Logo
Logo

हुथीसँगको भिडन्तमा सरकारी सेनाका उच्च कमान्डरको मृत्यु


- दृष्टि न्युज/संवाददाता


यमन, १७ जेठ । यमनको सरकारी फौजका एक जना बरिष्ट कमान्डरको हुथी विद्रोहीसँगको झडपमा मृत्यु भएको छ । यमनी सेनाका एक अधिकारीका अनुसार दक्षिणी ढाली प्रान्तमा हुथी विद्रोही र सेनाबीच भएको भिडन्तका क्रममा उक्त घटना भएको हो ।
साउदी अग्रसरतामा हवाई आक्रमण तिब्र भएसँगै ढाली प्रान्तमा पहिल्ला केही दिनदेखि सशस्त्र संघर्ष चर्किएको छ । भिडन्तकै क्रममा सरकारी सेनाका ब्रिगेड कमान्डर सैफ सुक्राको मृत्यु भएको हो । स्रोतका अनुसार अरु दुई जना सैनिक अधिकृतको पनि ज्यान गएको छ ।
स्रोतका अनुसार ढालीमा भारी हातहतियार र तोपको समेत प्रयोग गरिएको छ । जनधनको निकै क्षति भएको अनुमान गरिएको यस भिडन्तका क्रममा हुथी विद्रोहीका लडाका पनि मारिएका र केही घाइते भएका छन् ।
स्थानीय अधिकारीहरुले हुथी विद्रोही विरुद्ध ढालीमा ठूलो सैन्य कारबाही थालिएको बताएका छन् । ढालीका चाखाब, सुलेम र अलराबीलाई सरकारी फौजले पुनः नियन्त्रणमा लिएको छ ।
गत बुधबार साउदी गठबन्धनले ढालीमा हवाई आक्रमण तिब्र बनाइएको जनाएको थियो । सरकारी नियन्त्रणमा रहेको ढाली प्रान्तमा केही सातादेखि दुबै पक्षबीच भिषण युद्ध चर्किएको छ ।
यमनमा सन् २०१४ देखि गृहयुद्ध जारी छ । हुथी विद्रोहीले अन्तर्राष्ट्रिय मान्यताप्राप्त राष्ट्रपति अब्द–राब्बु मन्सुर हाडीलाई निर्वा्सित गर्न बाध्य पारेका थिए, तर साउदी गठबन्धनको सहयोगमा राष्ट्रपति हाडी पुनः सत्तामा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्