Logo
Logo
राष्ट्रियसभा निर्वाचन- बागमती प्रदेश

झण्डै आधा मत होल्ड गर्ने एमाले बागमतीमा पराजित हुँदै



काठमाडौं । आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचन अन्र्तगत बागमती प्रदेशमा २ सिटका लागि सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल एमालेका ६ जना उम्मेदवारले प्रतिस्पर्धा गर्दैछन् । मतभारको आधारमा बागमती प्रदेशमा पनि गठबन्धनकै जित सुनिश्चित देखिन्छ ।

निर्वाचनमा सत्तारुढ पाँच दलीय गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले बागमती प्रदेशमा साझा उम्मेदवारी दर्ता गराएका छन् । भने, प्रमुख प्रतिपक्षी दल एमाले र नेमकिपाले छुटाछुटै उम्मेदवारी दर्ता गराएका छन् ।

विपक्षी दलहरुले छुटाछुटै उम्मेदवारी दर्ता गर्दा सत्तारुढ दललाई जितका लागि थप सहज भएको छ । हुन त विपक्षी दल सबै एक ठाउँमा भए पनि गठबन्धनसामु त्यो एकता काम लाग्ने देखिन्न ।

बागमती प्रदेशमा महिलातर्फ १ र अन्य समूहतर्फ १ गरी दुई सिटका लागि ६ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । महिला तर्फको एक सिटका लागि सत्तारुढ गठबन्धनबाट एकीकृत समाजवादीका गोमादेवी तिमिल्सीना, एमालेका निरकुमारी कुँवर र नेमकिपाका गिता काफ्ले उम्मेदवार छन् ।

यस्तै अन्य समूहतर्फको एक सिटका लागि सत्तारुढ गठबन्धनबाट कांग्रेसका कृष्णप्रसाद पौडेल, एमालेबाट गोपाल शाक्य र नेमकिपाका कृष्णबहादुर तामाङले प्रतिस्पर्धा गर्नेछन् ।

कसको मतभार कति ?
संघीय राजधानीसमेत रहेको बागमती प्रदेशमा १ सय ९ जना प्रदेशसभा सदस्य रहेका छन् । यस्तै प्रमुख, उपप्रमुख २ सय ३७ जना रहेका छन् । प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख, उपप्रमुखले नै राष्ट्रियसभा सदस्यका उम्मेदवारलाई मतदान गर्नेछन् ।

प्रदेशसभा सदस्यको मतभार ४८ र स्थायीतहका प्रमुख, उपप्रमुखको मतभार १८ हो । बागमती प्रदेशमा जम्मा मतभार ९४ सय ९८ रहेको छ । प्रदेशसभाका सदस्यहरुको ५२ सय ३२ र स्थानीय तहका प्रमुख, उपप्रमुखहरुको मतभार ४२ सय ६६ छ ।

सत्तारुढ गठबन्धनमा रहेको कांग्रेसको बागमती प्रदेशमा सांसद संख्या २२ र स्थायी तहको प्रमुख, उपप्रमुखको संख्या ६७ रहेको छ । जसको मतभार २२ सय ६२ हुन्छ ।

माओवादी केन्द्रको सांसद संख्या २३ र स्थानीय तहको प्रमुख, उपप्रमुखको संख्या ३४ रहेको छ । जसको मतभार १७ सय १६ हुन्छ ।

एकीकृत समाजवादीको सांसद संख्या १३ र स्थानीय तहको प्रमुख, उपप्रमुखको संख्या १७ रहेको छ । जसको मतभार ९ सय ३० हुन्छ ।

जसपाको सांसद संख्या १ मात्रै रहेको छ । बागमती प्रदेशमा स्थानीय तहको प्रमुख र उपप्रमुखको संख्या शुन्य हो । त्यसैले जसपाको मतभार ४८ मात्र हुन्छ ।

प्रमुख प्रतिपक्षी दल एमालेको बागमती प्रदेशमा सांसद संख्या ४३ र स्थानीय तहका प्रमुख, उपप्रमुखको संख्या १ सय १५ रहेको छ । यसआधारमा एमालेको मतभार ४१ सय ३४ हुन्छ ।

यस्तै विवेकशील साझा पार्टीको सांसद संख्या ३ रहेको छ । प्रमुख, उपप्रमुखको संख्या शुन्य रहेको विवेकशीलको मतभार १ सय ४४ छ ।

नेमकिपाको सांसद संख्या २ र प्रमुख, उपप्रमुखको संख्या पनि २ रहेको छ । यस आधारमा नेमकिपाको मतभार १ सय ३२ हुन्छ । यस्तै राप्रपाको सांसद संख्या २ र प्रमुख, उपप्रमुखको संख्या पनि २ नै रहेको छ । यस आधारमा राप्रपाको पनि मतभार १ सय ३२ हुन्छ ।

बागमती प्रदेशमा सत्तारुढ गठबन्धनको मतभार ४९ सय ५६ हुन्छ । सत्तारुढ दलबाहेकका दलहरुले समेत गठबन्धन गर्दा उनीहरुको मतभार ४५ सय ४२ मात्रै हुन्छ । बागमतीमा बलियो रहेको सत्तारुढ गठबन्धनसँग एमालेले एक्लै प्रतिपस्पर्धा गर्न सक्ने अवस्था छैन् । तर प्रतिपक्षमा रहेको एमाले र नेमकिपाले समेत छुटाछुटै उम्मेदवारी दर्ता गराएकाले सत्तारुढ गठबन्धनलाई जितका झन सहज भएको देखिन्छ ।

आफ्नो दलबाट उम्मेदवारी दर्ता नगराएका तर केही मतभार रहेका विवेकशील र राप्रपाले कसलाई समर्थन गर्ने भन्ने निर्णय अझै गर्न सकेका छैनन् । उद्यपि, यिनीहरुले एमालेलाई समर्थन गर्ने निर्णय गर्दासमेत सत्तारुढ गठबन्धनलाई फरक पर्दैन ।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका उम्मेदवार मत माग्न व्यस्त छन् । निर्वाचन आयोगका अनुसार सातै प्रदेशमा विभिन्न समूह तर्फको १९ पदका लागि ४३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनमा रहेका पाँच दल एक भएपछि प्रमुख प्रतिपक्षी दल एमालेलाई चुनौती थपिएको छ ।

प्रतिक्रिया दिनुहोस्