काठमाडौँ। आगामी दसैँ, तिहार, छठलगायतका चाडपर्वलाई लक्षित गरी सरकारले अग्रिम टिकट बुकिङलाई निरन्तरता दिने भएको छ। यातायात व्यवस्था विभागले सरोकारवालालाई पठाएको १५ बुँदे निर्णयमा उक्त कुरा उल्लेख छ। तर, अग्रिम टिकट बुकिङ कहिलेदेखि खुला गर्ने भन्ने विषयमा भने विभागले अझै स्पष्ट पारेको छैन।

विभागका अनुसार सार्वजनिक यातायात व्यवसायीले टिकट बिक्रीमा यथासम्भव अनलाइन बुकिङको व्यवस्था मिलाउनुपर्नेछ भने यात्रुको परिचय खुल्ने विवरणसहितको चलानी लिएर मात्र सवारी सञ्चालन गर्नुपर्नेछ।
त्यस्तै, यातायात व्यवसायी, कम्पनी तथा संस्थाले टिकट जारी गर्ने कर्मचारीका लागि अनिवार्य परिचयपत्रको व्यवस्था गर्नुपर्ने विभागले जनाएको छ। अनधिकृत काउन्टर, परिचयपत्र वा पोसाक नभएका व्यक्तिबाट टिकट बिक्री गर्ने कार्यलाई पूर्ण रूपमा नियन्त्रण गर्न पनि निर्देशन दिइएको छ।
उपत्यकाबाट बाहिरिने र उपत्यका भित्रिने यात्रुवाहक सवारीसाधनको प्रभावकारी अनुगमनका लागि यातायात व्यवस्था विभाग, नेपाल प्रहरी, ट्राफिक प्रहरी, नेपाल रेल्वे कम्पनीलगायत सम्बन्धित संस्थासँग आवश्यक समन्वय गर्ने व्यवस्था मिलाउन भनिएको छ।
सार्वजनिक सवारीमा यात्रा गर्दा यात्रुले अनिवार्य रूपमा टिकट लिएर मात्र यात्रा गर्नुपर्नेछ। मादक पदार्थ सेवन गरी यात्रा नगर्न तथा आधिकारिक काउन्टर र परिचयपत्रवाहक कर्मचारी वा व्यक्तिबाट मात्र टिकट लिन पनि यात्रुलाई आग्रह गरिएको छ।
यसैगरी, सवारी चालक तथा कर्मचारीले नेपाल सरकारले तोकेको मापदण्डअनुसार तोकिएकै स्थानमा यात्रुलाई खाना तथा खाजा खुवाउने व्यवस्था मिलाउनुपर्नेछ भने सो क्रममा भीडभाड हुन नदिने व्यवस्था गर्नुपर्नेछ।
सडक मर्मत र ट्राफिक व्यवस्थापनमा जोड
चाडपर्वका बेला यात्रुवाहक सवारीसाधनको बाक्लो आवागमन हुने मुख्य सडक तथा राजमार्गको निरन्तर निरीक्षण गरी आवश्यक मर्मत-सम्भार गर्न विभागले सम्बन्धित निकायलाई निर्देशन दिएको छ।
पहिरो नियन्त्रण, सडक जाम नहुने व्यवस्था तथा सडकको अवस्थाबारे आम उपभोक्ताले सहजै जानकारी पाउने गरी निरन्तर सूचना प्रवाह गर्न सडक विभागसँग अनुरोध गरिएको छ। सो अवधिमा आवश्यक पर्ने अतिरिक्त सवारीसाधनको व्यवस्था भने यातायात व्यवसायी आफैँले गर्नुपर्नेछ।
विभागले यात्रुवाहक सवारीको रुट परमिट खुला गर्ने, अग्रिम टिकट बुकिङ तथा ठूला सवारीसाधनको आवतजावतका सम्बन्धमा सरोकारवालासँग थप छलफल तथा परामर्श गरी यातायात सञ्चालनको मिति र समयावधि तोकेर सूचना जारी गर्ने व्यवस्था मिलाउन भनेको छ।
चालकको स्वास्थ्य परीक्षण अनिवार्य
उपत्यका भित्रिने र बाहिरिने प्रमुख नाकाहरूसहित देशभर मादक पदार्थ सेवन (मापसे) तथा लागुपदार्थ सेवन (लापसे) गरी सवारी चलाउने चालकको स्वास्थ्य परीक्षण गर्न निर्देशन दिइएको छ। कुनै चालकले मापसे वा लापसे गरेको पाइएमा सम्बन्धित व्यवसायीले तत्काल अर्को चालकको व्यवस्था गर्नुपर्नेछ।
साथै, लामो दूरीका यात्रुवाहक सवारीसाधन गन्तव्यतर्फ प्रस्थान गर्नुअघि सवारीको यान्त्रिक अवस्था अनिवार्य रूपमा परीक्षण गर्नुपर्नेछ।
लामो दूरीमा सेवा सञ्चालन गर्ने यात्रुवाहक सार्वजनिक सवारीमा कम्तीमा दुई जना चालक अनिवार्य राख्नुपर्ने र आलोपालो गरी सवारी चलाउने व्यवस्था मिलाउन पनि विभागले निर्देशन दिएको छ। यस्तो व्यवस्था कार्यान्वयन भए/नभएको सम्बन्धित निकायबाट कडा अनुगमन गरिनेछ।
विभागले १८ वर्ष उमेर पूरा नभएका बालबालिकालाई चालक वा अन्य सहयोगीका रूपमा काममा नलगाउनसमेत स्पष्ट निर्देशन दिएको छ।
चाडपर्व नजिकिँदै जाँदा यात्रुवाहक सवारीको चाप अत्यधिक बढेर सडक दुर्घटनाको जोखिमसमेत बढ्ने भएकाले त्यसलाई मध्यनजर गर्दै प्रभावकारी अनुगमन तथा निगरानीको व्यवस्था मिलाउन विभागले सम्बन्धित निकायहरूलाई निर्देशन दिएको छ।













