Logo
Logo

रोजगारीका लागि भारत गएकाहरू कोरोना लिएर फर्किँदै

दैनिक एक सय बढी संक्रमित



धनगढी । भारतमा कोरोना संक्रमणले तीव्ररुपमा लिएपछि रोजगारीका लागि भारतका विभिन्न शहरमा गएका नेपालीहरु घर फर्किने क्रम बढ्दै गएको छ । सुदूरपश्चिमका विभिन्न नाका हुँदै घर फर्किनेमा कोरोना देखिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशनालयको तथ्यांकअनुसार पछिल्लो केही दिनयता दैनिक दैनिक एक सय भन्दा बढीमा कोरोना संक्रमण पुुष्टि भइरहेको छ । संक्रमण पुष्टि हुनेमा भारतबाट घर फर्केकाहरु बढी छन् । प्रदेशमा मंगलबार १४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । ती सबै भारतबाटै फर्किएका हुन् ।

कञ्चनपुरको गौरिफन्टा, गड्डाचौकी, बैतडीको झुलाघाट र दार्चुलाको पुलघाट नाकामा १ हजार ५८२ जनामा गरिएको एन्टीजेन परीक्षण गर्दा १४८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

संक्रमितको व्यवस्थापनमा चुनौती

कोरोना संक्रमितको व्यवस्थापनका लागि भन्दै सरकारले कैलाली र कञ्चनपुरमा नेपाली सेनामार्फत निर्माण गरिरहेको होल्डिङ सेन्टरको काम अझै पूरा भएको छैन । होल्डिङ सेन्टरको काम सम्पन्न नहुँदा संक्रमितको व्यवस्थापनमा चुनौति थपिएको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका–३ र कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ मा निर्माणाधीन अवस्थामा रहेका एक÷एक हजार मानिस अटाउने क्षमताका होल्डिङ सेन्टरको काम अन्तिम चरणमा रहेको जनाइएपनि निर्माणमा ढिलाई हुँदा संक्रिमितहरु जेकजाँचबिनै घर पुग्ने गरेको स्वास्थ्यकर्मीहरु बताउँछन् ।

निर्माणको काम अन्तिम चरणमा भएपनि आवश्यक पर्ने अन्य सामग्रीको व्यवस्थापनमा थप समय लाग्ने सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ । होल्डिङ सेन्टर सेन्टर निर्माणकै चरणमा रहेका बेला संक्रमित थपिन थालेपछि व्यवस्थापनमा चुनौती देखिएको छ ।

सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले धनगढी उपमहानगरपालिकाको कनरीमा स्थापना गरिएको एक सय बेडको आइसोलेसन संक्रमितले भरिएको छ । अबका संक्रमितहरुलाई व्यवस्थापन गर्नै गाह्रो भएको उनले जानकारी दिए । उनले भने, ‘भएका आइसोलेशन भरिभराउ हुँदा संक्रमितहरुलाई स्वास्थ्य सुरक्षाको मापडण्ड पालना गर्न सुझाव दिँदै होमआइसोलेशनमा बस्न आग्रह गरिएको छ ।’

आइसोलेशन भरिएपछि थप संक्रमितलाई कसरी व्यवस्थापन गर्ने भन्ने चुनौतीका रुपमा देखिएको बताउँदै कार्कीले गेटा मेडिकल कलेज र प्रादेशिक आर्युवेदिक औषधालयको भवनमा व्यवस्थापन गर्ने गरी काम भइरहेको जानकारी दिए ।

भेरियन्टनै पत्ता लागेन

भारतमा ओमिक्रोन भेरियन्ट तीव्ररुपमा फैलिरहेका बेला त्यहाँबाट फर्किने नेपालीहरू कोरोना भाइरस बोकेर आइरहेका छन् । तर, यहाँ परीक्षणको व्यवस्था नहुँदा अहिले देखिएको संक्रमण कुन भेरियन्टको हो भनेर छुट्याउनै नसकिएको स्वास्थ्यकर्मीहरु बताउँछन । स्वास्थ्यकर्मीका अनुसार भेरियन्ट छुट्याउने ल्याब नहुँदा ओमिक्रोन हो वा अन्य कुनै ? छुट्याउने समस्या भएको छ ।

तर सामाजिक विकास मन्त्रालयले भने भारतबाट फर्किएर कोरोना संक्रमण देखिएका १६ जनाको नमूना परीक्षणका लागि काठमाडौं पठाइएकोमा उनीहरूमा ओमिक्रोन भेरिन्ट पुष्टि नभएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता कार्कीले पुनः थप ११६ जना संक्रमितको नमूना परीक्षणका लागि पठाइएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्