Logo
Logo

हिमालयन डिस्टिलरीको १०० प्रतिशत लाभांश, कर्मचारीलाई १८ महिनाको बोनस



काठमाडौं । नेपालमै सबैभन्दा बढि बिक्री हुने गोल्डेन ओक मदिरा उत्पादन गर्ने हिमालयन डिस्टिलरी लिमिटेडको २१ औं सधारणसभा सम्पन्न भएको छ । सो सभाले गत बर्षको नाफाबाट प्रस्तावित सत् प्रतिशत लाभांश पारित समेत गरेको छ।

वीरगञ्जमा भएको साधारणसभाले ७५ प्रतिशत बोनस सेयर र २५ प्रतिशत कर प्रयोजनसहित नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो। कम्पनीले गत वर्ष पनि शत् प्रतिशत लाभांश बाडेको थियो । सो कम्पनीका अनुसार तीन वर्षयता कम्पनीले शत् प्रतिशत लाभांश दिँदै आएको छ। गत साल पनि आधा नगद र आधा बोनस सेयर प्रदान गरेको जनाइएको छ ।

सो कम्पनीको हाल चुक्ता पुँजी ८६ करोड ७७ लाख रुपैयाँ छ। कम्पनीको जगेडा कोषमा एक अर्ब ३४ करोड रुपैयाँ छ। कम्पनीले गत आर्थिक वर्ष एक अर्ब चार करोड खुद नाफा गरेको थियो।

यही नाफाबाट चुक्ता पुँजीको शत् प्रतिशत लाभांश दिन लागेको बताइन्छ । बोनस सेयर पारितपछि कम्पनीको चुक्ता पुँजी ६५ करोड ७ लाख रुपैयाँले बढेको छ। सेयरधनीले नगद लाभांशबापत कुल २१ करोड ६९ लाख रुपैयाँ पाएका छन्।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत महेशप्रसाद पोखरेलका अनुसार ९० करोड बराबरको अधिकृत पूँजी १ अर्ब ६० करोड पुग्ने छ । उनका अनुसार कम्पनीका कर्मचारी तथा मजदुरले नाफाबाट १५ करोड ६४ लाख रुपैयाँ बोनस पाउने छन्।

यसैगरी, गत बर्ष मजदुरले ९ महिनाको बोनस पाएको थिए भने यस वर्ष करिब १८ महिनाभन्दा बढिको पारिश्रमिक बराबरको बोनस पाउने छन्।

प्रतिक्रिया दिनुहोस्