Logo
Logo

लिपुलेकमा भारतीय पक्षले सडक निर्माण गरेकोप्रति एमालेको आपत्ति


567
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लिपुलेकमा भारतीय पक्षले सडक निर्माण गरिरहेको विषयप्रति आपत्ति जनाएको छ ।

एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले एक विज्ञप्ति जारी गर्दै लिपुलेक, लिम्पियाधुरामा सडक लगायतका संरचना निर्माणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।

नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाभिमानमाथि आँच पुर्‍याउने यस्ता गतिविधि तत्काल बन्द हुनुपर्ने पनि भट्टराईद्वारा जारी वक्तव्यमा भनिएको छ।

‘सडकलगायत संरचना निर्माण रोकिनुपर्छ, वार्ताको माध्यमबाट यस विषयलाई अविलम्ब टुङ्ग्याइनुपर्छ र वार्ताबाट समाधान नखोजिँदासम्म राज्यस्तरबाट कुनै पनि संरचना बनाइनुहुन्न भन्ने नेकपा एमालेको अविचलित मान्यता छ,’ भट्टराईद्वारा जारी वक्तव्यमा भनिएको छ ।

कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र नेपालका अभिन्न भूभागका रुपमा रहेका र गत वर्ष नै राजनीतिकप्रशासनिक नक्सा एवं संविधान संशोधनमार्फत् नेपालले यस विषयमा आफ्नो कानुनी एवं राजनीतिक अडान स्पष्ट पारिसकेको तथ्य सर्वविदितै रहेको वक्तव्यमा उल्लेख छ ।

राष्ट्रियतासँग सम्बन्धित यस्तो गम्भीर विषयमा वर्तमान सरकारले सन्देहास्पद मौनता साधेको भन्दै एमालेले सरकारको मौनाताले अनेकौं प्रश्न जन्माएको बताएको छ ।

‘हाम्रो पार्टी यस विषयमा भारतसंग अविलम्ब गम्भीर संवाद गर्न, सबैखाले बलमिच्याई रोपन लगाउन र नेपाली भूभागमा नेपालको व्यवहारिक स्वामित्व स्थापनाका लागि सार्थक पहल गर्न सरकारसंग माग गर्दछ,’ वक्तव्यमा भनिएको छ ।

भारतीय पक्षले लिपुलेकमा सडक विस्तार गरेको प्रति विभिन्न राजनीतिक दलले विरोध गर्दै आएपनि सरकार भने यस विषयमा मौन छ ।

प्रतिक्रिया दिनुहोस्