगायत डिआइजीबीच प्रतिस्पर्धा छ । संगठनका लागि एआइजी पद आवश्यक नभएपनि व्यक्तिका लागि अहिले दरबन्दी थप हुन लागेको हो । यसमा ठूलो चलखेल रहेको बताइन्छ ।

यसअघि विश्वराज पोखरेल र सहकुलबहादुर थापालाई एआइजी बढुवा गर्दा पनि व्यक्तिकै लागि दरबन्दी थपिएको थियो । पोखरेल र थापालाई ओली सरकारले दरबन्दी थपेर बढुवा गरेको थियो । कांग्रेस सरकारले पनि आर्थिक चलखेलकै आधारमा एआइजीको दरबन्दी थपी बढुवा गर्न लागेको छ । यसो गर्दा सबैजना आगामी बैशाखामा आइजिपीको दाबेदार हुने भएकाले दरबन्दी नै थपेर बढुवा गर्न लागिएको स्रोत बताउँछ । त्यसपछि डिआइजी बढुवामा झन् महाभारत हुने निश्चित छ ।

प्रहरी सरुवामा पनि अवस्था त्यस्तै छ । आइतबार भएको एसपी सरुवामा बदनामहरुले जिल्ला इन्चार्ज पाएका छन् । नेताहरुकै खल्तीका एसपीहरुलाई मात्र जिल्लामा पठाइएको छ । डिएसपी र इन्सपेक्टर सरुवामा पनि व्यापाक चलखेल भइरहेको स्रोत बताउँछ । बालुवाटार र गृहमन्त्रालयबाटै डिल गरेर प्रहरीमा सरुवा र बढुवाका निर्णय हुन थालेका छन् । पैसा हुनेले सहजै फुली किन्न सक्ने र नहुनले पासो रोज्ने अवस्था प्रहरीमा आएको चर्चा प्रहरी मुख्यालयमा छ ।

प्रतिक्रिया दिनुहोस्