Logo
Logo
राष्ट्रियसभा निर्वाचनः कर्णाली प्रदेश

कर्णालीमा गठबन्धनसँग एमाले दोब्बर मतअन्तरले पराजित हुँदै



काठमाडौं । माघ १२ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनमा कर्णाली प्रदेशमा ३ सिटका लागि सत्तारुढ गठबन्धन र विपक्षी दलका ६ जनाबीच प्रतिस्पर्धा हुँदैछ । तर, मतभारको आधारमा सत्तारुढ गठबन्धनको जीत सुनिश्चित देखिन्छ ।

निर्वाचनमा सत्तारुढ पाँच दलीय गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले कर्णाली प्रदेशमा संयुक्त उम्मेदवारी दर्ता गराएका छन् ।

प्रमुख प्रतिपक्षी एमालेले छुटै उम्मेदवारी दर्ता गराएको छ । कर्णाली प्रदेशमा प्रतिपक्षी एमाले र राप्रपाका एक सांसद मिल्दासमेत सत्तारुढ गठबन्धनका उम्मेदवारलाई पराजित गर्न नसक्ने देखिन्छ । एमाले र राप्रपाका एक सांसद बाहेक अरु सबै दल पाँच दलीय गठबन्धनमा छन् ।

कर्णाली प्रदेशमा महिला, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक र अन्य समूह गरी ३ सिटमा ६ जनाले प्रतिस्पर्धा गर्दैछन् । तीन वटै समूहबाट एक–एक जना निर्वाचित हुनेछन् । र, तीनै समूहमा दुई–दुई जनाको उम्मेदवारी परेको छ ।

महिलातर्फको एक सिटका लागि सत्तारुढ गठबन्धनबाट कांग्रेसका दुर्गा गुरुङ र पमुख प्रतिपक्षी एमालेका गंगा थापा (महत)ले उम्मेदवारी दर्ता गराएका छन् ।

अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यकतर्फको एक सिटका लागि सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रका नरबहादुर विष्ट र एमालेका पदमबहादुर माझीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

यस्तै अन्य समूहतर्फको एक सिटका लागि सत्तारुढ गठबन्धनबाट एकीकृत समाजवादीका उदयबहादुर बोहोरा र एमालेका चुडामणि शर्मा प्रतिस्पर्धामा रहेका छन् ।

कसको मतभार कति ?
कर्णाली प्रदेशमा ३५ जना प्रदेशसभा सदस्य छन् । यस्तै स्थानीय तहका प्रमुख, उपप्रमुख १ सय ५० जना छन् । प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखले राष्ट्रियसभा सदस्यका उम्मेदवारलाई मतदान गर्नेछन् ।

प्रदेशसभा सदस्यको मतभार ४८ र स्थायीतहका प्रमुख, उपप्रमुखको मतभार १८ हुन्छ । कर्णाली प्रदेशमा जम्मा मतभार ४३ सय ८० रहेको छ । प्रदेशसभाका सदस्यको १६ सय ८० र स्थानीय तहका प्रमुख, उपप्रमुखहरुको मतभार २७ सय हुन्छ ।

सत्तारुढ गठबन्धनमा रहेको माओवादी केन्द्रको सबैभन्दा बढी मतभार रहेको छ । माओवादी केन्द्रको सांसद संख्या १२ र स्थानीय तहको प्रमुख, उपप्रमुखको संख्या ५२ रहेको छ । जसको मतभार १५ सय १२ हुन्छ ।

कांग्रेसको कर्णालीमा प्रदेशमा सांसद संख्या ६ र स्थायी तहको प्रमुख, उपप्रमुखको संख्या ४० रहेको छ । जसको मतभार १ हजार ८ हुन्छ ।

एकीकृत समाजवादीको कर्णाली प्रदेशमा ३ जना सांसद छन् भने प्रमुख, उपप्रमुखको संख्या १३ रहेको छ । एकीकृत समाजवादीको मतभार ३ सय ७८ हुन्छ ।

सत्तारुढ गठबन्धनमा आवद्ध जसपाको सांसद र प्रमुख, उपप्रमुख कर्णाली प्रदेशमा शून्य छ ।

प्रमुख प्रतिपक्षी दल एमालेको कर्णाली प्रदेशमा सांसद संख्या १३ र स्थानीय तहको प्रमुख, उपप्रमुखको संख्या ४५ छ । यस आधारमा एमालेको मतभार १४ सय ३४ हुन्छ । त्यसैगरी, राप्रपाको सांसद संख्या १ रहेको छ । जसको मतभार ४८ हुन्छ ।

कर्णाली प्रदेशमा सत्तारुढ गठबन्धनको मतभार २८ सय ९८ हुन्छ । सत्तारुढ दलबाहेकका एमाले र राप्रपाका एक सांसदबीच गठबन्धन गर्दा उनीहरुको मतभार १४ सय ८२ मात्रै हुन्छ ।

राप्रपाको एक सांसदले एमालेलाई समर्थन गर्दा पनि एमाले दोब्बर मतअन्तरले पराजित हुने देखिन्छ । मतभारलाई नै आधार मान्ने हो भने कर्णालीमा सत्तारुढ गठबन्धन नै बिजयी हुने देखिन्छ ।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएर उम्मेदवार मत मागिरहेका छन् । निर्वाचन आयोगका अनुसार सातै प्रदेशमा विभिन्न समूहतर्फको १९ पदका लागि ४३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनमा रहेका पाँच दल एक भएपछि प्रमुख प्रतिपक्षी दल एमालेलाई चुनौती थपिएको छ । पाँच दलीय गठबन्धनसँग एमालेका उम्मेदवार सबै प्रदेशमा पराजीत हुने मतभारले देखाउँछ ।

प्रतिक्रिया दिनुहोस्