Logo
Logo
राष्ट्रियसभा निर्वाचन- लुम्बिनी

गठबन्धनसामु लुम्बिनीको सबैभन्दा ठूलो दल एमाले निरीह



काठमाडौं । आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि लुम्बिनी प्रदेशमा ३ सिटका लागि सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच ६ जनाले प्रतिस्पर्धा गर्दैछन् । मतभारको आधारमा सत्तारुढ गठबन्धनको जीत सुनिश्चित देखिन्छ ।

निर्वाचनमा सत्तारुढ पाँच दलीय गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले लुम्बिनी प्रदेशमा साझा उम्मेदवारी दर्ता गराएका छन् ।

प्रमुख प्रतिपक्षी एमालेले छुटै उम्मेदवारी दर्ता गराएको छ । लुम्बिनी प्रदेशमा प्रतिपक्षी एमाले र स्वतन्त्र सांसद मिल्दासमेत सत्तारुढ गठबन्धनका उम्मेदवारलाई पराजित गर्न सक्ने देखिँदैन । एमाले र एक स्वतन्त्र सांसद बाहेक अरु सबै दल पाँच दलीय गठबन्धनमा छन् ।

लुम्बिनी प्रदेशमा महिला, दलित र अन्य समूह गरी ३ सिटका लागि ६ जना प्रतिस्पर्धामा छन् । तीन वटै समूहबाट एक–एक जना निर्वाचित हुनेछन् । तीन वटै समूहमा दुई–दुई जनाको उम्मेदवारी परेको छ ।

महिलातर्फ एक सिटका लागि सत्तारुढ गठबन्धनबाट एकीकृत समाजवादीका राजेन्द्रलक्ष्मी गैरे र प्रमुख प्रतिपक्षी एमालेका भारती उपाध्याय खनालले उम्मेदवारी दर्ता गराएका छन् ।

दलिततर्फ एक सिटका लागि सत्तारुढ गठबन्धनबाट राष्ट्रिय जनमोर्चाका तुलप्रसाद विश्वकर्मा र एमालेका कृष्ण सुनारले प्रतिस्पर्धा गर्नेछन् ।

यस्तै अन्य समूह तर्फको एक सिटका लागि सत्तारुढ गठबन्धनबाट कांग्रेसका युवराज शर्मा र एमालेका रामदयाल गुप्ताबीच प्रतिस्पर्धा हुनेछ ।

कसको मतभार कति ?
लुम्बिनी प्रदेशमा ८२ जना प्रदेशसभा सदस्य छन् । यस्तै स्थानीय तहका प्रमुख, उपप्रमुख २ सय १४ जना छन् । यिनीहरुले नै राष्ट्रियसभा सदस्यका उम्मेदवारलाई मतदान गर्ने गर्नेछन् ।

प्रदेशसभा सदस्यको मतभार ४८ र स्थायीतहका प्रमुख, उपप्रमुखको मतभार १८ हो । लुम्बिनी प्रदेशमा जम्मा मतभार ७ हजार ७ सय ८८ रहेको छ । प्रदेशसभाका सदस्यहरुको ३९ सय ३६ र स्थानीय तहका प्रमुख, उपप्रमुखहरुको मतभार ३८ सय ५२ हुन्छ ।

सत्तारुढ गठबन्धनमा रहेको कांग्रेसको लुम्बिनी प्रदेशमा सांसद संख्या १९ र स्थायी तहको प्रमुख, उपप्रमुखको संख्या ६६ रहेको छ । जसको मतभार २१ सय हुन्छ ।

माओवादी केन्द्रको सांसद संख्या १९ र स्थानीय तहको प्रमुख, उपप्रमुखको संख्या ४२ रहेको छ । जसको मतभार १६ सय ६८ हुन्छ ।

एकीकृत समाजवादीको लुम्बिनी प्रदेशमा एक जना सांसद छन् भने प्रमुख, उपप्रमुखको संख्या शुन्य रहेको छ । एकीकृत समाजवादीको मतभार ४८ मात्रै छ ।

जसपाको सांसद संख्या ४ रहेको छ । लुम्बिनी प्रदेशमा स्थानीय तहको प्रमुख र उपप्रमुखको संख्या १४ रहेको छ । जसपाको मतभार ४ सय ४४ हुन्छ ।

सत्तारुढ गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चाको लुम्बिनी प्रदेशमा सांसद संख्या १ र प्रमुख, उपप्रमुखको संख्या ५ रहेको छ । जनमोर्चाको मतभार १ सय ३८ हुन्छ ।

प्रमुख प्रतिपक्षी दल एमालेको लुम्बिनी प्रदेशमा सांसदको संख्या ३७ र स्थानीय तह प्रमुख, उपप्रमुखको संख्या ८७ रहेको छ । यसआधारमा एमालेको मतभार ३३ सय ४२ हुन्छ ।

यस्तै यस प्रदेशमा एक स्वतन्त्र सांसद छन् । जसको मतभार ४८ हुन्छ ।

लुम्बिनी प्रदेशमा सत्तारुढ गठबन्धनको मतभार ४३ सय ९८ हुन्छ । सत्तारुढ दलबाहेकका एमाले र स्वतन्त्र सांसदबीच गठबन्धन गर्दा उनीहरुको मतभार ३३ सय ९० मात्रै हुन्छ । लुम्बिनी प्रदेशमा अरु दलभन्दा बलियो रहेको एमालेले सत्तारुढ गठबन्धनसँग एक्लै प्रतिपस्पर्धा गर्न सक्ने अवस्था छैन् ।

स्वतन्त्र सांसद समेतले एमालेलाई समर्थन गरे पनि सत्तारुढ गठबन्धनका उम्मेदवार सहजै बिजयी हुने छन् । अरु प्रदेश जस्तै लुम्बिनी प्रदेशमा समेत सत्तारुढ गठबन्धनका उम्मेदवारहरु बिजयी हुने निश्चित रहेको मतभारले देखाउँछ ।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएर उम्मेदवार मत माग्न व्यस्त छन् । निर्वाचन आयोगका अनुसार सातै प्रदेशमा विभिन्न समूहको १९ पदका लागि आयोगको कार्यालयमा ४३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनमा रहेका पाँच दल एक भएपछि प्रमुख प्रतिपक्षी दल एमालेलाई चुनौती थपिएको छ । पाँच दलीय गठबन्धनसँग एमालेका उम्मेदवार सबै प्रदेशमा पराजित हुने मतभारले देखाउँछ ।

प्रतिक्रिया दिनुहोस्