Logo

जहाँ लाखौं बेरोजगार त्यहाँ काम गर्ने नै पाइदैन !



कुनै बेला लाग्थ्यो-एसएलसी पास गर्नेहरू ठूला मान्छे हुन् । फलानाका छोराछोरीले एसएलसी पास गरे रे ! गाउँमा चर्चा हुन्थ्यो । छरछिमेक भन्थे- अब राम्रो जागिर पाउने भए ! आमाबुबालाई सुख दिने भए ! त्यो बेला एसएलसी पास गरेर राम्रो जागिर खाने सपना धेरैको हुन्थ्यो ।

समयसँगै शिक्षाले फड्को मार्याे । प्रायः सबै शिक्षित हुन थाले । अहिले घर–घरमा मास्टर डिग्री पास गर्नेछन् । तर, राम्रो जागिर पाउँछु भन्ने विश्वास कसैलाई छैन । पाइँदैन पनि । मास्टर डिग्री गरेका छोराछोरीले सुख दिन्छन् भन्ने आमाबाबुलाई आशा र विश्वास दुबै छैन !

मास्टर डिग्रीको सर्टिफिकेट छ, रोजगारी छैन । सर्टिफिकेट देखाएरमात्र जागिर पाइँदैन । सर्टिफिकेटले न योग्य बनाउँछ, न कुनै सिप नै सिकाउँछ । सर्टिफिकेटलाई सिरानीमा बनायो, सुत्यो । त्यसैले त धेरैको मुखबाट सुनिन्छ- ‘पढेर पनि केही काम छैन, एसएलसी वा प्लस-टु सकेर विदेश गएको भए अहिलेसम्म त टन्नै पैसा कमाइन्थ्यो, पढेर समय मात्रै बर्बाद ! आखिर अन्त्यमा विदेश जानैपर्ने रहेछ ! बेलैमा बुद्धी आएन !’

मुलुकमा शिक्षित बेरोजगार बढ्दै छन् । मास्टर डिग्री र स्नातक पास गर्ने धेरै बेरोजगार छन् । देशमै जागिर खाने, घरपरिवारसँगै खुशी भएर बस्ने धेरैको सपना अधुरै छ । बाध्यताले विदेशिरहेका छन् । त्यसैले ‘सके देशमै गर्छु, नसके विदेश जान्छु’ भन्ने जमात बढ्दो छ । युवाको साझा व्याथा !

औपचारिक शिक्षाको पत्रमाणपत्र सिरानी लगाएर सुत्ने युवा हजारौं छन् । तर, स्वदेशी रोजगारदाताले दक्ष कर्मचारी पाउने अवस्था छैन । यसको मुख्य कारण सिपमुलक शिक्षाको कमी हो । यहाँका युवाले शिक्षा पाएका छन् । तर, दक्ष छैनन् ।

कोरोना महामारी अगाडि (नेपाल श्रम सर्वेक्षण–२०१९) अनुसार नेपालमा प्रत्येक वर्ष १६ लाखदेखि २० लाख युवाले रोजगारी खोज्थे । उनीहरूमध्ये पाँच प्रतिशले मात्रै देशमै रोजगारी पाउँथे । बाँकी कोही अवसरको खोजीमा विदेश पुग्थे । कोही डुकु लङ्ठ्याङ भएर हिँड्थे ।

कोरोना महामारीका कारण विश्वव्यापीरुपमा अर्थतन्त्रमा परेको प्रभावका कारण देशमा बेरोजगारको समस्यले झनै जरो गाड्दै गइरहेको छ । नेपालमा शिक्षित बेरोजगारको तथ्यांक डरलाग्दो छ । जति शिक्षित बन्यो, उति नै बेरोजगार ! रोजगारीको खोजीमा ठूलो जमात हुँदा योग्य र दक्ष जनशक्तिको अभाव पनि उत्तिकै छ ।

केन्द्रीय तथ्यांक ब्यूरोको तथ्याङ-२०२१ अनुसार देशमा कुल ८६ लाख व्यक्तिले योग्यताअनुसारको रोजगार पाएका छैनन् । सर्वेक्षणअनुसार स्नातक वा मास्टर डिग्री गर्ने करिब ७० हजार बेरोजगार छन् । त्यस्तै, मास्टर डिग्री पास गरेका ७४ हजार, स्तानक पास गरेका २ लाख बढी रोजगारीको खोजिमा विदेशिएका छन् ।

ठूलो जमात जागिरको खोजीमा भएपनि उद्योग र कम्पनीहरूमा दक्ष जनशक्तिको अभाव छ । दिनहुँ ‘कर्मचारी आवश्यकता’ भनेर सञ्चारमाध्यममा विज्ञापन छापिन्छ । युवा मास्टर डिग्रीको सर्टिफिकेट सिरानी लगाएर विज्ञापन पढ्दै/सुन्दै सुतिरहेका छन् ।

एकातिर शिक्षा र प्रविधिको विकास भइरहेको छ, अर्कोतिर बेरोजगारी समस्याले जरा गाडिरहेको छ । हामीसँग कार बनाउने शिक्षा छ । तर, तरकारी फलाउने अवसर छैन, सिप छैन । अर्थात, माटो सुहाउँदो व्यवहारिक शिक्षा छैन । त्यसैले शैक्षिक बेरोजगार बढ्दै छन् ।

हरेक रोजगारदाता कम्पनी नाफाकै लागि खुलेका हुन्छन् । उनीहरूको मुख्य उद्देश्य नाफा कमाउनु हो । नाफा कमाउन बजारमा प्रतिस्पर्धा जरुरी छ । अरुभन्दा फरक र अब्बल भएमात्र कम्पनी र उत्पादन सफल हुन्छ । त्यसका लागि सबैले दक्ष जनशक्ति खोज्ने नै भए ।

हामीसँग शिक्षित जनशक्ति छन् । तर, दक्ष छैनन् । रोजगारदाता कम्पनीले अनुभवी, मिहेनती र योग्य व्यक्ति खोजिरहेको हुन्छ । यहाँ पढेका तर कुनैपनि क्षेत्रमा दक्षता नभएका व्यक्ति बढी छन् । उनीहरू जागिरको खोजीमा त छन्, तर आवश्यक योग्यता र दक्षताको अभाव छ ।

शिक्षा प्राप्त गर्ने तर दक्ष नहुने समस्याको मुल कारण शिक्षा प्रााण्ली हो । यहाँ सिपमुलक शिक्षाको अभाव छ । नेपालका विश्वविद्यालयहरू शैक्षिक बेरोजगार उत्पादन गर्ने कारखाना बन्दै गएका छन् । शिक्षा केवल कागजी र काम चलाऊमात्र भइरहेको छ । विद्यार्थीले घोकेर भए पनि राम्रो अंक त ल्याउँला, तर न उसले रोजगारी पाउँछ, न त उसँग विषयगत पर्याप्त सीप नै हुन्छ । सुगा रटाइले दक्ष, व्यावहारीक र सिपमूलक बन्न सकिँदैन । त्यसैले, गुणस्तरीय शिक्षा पाउनेहरू पनि अवसरको खोजीमा विदेश पलायन हुनुपर्छ ।

औपचारिक शिक्षा व्यवहारिक छैन । त्यसैले डिग्री पास गरेर पनि ‘कामै पाइँदैन’ भन्दै टाउको कन्याउँदै बस्नुपरेको छ । शैक्षिक बेरोजगार बढ्नुमा शिक्षा र सरकारलाई मात्रै दोष दिएर उम्कन मिल्दैन । कतिको भनेजस्तो काम नहुने, काम भए तलब नहुने र पढेलेखेका मान्छेले जस्तोसुकै काम गर्नु हुँदैन भन्ने मानसिकता पनि हामीकहाँ छ । त्यसैले पनि शैक्षिक बेरोजगार बढ्दो छ ।

पढाइ सकेर एकैचोटी ठूलो जागिर खाने सोचले पनि शिक्षित बेरोजगार बढाइरहेको हुन्छ । त्यसमाथि तालिमको अभाव । तीन वर्ष ‘जब सोलुसन’ चलाउँदा शिक्षित व्यक्तिले एकदमै कम तालिम लिएको पाएको छु । कुनै विषयमा तालिम र अनुभव नभएका व्यक्तिलाई ‘एक-दुई हप्ताको तालिम लिनुपर्छ’ भन्दा नाक खुम्चाएर हिँड्ने पनि धेरै भेटिए । ‘१८, २० वर्ष पढेको छु, तालिम किन चाहिँयो ?’ भनेर प्रश्न गर्नेहरू उत्तिकै ।

तीन वर्षको ‘जब सोलुसन’को अनुभवले हामी योग्यता र सिपले होइन, सर्टिफिकेटले जागिर खोजिरहेका छौँ भन्ने मेरो निष्कर्ष छ । हामीले औपचारिक शिक्षाको प्रमाणपत्र पाएका छौं । तर, योग्य र सिपमुलक बन्न सकेनौ । व्यावहारिक र सिपमूलक शिक्षा पाएका छैनौं । मान्छेलाई उद्यमशील बनाउन सिकाउने व्यवहारिक र सिपमुलक शिक्षाले नै हो । त्यसैले अब शिक्षा सैद्धान्तिक नभएर व्यावहारिक र सिपमुलक हुनुपर्छ ।

शिक्षा प्रणालीलाई व्यवहारिक र सीपसहितको गरी खाने शिक्षाको रूपमा अघि बढाउनु पर्दछ । सरकारले देशभित्र कुन-कुन क्षेत्रमा कति जनशक्ति आवश्यक पर्छ सोहीअनुसार शैक्षिक जनशक्ति उत्पादन गर्ने योजना बनाउनु पर्दछ । पाठ्यक्रममा समावेश गरिएका विषयहरूलाई व्यवहारमा उतार्न सक्ने शिक्षाको विकास गर्नुपर्छ ।

स्वदेश तथा विदेशी बजारमा रोजगारीका अवसरहरू प्रवद्र्धन गर्न सक्ने गुणस्तर र सीपयुक्त शिक्षा प्रणालीको विकास गर्नुपर्छ । यस विषयमा राज्य गम्भीर बन्न जरुरी छ । होइन भने नयाँ पुस्ताले पनि खाडीमा गएर जवानी बेच्नुपर्ने हुन्छ । र, रेमिट्यान्स् बढ्यो भनेर गर्व गरिरहनु पर्नेछ । शैक्षिक बेरोजगारीको समस्याले भने कहिल्यैँ आराम पाउने छैन ।

प्रतिक्रिया दिनुहोस्