Logo
Logo

अल्लोका सामग्री किन्न महोत्सव कुर्छन् उपभोक्ता



रत्ननगर । चितवन महोत्सव अवलोकन गर्न आउनुभएका चितवनको गीतानगरका रामनाथ वाग्ले अल्लोबाट उत्पादित सामग्री बिक्रीको कक्षमा भेटिनुभयो । टोपीका सौखिन उहाँले दुईवटा खरिद गर्नुभयो ।

अल्लोको टोपी किन्नकै लागि महोत्सव आएको वाग्ले बताउनुहुन्छ । अल्लोबाट बनेका टोपी खरिद गर्न पाइन्छ भनेर जानकारी पाएपछि उहाँ महोत्सवस्थलमा आउनुभएको हो ।

यसअघि पनि वाग्लेले महोत्सवकै बेला अल्लोका दुईवटा टोपी खरिद गर्नुभएको हो । अल्लोका सामग्री मेला महोत्सवमा मात्र किन्न पाइने उहाँको अनुभव छ । “अरुबेला बजारमा खोज्दा पनि भेटिँदैन”, वाग्लेले भन्नुभयो ।

यस्तै भरतपुर–४ का देवीप्रसाद शर्मा पनि अल्लोको टोपी किन्न महोत्सवस्थल आउनुभयो । वाग्ले र शर्मा जस्तै अरु धेरैले अल्लोबाट निर्मित सामान महोत्सवमै आएर किन्न पाएको बताए । सङ्खुवासभाको खाँदबारीबाट चितवन महोत्सवमा कक्ष राख्नुभएका नरेन्द्रकुमार राई अल्लोका सामग्री बेच्न भ्याइनभ्याई भएको बताउनुहुन्छ । उहाँले टोपी, हाते झोला, पर्स तथा अल्लोका कपडा बिक्री महोत्सव अवलोकनकर्ताको रोजाइमा परेको बताउनुभयो । “मेला महोत्सवकै अवसरमा अल्लोका सामान बढी बिक्री हुन्छन्”, राईले भन्नुभयो, “अरु बेला बिक्री न्यून हुन्छ ।” उहाँ चितवन महोत्सवमा पहिलोपटक आउनुभएको हो ।

नवलपुरको गैँडाकोटबाट आउनुभएकी सुस्मिता कँडेलले स्वदेशी सामान किन्न पाइन्छ कि भनेर महोत्सवमा आएको बताउनुभयो । “बजारमा भारतीय र चिनीयाँ कपडा मात्र पाइने, स्वदेशी उत्पादन किन्न महोत्सव नै कुर्नुपर्छ”, उहाँले भन्नुभयो, “अरु बेला पाउनै मुश्किल हुन्छ ।”

चितवन महोत्सवमा अल्लोबाट बनेका सामग्रीका दुईवटा मात्र कक्ष छन् । दाङबाट आउनुभएकी शर्मिला पुनले पनि राईले जस्तै अल्लोबाट बनेका सामग्रीको कक्ष राख्नुभएको छ । उहाँ यसरी बिक्री गर्न दाङबाट चितवन चौथोपटक आउनुभएको हो । उहाँको कक्षमा पनि अल्लोबाट बनेका कोट, झोला, हाते झोला, पर्स, ढाड दुख्दा कम्मरमा बाँध्ने बेल्टलगायत सामग्री राखिएका छन् ।

अघिल्ला महोत्सवमा सामान थोरै ल्याउँदा गुनासो रहने गरेकाले यसपटक धेरै ल्याएको पुनले बताउनुभयो । “अल्लोका सामग्री धेरै बिक्ने भनेकै मेला महोत्सवमा हो”, उहाँले भन्नुभयो, “नियमित बिक्रीको वातावरण अझै बन्न सकेको छैन ।” साना उद्यमीद्वारा उत्पादित वस्तुको प्रवद्र्धनका लागि सरकारले सहयोगी भूमिका खेल्नुपर्ने उहाँको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्