Logo
Logo

हक्की पत्रकारको, हक्की संस्मरण



काठमाडौं । मदनलाल पौडेल भन्नसाथ चिन्नेजान्नेले हक्की पत्रकार भनेर चिन्छन् । बुटवल शंकरनगरलाई कर्मथलो बनाएर पत्रकारको पहिचान बनाएका पौडेल नेपाल कम्युनिष्ट पार्टीको एक इमान्दार कार्यकर्ता पनि हुन् ।

वनारस बस्दा पुष्पलालसँग नजिक भएर काम गरेका पौडेलले ‘मृत्युले मुसारेको मानिस’ पुस्तक बजारमा ल्याएका छन् ।

उक्त पुस्तकमा लेखिएका हरेक शब्द र हरफ लेखकको चन्चले स्वभावसँग मिल्दोजुल्दो छ । उक्त पुस्तक लेख्न पौडेललाई श्रीमती दुर्गा पौडेलले बारम्बार झकझक्याउनु परेको थियो । २९६ पृष्ठको उक्त पुस्तकमा श्रीमती दुर्गा पौडेलको प्रसंग पनि धेरै ठाउँमा उल्लेख छ ।

भूमिगतकालमा दुर्गा पौडेलले गरेको संघर्षको कथादेखि पिसाब नलीको अप्रेसन गर्दाको क्षणलाई लेखकले किताबमा भावुकताका साथ उतारेका छन् । सायद, त्यही क्षणलाई सम्झेर होला, पुस्तकको नाम नै ‘मृत्युले मुसारेको मानिस’ भन्ने राखिएको छ ।

२०७८ वैशाख १२ गते बिहान ८ बजेदेखि पाटन अस्पतालका डाक्टर पुकार मास्केको टिमले गरेको अप्रेसन १२ घण्टा अर्थात् राति ८ बजेसम्म जारी रह्यो । सुरुमा ४÷५ घण्टाको अप्रेसन भनिएको थियो, तर १२ घण्टासम्म चल्नु र पुस्तकका लेखक पौडेल ३२ घण्टासम्म भेन्टिलेटरमा रहेर होस आउनुलाई लेखकले पुनर्जन्म ठानेका छन् ।

७० वर्ष कटेका पौडेल पिसाब नली र थैलीबाट पीडित हुन् । त्यो पीडाले उनलाई दिनुसम्म दुःख दिएको कुरालाई पुस्तकमा सरल भाषामा सम्प्रेषण गरिएको छ । पुस्तक एउटा विषयमा मात्र केन्द्रित छैन । यात्रा संस्मरणदेखि उद्योग, व्यवसाय, पत्रकारिता, राजनीति सबै विषय समेटिएको छ ।

लेखकले यसरी सबै विषयलाई समेटेर पुस्तक प्रकाशित गर्नुभन्दा पनि राजनीति, पत्रकारिता, यात्रा संस्मरणलाई छुट्टाछुट्टै विधामा रुपान्तरण गरेको भए अझ राम्रो हुने थियो ।

किनभने, लेखक आफैँले मधुमेह रोग के हो भन्ने कुरा लामो अनुभव गरेका छन् । उनले मधुमेहका बिरामीका लागि राम्रो सुझाव पनि दिएका छन् । नेपालमा मधुमेहबिनाको मानिस फेला पर्न गाह्रो भइरहेको अवस्थामा लामो समयदेखि मधुमेहको अनुभव पनि उनले पुस्तकमा समेटेका छन् ।

पुस्तकको अन्त्यमा राखिएको ‘पुनर्जन्म’ शब्दलाई पुस्तकको नाम नै ‘मेरो पुनर्जीवन’राखिएको भए अझ राम्रो हुने थियो ।

प्रतिक्रिया दिनुहोस्