Logo
Logo

कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रण सम्बन्धमा सर्वदलीय छलफल



विराटनगर । प्रदेश नं.१ सरकारले कोभिड–१९ संक्रमण, रोकथाम, नियन्त्रण र उपचार सम्बन्धमा प्रदेशस्तरीय सर्वदलीय सर्वपक्षीय छलफल गरेको छ । रोगविरुद्ध जनचेतना बढाउन र आवश्यक तयारी गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा छलफल भएको हो ।

छलफल कार्यक्रममा मुख्यमन्त्री राईले कोभिड–१९ संक्रमण, रोकथाम, नियन्त्रण र उपचारका लागि राजनीतिक दलको सहयोगको खाँचो देखिएकाले कार्यक्रम आयोजना गरिएको स्पष्ट पारे । उनले राजनीतिक दलहरूको दलीय संयन्त्र आधारभूत तहसम्म हुने भएकाले दलहरू र तिनका भ्रातृ संगठनको परिचालनले रोगविरुद्ध लड्न सकिने विश्वास व्यक्त गरे ।

‘सरकारको प्रयासमा दलहरूले साथ दिए कोभिडविरुद्ध तय गरिएका योजना सफल हुन सक्छन्’ मुख्यमन्त्री राईले भने । प्रदेश नं.१ मा खोपको पर्याप्त व्यवस्था भएपनि पछिल्लो समय खोप लगाउन आउने संख्यामा कमी आएकोमा राजनीतिक दलहरूलाई यसप्रति जागरण पैदा गरिदिन उनले आग्रह गरे ।

कोरोनाको तेस्रो लहर सकेसम्म निषेधाज्ञा वा लकडाउन गर्ने अवस्था नआउनेगरी सामाना गर्नुपर्नेमा मुख्यमन्त्री राईले जोड दिँदै पटकपटकको लकडाउनले जनताको दैनिकी, रोजीरोटीसहित मुलुकको अर्थतन्त्र चौपट हुनेतर्फ सरकार सम्वेदनशील रहेको बताए ।

छलफल कार्यक्रममा बोल्दै आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले कोभिड रोगविरुद्ध संघ, प्रदेश र स्थानीय तीनै तहको सरकार मिलेर लड्नुपर्ने धारणा व्यक्त गरे । उनले रोगविरुद्ध अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई बुस्टर डोजका रुपमा दिइने खोप दिन सरकार प्रतिवद्ध रहेको बताए । उनले रोगको संक्रमण फैलिएको अवस्थामा एकले अर्कामा जिम्मेवारी पन्छाएर भन्दा पनि मिलेर अघि बढ्न आग्रह गरे ।

सामाजिक विकास मन्त्री जयराम यादवले रोगको संक्रमण फैलिएको अवस्थामा राजनीतिक दलहरूलाई भीडभाड हुने खालको कार्यक्रम नगरी दिन अपिल गरे । उनले विगतमा आफूहरू सरकारमा नभएको अवस्थामा पनि कोभिडविरुद्धको अभियानमा आफ्नो राजनीतिक दलको तर्फबाट गरेको सहयोगको स्मरण गर्दै रोगको जोखिमको अवस्थामा कसैबाट पनि गैरराजनीतिक चरित्रको अपेक्षा नभएको बताए ।

छलफल कार्यक्रममा राजनीतिक दलका तर्फबाट नेपाली कांग्रेस प्रदेश नं. १ अध्यक्ष उद्धव थापा, सोही पार्टीका संसदीय दलका सचेतक सुयर्माराज राई, नेकपा माओवादी केन्द्र प्रदेश नं. १ अध्यक्ष हर्कबहादुर नेम्वाङ, नेकपा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य तथा प्रदेश नं.१ सचिव महेश रेग्मी, जनता समाजवादी पार्टी प्रदेश नं. १ अध्यक्ष प्रवीण चाम्लिङ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका महासचिव अशोक चाम्लिङ, राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश नं.१ सचिव वासुदेव भट्टराईलगायतले आ–आफ्नो दलका तर्फबाट धारणा राखेको थिए ।

प्रतिक्रिया दिनुहोस्