Logo
Logo

कोरोनाका कारण राजनीतिक दलका गतिविधि ठप्प



काठमाडौं । काठमाडौं उपत्यकासँगै देशैभरी कोरोना संक्रमितको संख्या बढदै गएपछि राजनीतिक दलको गतिविधि ठप्प भएको छ । सरकारले विद्यालय बन्द गर्नुका साथै सभा, सम्मेलन सहित २५ जना भन्दा बढी व्यक्ति एक ठाउँमा भेला हुनमा रोक लगाएको छ ।

पूर्व निर्धारित कार्यक्रम राजनीतिक दलले स्थगित गरेका छन् । पार्टीका शीर्ष नेताहरु नै कोरोना संक्रमित हुन थालेपछि बैठक, सम्मेलन, भेला लगायतका कार्यक्रम स्थगित भएको हो ।

पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गएपछि पार्टीको पूर्व निर्धारित कार्यक्रम स्थगित गर्नुपरेको राजनीतिक दलहरुले जनाएका छन् । माओवादी केन्द्रका नेता गणेश साहले कोरोना संक्रमितको संख्या बढ्दै गएकाले पार्टीको केन्द्रीय कमिटी बैठक स्थगित गर्नुपरेको बताए ।

माओवादीले २५ पुसमा केन्द्रीय कमिटीको बैठक बोलाएको थियो । तर माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता नारायणकाजी श्रेष्ठसहित शीर्ष नेताहरु नै कोरोना संक्रमित भएपछि बैठक स्थगित गर्नुपर्ने अवस्था आएको साहले बताए ।

बैठकबाट पदाधिकारी, स्थायी कमिटी गठन, पोलिट्व्यूरो, नेताहरुको जिम्मेवारी बाँडफाँड लगायतका एजेण्डामा छलफल हुने कार्यक्रम थियो । तर माओवादीले जिल्ला स्तरको समेत कार्यक्रम स्थगित गरेको छ । पार्टीको आठौं महाधिवेशनमा देशैभरीबाट नेताहरु सहभागि थिए । जिल्ला–जिल्लाका नेताहरु समेत संक्रमित हुन थालेको खबर आइरहेका छन् ।

कांग्रेसले समेत पार्टीको बैठक, भेला, छलफल लगायतका कार्यक्रम अहिले रोकेको छ । महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका नेताहरुको जिम्मेवारी बाँडफाँड लगायतका काम गर्नुपर्ने भए पनि कोरोनाका कारण बैठक बस्न सक्ने अवस्था नभएको कांग्रेस सहमहामन्त्री फरमुल्लाह मन्सुरले बताए ।

यसैबीच मंगलबार नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई कोरोना संक्रमण भएको छ ।

एकीकृत समाजवादीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि गरिएको परीक्षणपछि अध्यक्ष नेपाललाई कोरोना संक्रमण लागेको पुष्टि भएको छ ।

‘परीक्षण गर्दा मंगलबार कोरोना पुष्टि भयो’, खतिवडाले भने, ‘अहिले उहाँको अवस्था सामान्य छ घरमै आइसोलेसनमा बस्नुभएको छ ।’

प्रवक्ता खतिवडाले पूर्व निर्धारित पार्टीको सबै कार्यक्रम स्थगित गरिएको बताए । केही समय पछि पुनः पार्टीको कार्यक्रम सञ्चालन गरिने उनले बताए ।

यस्तै प्रमुख प्रतिपक्षी नेकपा एमालेले समेत पूर्व निर्धारित प्रदेश अधिवेशन केही समयका लागि स्थगित गरेको छ । यधपी जिल्ला अधिवेशन जारी नै रहेको एमालेले जनाएको छ ।

एमाले प्रचार बिभागका उपप्रमुख विष्णु रिजालका अनुरा पछिल्लो समय पुनः कोरोनाभाइरस संक्रमणको जोखिम बढ्दै गएपछि पार्टीको प्रदेश अधिवेशन सरेको बताए । यसअघि ८ माघमा तोकिएको अधिवेशन अब २८ र २९ माघमा हुने उनले बताए ।

एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार यससम्बन्धी निर्देशन समेत प्रदेशमा गइसकेको बताए । त्यस्तै अधिवेशन हुन बाँकी जिल्ला अधिवेशनहरु २२ माघ सम्ममा सम्पन्न गर्न निर्देशन दिइएको उनले बताए । नेपालमा एक सातायता दैनिक कोरोना संक्रमणको दर बढ्दै गएको छ ।

यस्तै जनता समाजवादी पार्टी नेपाल (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सहितका दलको बैठक, छलफल, भेला लगायतका कार्यक्रम रोकिएको छ । जसपा कार्यकारिणी सदस्य मनिष सुमनले पार्टीको सबै कार्यक्रम अहिले स्थगित गरिएको बताए । लोसपा नेता संजय यादवले पार्टीको कार्यक्रम केही समयका लागि स्थागित गरिएको बताए ।

यधपी तराई मधेसमा जनमत पार्टीको जारी किसान आन्दोलन रोकिएको छैन् । एकपछि अर्को कार्यक्रम घोषणा गर्दै अध्यक्ष डा. सिके राउतले सडक आन्दोलनलाई बढाउँदै लगेका छन् । दैनिक रुपमा अन्दोलनका कार्यक्रम जारी नै रहेको जनमत पार्टीका नेता वीपी साहले बताए ।

प्रतिक्रिया दिनुहोस्